स्मार्ट उर्जा प्रविधिमा चीनको प्रभाव विश्वभर बढ्दै
काठमाडौं । डिजिटल प्रविधिहरूले उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउँदै विश्वव्यापी उर्जा प्रणालीलाई अधिक दक्ष, दिगो र बौद्धिक बनाइरहेको छ । उक्त जानकारी ‘विश्व इन्टरनेट अफ थिङ्ग्स’ सम्मेलन सन् २०२५ मा विशेषज्ञहरूले दिएका थिए । सम्मेलन नोभेम्बर २८-२९ मा बेइजिङमा आयोजना गरिएको थियो । सम्मेलनमा बोल्दै,सम्मेलन कार्यसमिति उपाध्यक्ष हे कियाङले डिजिटल उर्जा क्रान्ति अब उर्जा डिजिटल अर्थतन्त्रको मुख्य इन्जिन बनेको बताए । ठूलो डाटाले प्रणाली सञ्चालनमा स्पष्टता ल्याउँछ भने कृत्रिम बुद्धिमत्ता (एआई) ले निर्णय क्षमतासहित प्रणालीलाई बौद्धिक बनाउँछ । ब्लकचेन प्रविधिले वितरण उर्जा कारोबारमा सुरक्षा सुनिश्चित गर्दछ । यी सबै प्रविधिहरू इन्टरनेट अफ थिङ्ग्समार्फत जडान भएर एकीकृत डिजिटल पारिस्थितिकी तन्त्र बनाइरहेका छन् । चीन सूचना सङ्घको उर्जा कार्य समिति निर्देशक वाङ योङ्गजिएले प्रविधि मेलमिलापले दुर्गम क्षेत्रमा पनि उर्जा अनुगमन सम्भव भएको बताए । उनले भने, ‘हरित सङ्क्रमणको पहलले १३५ भन्दा बढी देशलाई कार्बन शून्यतामा प्रतिबद्ध बनाएको छ । चीनको विश्वव्यापी मागसँग मेल केवल प्राविधिक निर्यात मात्र होइन, विश्व उर्जा व्यवस्थापनको पुनःसंरचना पनि हो ।’ चीन सरकारले सेप्टेम्बर २०२५ मा जारी गरेको नीति अनुसार सन् २०२७ सम्म एकीकृत उर्जा-कृत्रिम बुद्धिमत्ता नवाचार प्रणाली स्थापना गर्ने र सन् २०३० सम्म विश्वस्तरीय कृत्रिम बुद्धिमत्ता प्रयोग हासिल गर्ने लक्ष्य राखेको छ । कृत्रिम बुद्धिमत्ता अहिले उर्जा उत्पादन र उपभोगको पूर्वानुमान, बुद्धिमानी व्यवस्थापन, नवीकरणीय उर्जा केन्द्रको दोष पत्ता लगाउने र सञ्चालन सुधारका क्षेत्रमा प्रयोग भइरहेको छ । तर यस क्षेत्रमा अझै प्राविधिक चुनौती समस्या बनेका छन् । वाङले भने, ‘पुराना प्रणाली आधुनिक उपकरणसँग मिल्न नसक्ने, सीमा-पार कारोबारमा डाटाको जोखिम रहने र केही बजारमा स्थानीय सहयोगको अभावले नाफा सीमित हुने देखिन्छ ।’ उनले समाधानको रूपमा कृत्रिम बुद्धिमत्ता प्लेटफर्म निर्माण गर्न सुझाव दिनुभएका छन् । यसले साना तथा मध्यम उद्योगहरूको विश्वव्यापी विस्तारलाई सहयोग गर्नेछ । ‘बौद्धिक रूपमा अन्तरजोडिएको नयाँ अर्थतन्त्र, नयाँ युगको स्मार्ट समाज’ भन्ने विषयमा आयोजित सम्मेलनमा ८० भन्दा बढी देशका अधिकारी, विशेषज्ञ र व्यवसाय प्रतिनिधिहरू सहभागी भएका थिए । उहाँहरूले इन्टरनेट अफ थिङ्ग्सले विश्वव्यापी दिगो डिजिटल रूपान्तरणमा कसरी योगदान पु¥याउन सक्छ भन्ने विषयमा छलफल गरेका थिए ।
अमेरिकी ट्यारिफले भारतीय निर्यातमा ठूलो धक्का, २८.५ प्रतिशत गिरावट
काठमाडौं । अमेरिकाले लगाएको ट्यारिफका कारण भारतको निर्यातमा ठूलो असर परेको छ । मेदेखि अक्टोबर २०२५ को बीच अमेरिकी बजारमा जाने भारतीय सामानको शिपमेन्ट २८.५ प्रतिशतले घटेको थिंक ट्यांक जीटीआरआईले जनाएको छ । ट्यारिफ शून्य भएका उत्पादनहरूमा पनि २५.८ प्रतिशतको गिरावट देखिएको छ। जीटीआरआईले सरकारले ‘निर्यात प्रोत्साहन मिसन’ छिटो सुरू गर्नुपर्ने र अमेरिकाले लगाएका अतिरिक्त ट्यारिफ हटाउन पहल गर्नुपर्ने सुझाव दिएको छ । अमेरिकी ट्यारिफ भारतका लागि दुई तरिकाले घातक सावित भएको छ । पहिलो चीन र जापानको तुलनामा भारतले धेरै उच्च ट्यारिफ तिर्नुपरेको छ । दोस्रो जसमा ट्यारिफ थिएन त्यस्ता उत्पादनको निर्यात पनि घटेको छ। एउटै अवधिमा भारतबाट अमेरिकातर्फ जाने निर्यात ८.८३ अर्ब डलरबाट घटेर ६.३१ अर्ब डलरमा झरेको छ । अमेरिकाले अप्रिल २०२५ मा १० प्रतिशत ट्यारिफ लगाएपछि अगस्टमा बढाएर २५ प्रतिशत गर्यो र महिनाको अन्त्यसम्म ५० प्रतिशत पुर्यायो । यसले भारतीय सामानलाई अमेरिकामा ‘सबैभन्दा बढी कर लाग्ने उत्पादन’ मध्ये एक बनाइदियो । जीटीआरआईका अनुसार चीनबाट आउने सामानमा ३० प्रतिशत र जापानबाट आउने सामानमा १५ प्रतिशत ट्यारिफमात्र लगाइएको छ । गम्भीर परिस्थितिलाई ध्यानमा राख्दै जीटीआरआईले भारतीय सरकारले चाँडो कदम चाल्नुपर्ने बताएको छ । उसका अनुसार सुरुमा ‘एक्सपोर्ट प्रमोशन मिशन’ तुरुन्तै लागू गर्नुपर्छ । यो मिशन मार्चमा घोषणा भइसकेको र १२ नोभेम्बरमा क्याबिनेटबाट स्वीकृत भइसके पनि अहिलेसम्म कुनै योजना कार्यान्वयनमा आएको छैन । यति मात्र होइन, मार्केट एक्सेस इनिसिएटिभ र इन्टरेस्ट इक्वलाइजेशन स्किमजस्ता पुराना योजनाबाट पनि चालु आर्थिक वर्षमा कुनै भुक्तानी भएको छैन, जसले निर्यात क्षेत्र झनै कमजोर बनाएको छ । त्यस्तै, अमेरिकाले भारतमाथि लगाएको ‘रुस–सम्बन्धित’ २५ प्रतिशत अतिरिक्त ट्यारिफ हटाउन कुटनीतिक पहल गर्नुपर्ने सुझाव छ । यो ट्यारिफ हटेमा भारतीय सामानमाथि पर्ने प्रभावी करभार ५० प्रतिशतबाट घटेर २५ प्रतिशतमात्र रहनेछ, जसले विशेषगरी श्रमउद्योगलाई ठूलो राहत पुर्याउने जीटीआरआईको तर्क छ । जीटीआरआईको मूल्यांकन अनुसार एक्सपोर्ट प्रमोशन मिसनका लागि प्रस्तावित वार्षिक बजेट ४ हजार २०० करोड भारु लक्ष्य हासिल गर्न पर्याप्त छैन । यसका लागि सरकारले छिटो दिशानिर्देश जारी गर्न, रोकिएका रकमको नियमित भुक्तानी सुरु गर्न र निर्यातकर्तालाई स्पष्ट पात्रता नियम तथा समयसीमा उपलब्ध गराउन अत्यावश्यक छ । २०२५–२०२६ को बजेटमा समावेश गरिएको यो ईपीएमले एमएसएमई, पहिलोपटक निर्यातमा प्रवेश गर्न चाहने व्यवसाय, तथा श्रम–गहन उद्योगको प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ । यो कार्यक्रम २०२५–२०२६ देखि २०३०–३१ सम्मका लागि कुल २५ हजार ६० करोड भारुको प्रावधानसहित सञ्चालन हुने योजना छ । २०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?
२०२५ मा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, ‘डेभिल्स मेटल’ अझै किन बढ्दैछ?
काठमाडौं । चाँदीलाई ‘डेभिल्स मेटल’ पनि भनिन्छ । यसको मूल्यमा हुने उतारचढावका कारण यसलाई डेभिल्स मेटल भनिएको हो । चाँदी यो वर्ष नयाँ उच्च बिन्दुमा पुगेको छ र आपूर्ति अभाव हुँदाहुँदै पनि यसको मूल्य अझै बढ्ने विशेषज्ञहरूको अनुमान छ । यो धातुको मूल्यवृद्धि सुनसँगै कदम मिलाएर चलिरहेको छ । यस वर्ष सुनको मूल्य पनि उत्कर्षमा पुगेको छ र प्रतिऔंश ४ हजार डलर नाघेको छ । अक्टोबर मध्यतिर चाँदीको मूल्य प्रतिट्रोय औंश ५४.४७ डलर पुगेको थियो, जुन गत वर्षको तुलनामा ७१ प्रतिशत वृद्धि हो । यसको आपूर्ति निकै कम छ । इन्भेस्कोक ईएमईए ईटीएफ फिक्स्ड इनकम तथा कमोडिटी प्रमुख पल सिम्स भन्छन्, ‘कतिपयलाई माग पु¥याउन समुन्द्री कार्गोको सट्टा विमानमार्फत चाँदी ढुवानी गर्नुपरेको थियो ।’ उनका अनुसार मूल्यमा आएको चर्कोवृद्धि पछि केही गिरावट आए पनि ‘यस पटक दीर्घकालीन रूपमा चाँदीलाई उच्च मूल्यमा राख्ने फरक गतिशीलता देखिएको छ र सम्भवतः अझै बढ्न सक्छ ।’ पछिल्ला ५० वर्षमा चाँदीको मूल्य अत्यधिक उकालो लागेको यो तेस्रो पटक मात्र हो । यसअघि जनवरी १९८० मा हन्ट दाजुभाईहरूले विश्वको एक–तिहाइ चाँदी किनेपछि मूल्य उक्लिएको थियो । २०११ मा अमेरिकाको ऋण सीमा संकटका बेला पनि चाँदी–सुन सुरक्षित लगानीका रूपमा किनिँदा मूल्य आकाशिएको थियो । सिम्स भन्छन्, ‘चाँदीको बजार सुनको तुलनामा करिब दशौं भाग मात्र हुन्छ, त्यसैले छोटो अवधिको खरिद–बिक्रीमा भएको दवाबले धेरै लगानीकर्तालाई आश्चर्यमा पारेको थियो ।’ सन् २०२५ को चाँदी वृद्धिः कम आपूर्ति + उच्च माग यसपटक मूल्य वृद्धि भारतको अत्यधिक माग, औद्योगिक आवश्यकता र भन्सार शुल्कका कारण बढेको हो । ‘मुक्ति दिवसपछि सुनको मूल्य उक्लियो, तर चाँदी केही झर्यो । त्यसपछि गोल्ड–सिल्भर अनुपात १०० भन्दा माथि गयो,’ सिम्स भन्छन् । यो अनुपातले एक औंश सुन किन्न कति औंश चाँदी चाहिन्छ भन्ने देखाउँछ । अनुपात धेरै उच्च भएमा चाँदी अत्यन्तै सस्तो (अन्डरभ्यालु) भएको अर्थ लाग्छ। रोना ओ’कनल भन्छिन्, ‘वित्तीय तथा औद्योगिक जोखिम व्यवस्थापकहरू कुनै धातु विदेश पठाउन चाहँदैनथे किनकि फर्किँदा मूल्य ३५ प्रतिशतसम्म महँगो पर्न सक्थ्यो भन्ने डर थियो ।’ मनसुन र बाली कटाइ सकिएपछि भारतमा चाँदीको माग उकालो लाग्छ । ओ’कनलका शब्दमा, ‘भारतका किसानहरू बैंकहरूलाई धेरै मन पराउँदैनन्, त्यसैले सुन र पछिल्लो समय चाँदी नै उनीहरूको पहिलो रोजाइ हो।’ भारत विश्वकै सबैभन्दा ठूलो चाँदी उपभोक्ता हो— वार्षिक करिब ४ हजार मेट्रिक टन, मुख्यतः गहना, भाँडाकुडा र सजावटी सामानका लागि । दिपावली (पाँचदिने दीपावली पर्व) को समय परेकाले पनि माग झनै बढेको थियो । आपूर्ति सङ्कट यस वर्ष भारतमा चाँदीले सुनभन्दा धेरै चम्कियो किनकि यो सस्तो र कृषि निर्भर ५५ प्रतिशत जनसंख्या भएका देशमा सजिलो लगानी विकल्प हो । अक्टोबर १७ मा भारतमा चाँदीको मूल्य प्रति किलो १ लाख ७० हजार ४१५ भारतीय रुपैयाँ पुगेको थियो— वर्षको सुरुदेखि ८५ प्रतिशत वृद्धि । तर भारतको ८० प्रतिशत चाँदी आयातमा निर्भर छ । यूएई र चीनले माग बढ्दै जाँदा आपूर्ति गरिरहेका छन्, तर ब्रिटेन भारतको ऐतिहासिक प्रमुख आपूर्तिकर्ता हो । तर लण्डनका सुरक्षित भण्डारण वर्षौंदेखि खाली हुँदै गएका छन् । जुन २०२२ मा ३१ हजार २३ मेट्रिक टन चाँदी थियो जबकि मार्च २०२५ सम्म झरेर २२ हजार १२६ मेट्रिक टन मात्र बाँकी—करिब एक–तिहाइले कमी । ओ’कनल भन्छिन्, ‘भण्डारणमा के भइरहेको छ, धेरैलाई थाहा छैन । लण्डनमा त प्रायः कुनै उपलब्ध चाँदी नै बाँकी थिएन ।’ अक्टोबरमा कसैले चाँदी उधारो लिन निकै भिडन्त भयो—‘लिज दर’ अत्यन्तै महँगो भयो । ‘एक समयमा एक रातका लागि चाँदी उधारो लिन वार्षिक दर २०० प्रतिशत बराबर पथ्र्यो—धेरै व्यापारीहरू तनावमा थिए,’ ओ’कनल बताउँछिन् । दीर्घकालीन अभावः ईभी, एआई र सौर्य ऊर्जा सिल्भर इन्सिच्युटको वल्र्ड सिल्भर सर्भे २०२५ ले देखाउँछ कि पछिल्लो दशकदेखि चाँदी खानी उत्पादन घट्दो क्रममा छ विशेषगरी मध्य र दक्षिण अमेरिका क्षेत्रमा । ओ’कनलका अनुसार गत १२ महिनामा अतिरिक्त आपूर्ति हुनुपर्नेमा उल्टिएर अभाव बनेको छ । विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोग, कृत्रिम बौद्धिकता (एआई) र फोटोभोल्टाइक (सौर्य प्यानल) ले चाँदी अभाव भएको हो । सिम्सका अनुसार सामान्य ईभीमा २५ ग्राम चाँदी हुन्छ, ठूला ईभीमा ५० ग्रामसम्म । तर यदि ‘सोलिड–स्टेट सिल्भर ब्याट्री’ आए, एउटा ईभीलाई १ किलो वा अझ बढी चाँदी चाहिन सक्छ । चाँदीको ताप प्रशोधन क्षमता र विद्युत् सञ्चार क्षमता अन्य धातुभन्दा धेरै उच्च छ । ईभी, एआई र नवीकरणीय ऊर्जाको माग बढेसँगै चाँदीको मूल्य दीर्घकालीन रूपमा अझै चम्किने देखिन्छ । सिम्स भन्छन्, ‘चाँदी बहुमूल्य र औद्योगिक धातु दुवैको गुण भएका कारण यसको उपयोगिता बढ्दैछ, ब्याट्री, सौर्य प्यानल, प्रविधि सबैतिर यसको माग बढिरहेकै छ ।’ (सीएनबीसीबाट अनूदित तथा सम्पादित)