मध्यावधि चुनावको दबाबमा इरानसँग हतारमा सम्झौता नगर्ने ट्रम्पको अडान
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको राजनीतिक दबाबका कारण इरानसँगको सम्झौतामा हतार नगर्ने स्पष्ट पारेका छन् । ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले जारी वार्ताले अमेरिकाले चाहेको जस्तो परिणाम नदिए वासिङ्टन पुनः सैन्य कारबाहीका लागि तयार रहेको चेतावनी समेत दिए । राष्ट्रपति ट्रम्पले आगामी मध्यावधि चुनावको राजनीतिक दबाबका कारण आफ्नो वार्ता गर्ने शक्ति कमजोर हुने अपेक्षा इरानले राखेको बताए । जारी वार्ताको प्रगतिप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकी मागहरू पूरा नभए काम फत्ते गर्न (सैन्य विकल्प) पछि नहट्ने बताए । इरानको सैन्य क्षमता निकै कमजोर भइसकेको दाबी गरे । ट्रम्पले इरानको नौसेना र वायुसेना कमजोर भएको टिप्पणी गर्दै उनीहरू अहिले अत्यन्तै कठिन परिस्थितिमा रहेर वार्ता गरिरहेको उल्लेख गरे । यसैबीच, ह्वाइट हाउसले इरानी सञ्चारमाध्यममा आएका सम्झौताको मस्यौदा सम्बन्धी खबरहरूलाई पूर्णतया कपोलकल्पित भन्दै खारेज गरिदिएको छ । इरानी सरकारी टेलिभिजनले प्रश्तावित मस्यौदामा इरान नजिकका क्षेत्रबाट अमेरिकी सेना फिर्ता हुने र इरानी बन्दरगाहमा लगाइएको नौसेना नाकाबन्दी हटाउने विषय समावेश रहेको दाबी गरेको थियो । अमेरिकी प्रशासनले उक्त दाबीमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।
युद्धका कारण इन्धनको मूल्य बढे पछि उडानमा कटौती गर्दै एयर इन्डिया
काठमाडौं । एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढे पछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायी रूपमा धेरै घरेलु उडानहरु घटाउने बताएको छ । फेब्रुअरी –२८ मा तेहरानमा भएको अमेरिकी–इजरायली आक्रमण पछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरे पछि उड्डयन इन्धनको मूल्य बढेको छ । प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचौँ भन्दा बढी घरेलु उडानहरू प्रभावित हुन सक्ने सुझाव दिएको छ । उडान परिवर्तनबाट प्रभावित यात्रुहरूलाई वैकल्पिक उडानहरूमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ । एयर इन्डियाले अवस्था स्थिर भए पछि पुनः उडान नियमित गर्ने योजना सहित यो निर्णय गरेको जनाएको छ । यस अघि एयर इन्डियाले मे महिनाको सुरुमा नयाँ दिल्ली, मुम्बई र चेन्नई लगायत भारतीय सहरहरूबाट शिकागो, साङ्घाई, माले र सिङ्गापुर जाने उडानहरु जुन र अगस्टको बिचमा स्थगित गरेको घोषणा गरेको थियो । रासस
पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता
काठमाडौं । भारतको पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीविरुद्ध एफआईआर दर्ता भएएको छ । भारतीय जनता पार्टीकी नेता तथा अधिवक्ता रिंकी चटर्जी सिंहले सिलीगुडी साइबर क्राइम थानामा उजुरी दर्ता गराएकी हुन् । ममताले धार्मिक भावनामा चोट पुर्याएको भनिएको टिप्पणीलाई लिएर उजुरी दर्ता गरिएको हो । प्रहरीका एक अधिकारीले यसको पुष्टि गरे । उजुरीकर्ताले सिलीगुडीमा पत्रकारहरूसँग भनिन्, ‘प्रहरीले सुरुमा उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो । तर पटक-पटकको प्रयासपछि यसलाई दर्ता गरियो ।’ प्रहरीका अनुसार उजुरीकर्ताले ममताले सन् २०२५ मा एउटा धार्मिक कार्यक्रम र विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित र्‍यालीमा दुईवटा यस्ता टिप्पणीहरू गरेकी थिइन्, जसले हिन्दूहरूको भावनामा चोट पुर्याएको उल्लेख गरेकी छन् । प्रहरीका एक अधिकारीले बताए अनुसार उजुरीकर्ताले ममताले एउटा कार्यक्रममा ुएक विशेष समुदायले चाहेमा पाँच मिनेटमा अर्को समुदायलाई समाप्त पार्न सक्छु भनेर बोलेको दाबी गरेकी छन् । प्रहरीका अनुसार ममता बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा ३५१ (१), ३५२ र ३५३ (२) अन्तर्गत एफआईआर दर्ता गरिएको छ । धारा ३५१ (१) आपराधिक धम्कीको अपराध र धारा ३५२ शान्ति भंग गर्ने मनसायले जानाजानी अपमान गर्ने अपराधसँग सम्बन्धित छ ।