काठमाडाैं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण थला परेको अर्थतन्त्रले लय समातेको छ । पछिल्लो समय विभिन्न उद्योग व्यवसाय नियमित रुपमा सञ्चालन हुन थालेपछि अर्थतन्त्रले लय समातेको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार पछिल्लाे समय देशकाे अर्थतन्त्रमा सुधार आएकाे हाे ।
यस्तै, केही दिन यता नेपाली सेयर बजारले पनि दैनिक नयाँ रेकर्ड बनाइरहेकाे छ । आज पनि सेयर बजारमा नयाँर रेकर्ड भएकाे छ । गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले मंगलबार पनि नयाँ रेकर्ड राख्न सफल भएको हो । आज मंगलबार नेप्से परिसूचक २२६७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने सोमबारको तुलनामा २८.३१ अंकले बढेको हो ।
यी हुन् आज दिनभरका सामग्री:
उद्योगहरुले कर्मचारीको तलब खर्च बढाए
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण कर्मचारीको तलब जयाला खर्च घटाएका उद्योगहरुले अहिले फेरि बढाएका छन् । लकडाउनको समयमा व्यापार व्यवसाय ठप्प भएपछि तलब–ज्याला घटाएका उद्योगहरुले अहिले ७ प्रतिशतको वृद्धि गरेका हुन् । यस्तै, गत असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार आएको सर्वेक्षणले देखाएको छ ।
५४ प्रतिशत क्षमतामा चले उद्योग
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण पूर्ण रुपमा सञ्चालन हुन नसकेका उद्योगहरु अहिले भने ५४ प्रतिशत क्षमतमा चल्न थालेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदनका अनुसार अहिले ५४ प्रतिशत उद्योगहरु पूर्ण सञ्चालनकमा आएका हुन् ।
नक्कली भ्याटबिल अनुसन्धानको पहिलो ‘लेयर’ सकियो
राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छल्ने पहिलो ‘लेयर’को अनुसन्धान करिब सकेको छ । विभागले २ वर्षअघिदेखि थालेको अनुसन्धानबाट १ सय ८५ वटा फर्म नक्कली भ्याट बिल विक्रीमा संलग्न भएको पाइएको छ । विभागले गरेको पछिल्लो अनुसन्धानबाट श्रमिक, मजदुर, आर्थिक अवस्था कमजोर भएका गरिब नेपालीको नाममा फर्म दर्ता गरेर कारोबारबिनै मूल्य अभिबृद्धि कर (भ्याट) बिल विक्री गरी राजस्व छलिएको पाइएको छ ।
कलेज पढ्दै गर्दा दिपेशको दिमागमा फुरेको ‘थुप्रै’ जुक्ति
पुस्तकको पारखी हुनुहुन्छ, तर पुस्तक पसलसम्म जान झन्झट लाग्छ ? यस्तो अवस्थामा बिना झन्झट तपाईंका रोजाईका पुस्तक हातैमा ल्याइदिने छ ‘थुप्रै’ ले । त्यो पनि एउटा फोनको घन्टी र एक क्लिकको भरमा । सन् २०१९ को फ्रेब्रुअरीबाट सञ्चालनमा इ–कमर्स वेवसाइट ‘थुप्रै’ ले पुस्तकसँगै इ–बुकको सेवा प्रदान गर्दै आएको छ । फोन, सामाजिक सञ्जाल र ‘थुप्रै’ को वेवसाइटका माध्यमबाट आफूलाई आवश्यक परेको किताब अर्डर गर्न सकिन्छ ।
साढे १२ लाख बढीले भरे चन्द्रागिरी हिल्सको आईपीओ
चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा साढे १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार (पुस २८ गते) सम्ममा १२ लाख ५१ हजार ९३८ जना आवेदकले सेयर भरेका हुन् ।
नेप्से परिसूचकले पार गर्यो २२६७ बिन्दु
पछिल्लो समय नेप्से परिसूचकले दैनिक रेकर्ड राखेको छ । गत बिहीबारदेखि दैनिक नयाँ नयाँ रेकर्ड राखेको परिसूचकले मंगलबार पनि नयाँ रेकर्ड राख्न सफल भएको हो । आज मंगलबार नेप्से परिसूचक २२६७ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो भने सोमबारको तुलनामा २८.३१ अंकले बढेको हो । यसअघिको बजारमा परिसूचक उक्त बिन्दुमा पुगेको थिएन ।
जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै स्थानीय तह
कैलालीका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया शुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान आयोगले सम्झौता गरेपछि यहाँका स्थानीय तहले भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको प्रक्रिया शुरु गरेका हुन् ।
फलामजन्य सामग्रीको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन
ग्रिल तथा स्टिल व्यवसायी महासंघले फलामजन्य सामग्रीमा भएको मूल्यवृद्धिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासंघका प्रथम अध्यक्ष ठूलो बाबु श्रेष्ठको संयोजकत्वमा महासंघले समिति गठन गरेर मूल्यवृद्धि सम्बन्धि अध्ययन गर्ने बताइएको हो । अत्याधिक रुपमा फलामजन्य सामग्रीका मूल्यवृद्धिको बारेमा जानकारी गराउनको लागि महासंघले मंगलबार राखेको अन्र्तक्रिया कार्यक्रमममा अध्ययन समिति गठन भएको बताइएको हो ।
नेपाल एसबिआई बैंकको ९.४७ प्रतिशत लाभांश पारित
नेपाल एसबिआई बैंकको प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश पाउने छन् ।
लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित
लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २८ गते सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११।५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो । यससँगै सेयरधनीले बैंकको चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र २।५ प्रतिशत नगद गरी ११।५ प्रतिशत लाभांश पाउने छन् ।