सेयर बजारमा ‘सर्किट ब्रेक’, काराेबार बन्द, एकैदिन १२३ अंकले घट्याे नेप्से

<p>काठमाडौं । सेयर बजारमा &#8216;सर्किट ब्रेक&#8217; लागेको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात खुलेको पहिलो पहिलो दिनको बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । आइतबारको बजार ६ प्रतिशतले सर्किट ब्रेक लागेर दिनभरिको लागि कारोबार रोकिएको छ । बजार बन्द हुनुभन्दा करिब एक घण्टा अघि(अर्थात दिउँसाे २ बजेर १३ मिनेटमा) नै नेप्से परिसूचक ६ प्रतिशतले [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ । मौद्रिक नीतिको त्रैमासिक समिक्षा पश्चात खुलेको पहिलो पहिलो दिनको बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो ।

आइतबारको बजार ६ प्रतिशतले सर्किट ब्रेक लागेर दिनभरिको लागि कारोबार रोकिएको छ । बजार बन्द हुनुभन्दा करिब एक घण्टा अघि(अर्थात दिउँसाे २ बजेर १३ मिनेटमा) नै नेप्से परिसूचक ६ प्रतिशतले घटेर साे दिनकाे लागि काराेबार बन्द भएकाे हाे ।

आइतबार कारोबार शुरु भएदेखि नै निरन्तर ओरालो लागेको बजारमा परिसूचक १२३.३४ अंकले घटेर १९३२ अंकमा झरेको छ । जबकी बिहीबारको कारोबारमा परिसूचक २०५५ अंकमा रहेको थियो ।

यससँगै सेन्सेटिभ इन्डेक्स पनि ५.५१ प्रतिशत अर्थात २१.६२ अंकले घटेर ३७० बिन्दुमा झरेको छ ।

करिब ३ घण्टा कारोबार भएको आइतबारकाे बजारमा कूल ७ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिमा १९७ कम्पनीको एक करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ ।

जसमध्ये सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन एक अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

उच्च अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ५६९ अंकले घटेको छ ।

आइतबारको बजारमा १८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ । जसमध्ये सबैभन्दा बढी डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १२८७ रुपैयाँमा झरेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिकित्ता १५६२ रुपैयाँमा झरेको छ ।

उच्च अंकले घटेको बजारमा पनि ९ कम्पनीका लगानीकर्ताले सामान्य कमाएका छन् । सबैभन्दा बढी रिलायन्स फाइनान्सका लगानीकर्ताले २.३० प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँ कमाएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव आइतबारकाे  पुँजीबजारमा परेको छ । बैंकले बिहीबार मौद्रिक नीतिको समिक्षा मार्फत सेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हाे ।

यससँगै, लगानीकर्ता संघ संघठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाव समुह सम्बद्ध लगानीकर्ताले आइतबार राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमार्फत उनीहरुले मार्जिन कर्जा पुनरावलोकन गर्ने सम्बन्धी बुँदा तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।

साना लगानीकर्ताको सेयर बजारमा भएको नयाँ प्रवेशलाई निरन्तरता दिन, पुँजीबजारका लगानीकताहरुको लगानीको पनि सुरक्षा गर्न मौद्रिक नीति फेरबदल गर्न नहुने उनीहरुको भनाई छ ।

सम्बन्धित समाचारः

राष्ट्र बैंककाे ‘पुनरावलोकन’ शब्दमा झस्किए लगानीकर्ता, नेप्से २००० बिन्दु तल झर्दा सबै समूह राताम्मे
राष्ट्र बैंकलाई लगानीकर्ताका प्रश्नै प्रश्नः सेयर बजार बढेको देखि नसक्नु भएको हो ?

Share News