शान्ति पदयात्रा र सेलिब्रेटी कुकुरले तानेको ध्यान

काठमाडौं । श्रीलङ्कामा केसर रङका वस्त्रधारी बौद्ध भिक्षुहरूले बुधबारदेखि एक हप्ता लामो शान्ति पदयात्रा सुरु गरेका छन् । पदयात्रामा उद्धार गरिएको बेवारिसे कुकुरको उपस्थितिले विश्वभर थप ध्यान तानेको छ । ‘सबै प्राणीका लागि शान्ति’ भन्ने सन्देशसहित सुरु भएको यो पदयात्रा धार्मिक आस्था र सामाजिक सन्देशको अनौठो संयोजन बनेको छ ।      भियतनामी भिक्षु पन्नकाराको नेतृत्वमा १३ सदस्यीय टोलीले राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर उत्तरमा रहेको ऐतिहासिक डम्बुला बौद्ध मन्दिरबाट बिहान आफ्नो यात्रा प्रारम्भ गरेको हो । यो समूह यसअघि संयुक्त राज्य अमेरिकामा टेक्सासदेखि वासिङ्टन डिसीसम्म करिब तीन हजार ७०० किलोमिटर लामो १०८ दिनको पदयात्रा पूरा गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चित भएको थियो । त्यतिबेला उनीहरूले बरफले ढाकिएका सडक र कठोर मौसममा समेत यात्रा गर्दै शान्तिको सन्देश फैलाएका थिए ।      यसपटक उनीहरू ४० डिग्री सेल्सियससम्म तापक्रम पुग्ने श्रीलङ्काको अत्यधिक गर्मीमा नाङ्गो खुट्टा हिँडिरहेका छन् । भीषण गर्मीबीच पनि स्थानीय भक्तजनहरूले उनीहरूको यात्रालाई समर्थन गर्दै सडकमा पानी छर्कने, हरियो केराका पात र फूलहरू राख्ने तथा शीतलता प्रदान गर्ने प्रयास गरेका छन् । केहीले त भिक्षुहरूलाई पानी छर्केर राहत दिन खोजिरहेका दृश्य पनि देखिएका छन् ।      यो पदयात्रा अप्रिल २८ मा राजधानी कोलम्बो पुग्ने अपेक्षा गरिएको छ । त्यहाँ श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले उनीहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको आयोजकहरूले बताएका छन् ।      यस पदयात्राको विशेष आकर्षण बनेको छ अलोका नामको उद्धार गरिएको आवारा कुकुर । यो कुकुरले भिक्षुहरूको साथमा अन्तर्राष्ट्रिय यात्रादेखि नै ध्यान तानेको छ । भारतमा उद्धार गरिएको उक्त कुकुरले अमेरिकी यात्रामा समेत भिक्षुहरूलाई साथ दिएको थियो र त्यसक्रममा ठूलो लोकप्रियता कमाएको थियो ।      अलोका पहिले भारतका भिक्षुहरूलाई पछ्याउँदै गर्दा कारको ठक्करबाट जोगिएको थियो र त्यसपछि उनीहरूकै साथमा यात्रा जारी राखेको थियो । पछि संयुक्त राज्य अमेरिकामा भएको पदयात्रामा पनि उसको उपस्थिति सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको थियो । उक्त यात्राले प्राप्त गरेको ध्यान र दानले सम्पूर्ण अभियानलाई आर्थिक रूपमा सहयोग पुगेको बताइएको छ ।      स्थानीय एक भिक्षुका अनुसार टेक्सासदेखि कोलम्बोसम्म अलोकालाई ल्याउने हवाई खर्च सामान्य यात्रुको तुलनामा करिब दस गुणा बढी परेको थियो । यसले अभियानको अन्तर्राष्ट्रिय पहुँच र लोकप्रियता झल्काएको छ । श्रीलङ्कामा अहिले अलोकाको सुरक्षाका लागि सेनाका कमान्डोहरू परिचालन गरिएको छ । दुई जना कमान्डोहरू लगातार कुकुरको दुवै छेउमा रहेर पदयात्रा अघि बढाइरहेका छन्, ताकि स्थानीय सडक कुकुरहरूबाट कुनै जोखिम नहोस् । प्रहरीको केनेल विभागसमेत यसको सुरक्षामा खटाइएको छ ।      पदयात्राको दृश्यले स्थानीय सडकमा ठूलो आकर्षण सिर्जना गरेको छ, जहाँ भक्तजनहरूले श्रद्धापूर्वक भिक्षुहरूलाई अभिवादन गर्दै यात्रा अवलोकन गरिरहेका छन् ।      यस अभियानको सामाजिक सञ्जालमा पनि व्यापक प्रभाव देखिएको छ । पिस वाकको फेसबुक पेजमा मात्रै ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् भने श्रीलङ्का यात्राको प्रत्यक्ष प्रसारण पहिलो पाँच घण्टामै ५१ हजारभन्दा बढी पटक हेरिएको आयोजकहरूले जनाएका छन् ।      धार्मिक आस्था, सामाजिक सन्देश र एउटा उद्धार गरिएको कुकुरको उपस्थिति मिसिएको यो पदयात्रा अहिले श्रीलङ्कामा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै ध्यानको केन्द्र बनेको छ । रासस   

तीस करोड डलर क्रिप्टो चोरीको आशङ्का

काठमाडौं । विश्वव्यापी साइबर सुरक्षामाथि गम्भीर चुनौती थपिँदै गएको अवस्थामा उत्तर कोरियासँग सम्बन्धित एक कुख्यात ह्याकिङ समूहले झन्डै ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आशङ्का गरिएको छ । प्रभावित पक्षका अनुसार यो घटना यस वर्षकै सबैभन्दा ठूलो ज्ञात क्रिप्टो डकैतीमध्ये एक हो, जसले डिजिटल वित्तीय प्रणालीको सुरक्षामाथि नयाँ प्रश्न खडा गरेको छ ।      यो घटनालाई उत्तर कोरियासँग जोडिएको पछिल्लो साइबर आक्रमणका रूपमा हेरिएको छ । संयुक्त राष्ट्रसङ्घको एक प्यानलका अनुसार उत्तर कोरियाले यस्ता परिष्कृत साइबर अपराधमार्फत चोरी गरिएको क्रिप्टोकरेन्सी आफ्नो आणविक हतियार कार्यक्रमलाई सघाउन प्रयोग गर्दै आएको छ ।      डिजिटल मुद्रासम्बन्धी समाचार प्लेटफर्म कोइनडेस्कका अनुसार शनिबार अनलाइन लगानी प्लेटफर्म केल्पडीएओको भल्टमा भएको चोरी सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टो शोषण हो । मङ्गलबार सार्वजनिक गरिएको विवरणअनुसार, ह्याकका क्रममा लेयरजिरो नामक प्रविधि प्लेटफर्मले सञ्चालन गरेका दुईवटा ब्लकचेन सर्भरहरूमा अनधिकृत पहुँच स्थापित गरिएको थियो ।      केल्पडीएओका अनुसार यस पहुँचले इथेरियमसँग सम्बन्धित क्रिप्टो टोकनहरू प्रणालीबाट ‘निकाल्न’ सम्भव बनायो । लेयरजिरोले एक विज्ञप्तिमा अप्रिल १८, २०२६ मा करिब २९ करोड डलर बराबरको क्षति भएको पुष्टि गरेको छ ।      उक्त आक्रमणबारे प्रारम्भिक सङ्केतहरूले अत्यन्तै परिष्कृत राज्य–समर्थित समूह संलग्न भएको देखाएको भन्दै सम्भावित रूपमा उत्तर कोरियाको लाजरस समूह जिम्मेवार हुनसक्ने उल्लेख गरिएको छ । यद्यपि, प्रयोगकर्ताका अन्य सम्पत्ति वा प्रणालीमा कुनै असर नपरेको भन्दै कम्पनीले आश्वस्त पार्ने प्रयास गरेको छ ।      ब्लकचेन प्रविधिले सरकार वा बैंकजस्ता बिचौलियाविनै लेनदेन गर्न मिल्ने व्यवस्था दिन्छ, जसलाई विकेन्द्रीकृत वित्त (डेफी) भनिन्छ । तर यही संरचनाको जटिलताले यस्ता साइबर आक्रमणलाई पहिचान र नियन्त्रण गर्न कठिन बनाउने विज्ञहरूको भनाइ छ ।      नाइन ब्लक क्यापिटल म्यानेजमेन्टका सह–संस्थापक हेनरी अर्सलानियनका अनुसार यस्तो घटनाले नयाँ प्रयोगकर्तालाई डेफी क्षेत्रमा प्रवेश गर्न झनै डर पैदा गराउँछ । उनले यो आक्रमण उत्तर कोरियाको लाजरस समूहकै काम भएको दाबी गर्दै विश्वमै यस्तो स्तरको ह्याक गर्न सक्ने क्षमता सीमित समूहसँग मात्र रहेको उल्लेख गरे ।      यसअघि सन् २०२४ मा संयुक्त राष्ट्रसङ्घको एक अध्ययनले उत्तर कोरियाले सन् २०१७ यता तीन अर्ब डलरभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको अनुमान सार्वजनिक गरेको थियो । त्यस्तै, गत वर्ष अमेरिकाले उत्तर कोरियामाथि एक अर्ब ५० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको थियो, जुन इतिहासकै सबैभन्दा ठूलो क्रिप्टो डकैतीमध्ये एक मानिएको छ ।      निरन्तर दोहोरिँदै आएका यस्ता घटनाले साइबर सुरक्षाको अन्तर्राष्ट्रिय बहसलाई तीव्र बनाएको छ भने डिजिटल अर्थतन्त्रको भविष्यप्रति थप चिन्ता उत्पन्न गरेको देखिन्छ । रासस    

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

काठमाडौं । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रयास र कानूनी प्रक्रियापछि फिर्ता भएको यो खजाना रोमानियाका लागि केवल पुरातात्विक वस्तु मात्र नभई राष्ट्रिय पहिचान र ऐतिहासिक स्मृतिको प्रतीकका रूपमा हेरिएको छ ।      डेसिया सभ्यतासँग सम्बन्धित अलङ्कृत कोटोफेनेस्टी हेलमेट र तीन सुनौलो ब्रेसलेटहरू जनवरी २०२५ मा नेदरल्यान्ड्सस्थित ड्रेन्ट्स सङ्ग्रहालयमा भएको योजनाबद्ध छापामार चोरीमा हराएका थिए । उक्त घटनाले अन्तर्राष्ट्रिय कला क्षेत्रमा ठूलो तरङ्ग ल्याएको थियो भने रोमानियाली अधिकारीहरू गम्भीर चिन्तामा परेका थिए । करिब १४ महिनाको अनुसन्धानपछि, तीन जना संदिग्धसँग सम्बन्धित मुद्दा अघि बढिरहँदा अधिकांश हराएका वस्तुहरू मङ्गलबार बुखारेस्टस्थित हेनरी कोन्डा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका छन् । त्यहाँबाट कडा सुरक्षा व्यवस्थासहित ती वस्तुहरू राष्ट्रिय इतिहास सङ्ग्रहालयमा पुर्‍याइएको थियो । अहिले ती वस्तुहरू मास्क लगाएका सशस्त्र सुरक्षाकर्मीको निगरानीमा काँचको विशेष क्याबिनेटमा राखेर सार्वजनिक अवलोकनका लागि प्रस्तुत गरिएको छ ।      सङ्ग्रहालयका अन्तरिम निर्देशक कर्नेल कन्स्टान्टिन इलीले यी वस्तुहरूलाई सामान्य पुरातात्विक सामग्री नभई ‘ऐतिहासिक स्मृतिका जीवित अवशेष’ का रूपमा फर्काइएको बताए । उनका अनुसार, यो क्षण रोमानियाका लागि खुशीसँगै आत्ममूल्याङ्कन गर्ने अवसर पनि हो । लामो समयसम्म यी सम्पदा सधैँका लागि हराउन सक्ने चिन्ताबीच बिताएको स्मरण गर्दै उनले अब यसको महत्त्वपूर्ण अंश फिर्ता आएकोमा राहत महसुस गरिएको उल्लेख गरे ।      ड्रेन्ट्स सङ्ग्रहालयका निर्देशक रोबर्ट भ्यान ल्याङले पनि यस घटनालाई सबैका लागि भावनात्मक क्षण भएको बताए । उनका अनुसार, नेदरल्यान्ड्समा यसको प्रभाव उल्लेखनीय भए पनि रोमानियामा यसको भावनात्मक असर अझ गहिरो थियो । दुवै देशका प्रहरी र न्यायिक निकायले समन्वयमा उत्कृष्ट काम गरेको उनले स्वीकार गरे ।      यसै महिनाको सुरुआतमा डच अभियोजकहरूले पूर्वी नेदरल्यान्ड्सको एसेन सहरमा पत्रकार सम्मेलनमार्फत बरामद गरिएका वस्तु सार्वजनिक गरेका थिए । यद्यपि, चोरी भएका तीनमध्ये एक सुनौलो ब्रेसलेट अझै फेला परेको छैन र त्यसको खोजी जारी रहेको जनाइएको छ । आगामी हप्ताहरूमा यससम्बन्धी न्यायिक निर्णय आउने अपेक्षा गरिएको छ ।      चोरीपछि हराएको हेलमेट फिर्ता हुँदा केही भागमा क्षति देखिएको छ भने अन्य बरामद ब्रेसलेटहरू भने सुरक्षित अवस्थामा रहेका छन् । हेलमेट पगालिएको हुन सक्ने आशङ्का पनि गरिएको थियो, किनभने यसको विशिष्टता र पहिचानका कारण यसलाई अवैध बजारमा बेच्न कठिन हुने अनुमान गरिएको थियो ।      रोमानियाका संस्कृतिमन्त्री डिमेटर अन्द्रास इस्तवानले यस घटनाले सम्पदा र राष्ट्रिय चेतनाबीचको गहिरो सम्बन्ध उजागर गरेको बताए । उनका अनुसार, यसले सांस्कृतिक सम्पदाहरू कति संवेदनशील र जोखिममा पर्न सक्ने देखाएको छ, जहाँ हिंसा, तस्करी र लापरबाहीले ठूला क्षति पुर्‍याउन सक्छ ।      चोरीको घटनापछि सार्वजनिक भएको सुरक्षा फुटेजमा तीन व्यक्तिले क्रोबार प्रयोग गरी सङ्ग्रहालयको ढोका फुटाएको र त्यसपछि विस्फोट गराएको दृश्य देखिएको थियो । यसले घटना योजनाबद्ध र सङ्गठित रहेको सङ्केत गरेको थियो ।      सङ्ग्रहालय प्रशासनका अनुसार, केही मर्मतसम्भार अघि यी सम्पदाहरूलाई सर्वसाधारणका लागि प्रदर्शन गरिनेछ । यसलाई केवल कलात्मक वस्तुका रूपमा मात्र नभई कठिन परीक्षा, लगभग अपूरणीय क्षति र त्यसपछिको सफल पुनःप्राप्तिको प्रतीकका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ । अन्ततः, यी बहुमूल्य सम्पदाहरू स्वदेश फर्किनु रोमानियाका लागि ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ । रासस