हुवावेले नयाँ ‘स्मार्टफोन चिप्स’ ल्याउने
काठमाडौं । अमेरिकी प्रतिबन्धका बावजुद चिनियाँ प्रविधि क्षेत्रको दिग्गज कम्पनी हुवावेले सोमबार उन्नत सेमिकन्डक्टर (चिप) विकास गर्न नयाँ उपाय प्रस्तुत गरेको छ । हुवावेले यसै शरद् ऋतुमा आफ्नो ‘किरिन’ स्मार्टफोन चिप्स उत्पादन गर्न लजिकफोल्डिङ नामक नयाँ इन्जिनियरिङ अवधारणा विकास गरेको बताएको हो । एनभीडीयालाई चीनमा आफ्ना उच्च–स्तरीय चिप्स बिक्री गर्न संघर्ष गर्नु परिरहेको बेला हुवावेले चिप्स ल्याउन लागेको हो । एनभीडीयाले चीनमा अमेरिकी निर्यात प्रतिबन्धको सामना गरिरहेको छ र एप्पलले विश्वकै दोस्रो ठुलो उपभोक्ता अर्थतन्त्र (चीन) मा हुवावेबाट कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । सन् २०२३ मा बजारमा आएको हुवावेको ‘मेट ६०’ स्मार्टफोनमा फाइभजी कनेक्टिभिटी थियो, जुन एउटा उन्नत चिपद्वारा सञ्चालित थियो । यसले कम्पनीलाई एप्पलबाट आफ्नो बजार हिस्सा फिर्ता लिन मद्दत गरेको थियो । अमेरिकी प्रतिबन्धका कारण एनभीडीयाले हालका वर्षहरूमा आफ्ना सबैभन्दा उन्नत चिप्स चीनमा बिक्री गर्न पाएको छैन, जसले गर्दा बेइजिङले आफ्नै देशमा उत्पादित प्रविधिलाई सहयोग गर्न जोड दिएको छ । गत हप्ता एनभीडीयाका सीईओ जेन्सेन हुआङले सीएनबीसीलाई अमेरिकी चिप निर्माता कम्पनीले चिनियाँ बजार हुवावेका लागि ‘छोडिदिएको’ बताएका थिए । ‘एनभीडीयाका लागि यसको अर्थ चीनमा ‘एच २००’ जस्ता उन्नत चिप्स बिक्री गर्ने अवसर साँघुरो हुँदै गइरहेको छ,’ द एसिया ग्रुपका पार्टनर तथा डिजिटल प्राक्टिसका सह–अध्यक्ष जर्ज चेनले भने । ‘यो मार्गले वासिङ्टनमा चिन्ता अझ बढाउने सम्भावना छ, जहाँ हुवावे अझै पनि अमेरिकी निर्यात प्रतिबन्धको मुख्य प्रतीक बनेको छ,’ उनले थपे । हुवावेले सन् २०३१ सम्ममा आफ्नो नयाँ चिप प्रविधिले १.४ नानोमिटर प्रोसेस प्रविधि सरहको क्षमता प्रदान गर्न सक्ने बताएको छ । जबकि विश्वको अग्रणी चिप निर्माता कम्पनी टीएसएमसीले २ नेनोमिटर चिप्सको ठुलो परिमाणमा उत्पादन सुरु गरिसकेको छ । नेनोमिटर प्रोसेसले चिप उत्पादन प्रविधिलाई जनाउँछ, जसमा साना नोड्सले सामान्यतया छिटो र बढी प्रभावकारी सेमिकन्डक्टरहरू बनाउन सक्षम बनाउँछन् । डीजीए ग्रुपका एसिया र अमेरिका प्रविधि प्रमुख पल ट्रिओलो भने हुवावेको १.४ नेनोमिटरको दाबीप्रति शंका व्यक्त गर्छन् । ‘स्ट्याक्ड वा फोल्डेड (एउटामाथि अर्को खप्ट्याइएको) डिजाइनले प्रभावकारी रूपमा डेन्सिटी (घनत्व) बढाउन सक्छ, तर यसको अर्थ हुवावेले वास्तविक १.४ नेनोमिटर–क्लास उत्पादनसँग जोडिएका सम्पूर्ण प्रक्रिया, उत्पादन दर, पावर, थर्मल (ताप) र डिभाइसको कार्यक्षमता सम्बन्धी समस्याहरू हल गरिसक्यो भन्ने होइन,’ उनले भने । काउन्टरपोइन्ट रिसर्चका अनुसन्धान उपाध्यक्ष नील शाहका अनुसार डच चिप उपकरण निर्माता एएसएमएलबाट उन्नत ‘एक्सट्रिम अल्ट्राभायोलेट’ (ईयूभी) लिथोग्राफी मेसिनहरू प्राप्त गर्नबाट रोकिएपछि हुवावे एआई क्षेत्रमा प्रतिस्पर्धी रहन चिप विकासका वैकल्पिक उपायहरू खोज्न बाध्य भएको छ । ‘तर, यो समानान्तर सेमिकन्डक्टर माध्यम अझै प्रमाणित हुन बाँकी छ । यो अवधारणाले कडा थर्मल अवरोधहरू र प्याकेजिङका जटिलताहरू निम्त्याउन सक्छ, जसले उत्पादन दरलाई असर गर्न सक्छ,’ शाहले भने । यसै शरद् ऋतुमा आफ्नो प्रमुख ‘मेट ९०’ स्मार्टफोन सिरिजमा यो प्रविधि प्रयोग गर्ने हुवावेको प्रयास एउटा ठुलो इन्जिनियरिङ सफलता हुनेछ । तर यसलाई एआई डाटा सेन्टरहरूमा विस्तार गर्नु नै ‘पश्चिमा प्रतिबन्धहरू विरुद्ध चीनको रचनात्मक वैकल्पिक उपायको वास्तविक अग्निपरीक्षा’ हुने उनको भनाइ छ । हुवावेको सेमिकन्डक्टर व्यवसायकी अध्यक्ष तिङ्बो हेका अनुसार हुवावेको नयाँ चिप आर्किटेक्चरले यसको लेआउटलाई एक तहबाट दुई तहमा विस्तार गर्छ, जसले ऊर्जा दक्षतालाई उल्लेखनीय रूपमा बढाउँछ । ‘इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स’ को ‘इन्टरनेसनल सिम्पोजियम अन सर्किट्स एन्ड सिस्टम्स’ मा बोल्दै कम्पनीको वैज्ञानिक समितिकी निर्देशकसमेत रहेकी टिङ्बो हेले यो संरचनाले ट्रान्जिस्टरहरूलाई धेरै बिन्दुहरूमा एकअर्कासँग अन्तरक्रिया गर्न अनुमति दिने बताइन् । यद्यपि उनले चुनौतीहरू अझै बाँकी रहेको स्वीकार गरिन् किनकि हुवावेले यो नयाँ प्रविधिका लागि एक दशक लामो विकासको मार्ग भर्खरै सुरु मात्र गरेको छ ।
पाकिस्तानको बलुचिस्तानमा रेल विस्फोट, २४ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन् । प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ । घाइते तथा मृतकलाई स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलले घटनास्थलमा कडा पहरा दिएको छ । अधिकारीका अनुसार क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारीसाधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो । विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । अर्का अधिकारीले एएफपीलाई बताएअनुसार उक्त रेलमा सवार सैनिकहरू आगामी मङ्गलबारदेखि सुरु हुने ईद बिदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए । बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचकाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ । यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीय जनतालाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ ।
अमेरिका र इरान ६० दिने युद्धविराम सम्झौताको नजिक
काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव कम गर्ने प्रयासस्वरूप ६० दिनसम्म युद्धविराम विस्तार गर्ने सम्भावित सहमतितर्फ वार्ता अघि बढिरहेको प्रतिवेदन सार्वजनिक भएको छ । कूटनीतिक स्रोतहरूका अनुसार दुवै पक्ष सम्झौताको नजिक पुगेका छन् भने क्षेत्रीय मध्यस्थताले पनि संवाद प्रक्रियालाई गति दिएको बताइएको छ । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मोघदमले वार्तामा मर्यादा र पारस्परिक सम्मानका आधारमा सकारात्मक प्रगति भएको बताए । उनले कूटनीतिक प्रयासले क्षेत्रीय स्तरमा दिगो शान्ति स्थापना गर्न सहयोग पुग्ने आशा व्यक्त गरे । मोघदमका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले तेहरान भ्रमणपछि इरानी अधिकारीहरूसँग भएका छलफलको उपलब्धिबारे आफूलाई बधाई दिएका थिए । उनले सावधानीपूर्ण आशावाद व्यक्त गर्दै अर्को पक्षले पर्याप्त प्रतिबद्धता देखाए सकारात्मक परिणाम सम्भव रहेको उल्लेख गरे । ‍उनका अनुसार सम्भावित प्रगतिमा इरानको राष्ट्रिय गरिमा, सशस्त्र बलको दृढता, इरानी जनताको प्रतिरोध तथा पाकिस्तानी मध्यस्थकर्ताहरूको सक्रिय पहलले भूमिका खेलेको छ । फाइनान्सियल टाइम्सको प्रतिवेदनअनुसार अमेरिका र इरान ६० दिनसम्म युद्धविराम विस्तार गर्ने सहमतिमा पुग्ने चरणनजिक छन् । सम्भावित सम्झौताअन्तर्गत हर्मुज जलघाँटीलाई क्रमिक रूपमा पुनः सञ्चालनमा ल्याउने तथा इरानको उच्च स्तरमा समृद्ध पारिएको युरेनियम भण्डारलाई कमजोर बनाउने वा अन्यत्र स्थानान्तरण गर्ने प्रतिबद्धता समावेश हुन सक्ने उल्लेख गरिएको छ । बदला स्वरूप अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी सहज बनाउने, साथै विदेशमा रोक्का राखिएको तेहरानको सम्पत्तिमा राहत वा फ्रिज हटाउनेतर्फ सहमत हुन सक्ने जनाइएको छ । यसैबीच इरान र पाकिस्तानले संयुक्त राज्य अमेरिकासमक्ष युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने उद्देश्यसहित संशोधित प्रस्ताव पेस गरेका छन् । अल जजिराले आफ्ना स्रोतहरूलाई उद्धृत गर्दै आइतबारसम्म वासिङ्टनबाट प्रतिक्रियाको प्रतीक्षा भइरहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्तामा ‘केही प्रगति भएको स्वीकार गरेका छन् । भारत भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले आज, भोलि वा केही दिनभित्रै नयाँ प्रगति देखिन सक्ने सम्भावना रहेको बताए । साथै यो मुद्दा कुनै न कुनै रूपमा समाधान गर्नुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा पनि दोहोर्‍याए । मध्यस्थकर्ताहरूले इरानी प्रतिनिधिमण्डलसँग छलफल गरिरहँदा अमेरिकी दूत स्टिभ विटकफसँग पनि नियमित सम्पर्क कायम राखिएको बताइएको छ । फाइनान्सियल टाइम्सका अनुसार इरानी पक्षको प्रतिनिधिमण्डलको नेतृत्व संसदीय सभामुख मोहम्मद बाघेर गालिबफ र विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए ।