आज दिनभरः व्यवसायीलाई चन्दाको त्रास, सेयर बजारमा इन्फरमेसन ट्रयाप

<p>काठमाडौं । पछिल्ला केही दिन यता नेपालमा राजनीतिक विषयहरुले चर्चा पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव पनि घोषणा गरेसँगै त्यसले निकै चर्चा र प्राथमिकता पाइरहेकाे हाे । तर, बैशाखमा नै मध्यावधि चुनाव हुने हाेकि नहुने भन्ने विषय पनि पछिल्लाे समय चर्चा भइरहेको छ । मध्यावधि चुनाव हुने घोषणा भएसँगै [&hellip;]</p>

काठमाडौं । पछिल्ला केही दिन यता नेपालमा राजनीतिक विषयहरुले चर्चा पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव पनि घोषणा गरेसँगै त्यसले निकै चर्चा र प्राथमिकता पाइरहेकाे हाे । तर, बैशाखमा नै मध्यावधि चुनाव हुने हाेकि नहुने भन्ने विषय पनि पछिल्लाे समय चर्चा भइरहेको छ ।

मध्यावधि चुनाव हुने घोषणा भएसँगै व्यवसायीहरुलाई भने चन्दाको त्रास बढेको छ । राजनीतिक दलहरुले निर्वाचनको समयमा खर्च जुटाउनको लागि व्यवसायीहरुलाई चन्दा माग्ने प्रवृति हट्न सकेको छैन । व्यवसायीहरुले मध्यावधि निर्वाचन आउने भएसँगै चन्दा आतंक बढ्ने होकि भन्ने चिन्ता पनि लिन थालेको बताउन थालेका हुन् ।

यस्तै, पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो ।

यस्तै, बिहीबारको सेयर बजार २९ अंकले ओरालो लागेको छ ।

यी हुन् आज दिनभरका सामग्री:

निजी क्षेत्रलाई चन्दाको त्रास

सरकारले संघीय प्रतिनिधिसभा (संसद) विघटन गरी मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै निजी क्षेत्र खुसी र दुःख एकै पटक महसुस गर्ने अवस्थामा पुगेको छ । तोकिएको समयमा निर्वाचन भए आर्थिक रुपमा आफूहरु कमजोर भएको बेलामा राजनीतिक दललाई चन्दा दिने रकम जुटाउनु पर्ने सकसमा उद्योगी व्यवसायी छन् । तर, निर्धारित समयमै चुनाव भइदिए आर्थिक गतिविधि चलायमान हुने भएकोले आफूहरुको व्यापार व्यवसाय बढ्ने आश पनि निजी क्षेत्रले गरेको छ ।

सेयर बजारमा बढ्यो ‘इन्फरमेसन ट्रेडिङ

नेपाली सेयर बजारमा पनि ‘इन्फरमेसन ट्रेडिङ’ गरी ‘सेयर मार्केटिङ’ गर्ने क्रम बढेको छ । हुँदै नभएको गतिविधिलाई गलत रुपमा प्रचार प्रसार गरी सेयर खरिद विक्रीलाई प्रभावित पार्नु नै ‘इन्फरमेसन ट्रेडिङ’ गरी सेयर मार्केटिङ गर्नु हो । पछिल्ला दिनमा सेयर बजारमा इन्फरमेसन ट्रेडिङ बढेको छ । केही दिनअघि मात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्ज हुने हल्लाले यी दुबै कम्पनीको सेयर खरिद विक्री र मूल्य प्रभावित भयो । सिद्धार्थ बैंक र नबिल बैंकबीच मर्ज हुने हल्ला हिजो र अस्ति दिनभर नै नेपाली सेयर बजारमा चल्यो ।

एनसीसी बैंकको सेयर मूल्यमा उछाल

नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ । एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन मूल्य एक महिना पहिलाको तुलनामा ६३ प्रतिशतले बढी हो ।

एजीएमको चटारोले छोप्यो बैंकहरुलाई

पुस मसान्त नजिकिएसँगै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्थालाई वार्षिक साधारणसभाको चटारोले छोपेको छ । कम्पनी ऐनले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा गर्नैपर्ने बाध्यताका कारण कम्पनीहरुलाई साधारणसभा गर्न भ्याईनभ्याई भएको हो । अधिकांश वाणिज्य बैंकहरुले आगामी पुस २९ गते वार्षिक साधारणसभा(एजीएम) डाकेका छन् ।

 २९ अंकले घट्याे सेयर बजार 

बिहीबारको सेयर बजार २९ अंकले ओरालो लागेको छ । बुधबार सामान्य अंकले बढेको नेप्से परिसूचक बिहीबार २९.८३ अंकले घटेर २०३८.६३ अंकमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.४४ प्रतिशतले घटी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.७४ अंकले घटेर ३८६.७६ अंकमा झरेको छ ।

धरहराको २०औं तला पुननिर्माणको काम सम्पन्न

२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल ज्ञवालीले २०औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए ।

उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला १०० ले उकालो लागेको छ । प्रतितोला ९०० ले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार प्रतितोला ९४ हजारमा कारोवार भएको थियो ।

प्रचण्ड–माधव समूहले देशव्यापी आन्दोलन गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलन गर्ने भएकाे छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले देशव्यापी प्रदर्शन भने १४ गते हुने बताए । उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ । यसका लागि बाग्मती प्रदेशका भने सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ ।

Share News