एयरबस ए-३२० सफ्टवेयर समस्याका कारण विश्वभर उडान अवरुद्ध

काठमाडौं । एयरबसले आफ्नो ए-३२० परिवार अन्तर्गतका करिब ६ हजार विमानमा तत्काल सफ्टवेयर परिवर्तन आवश्यक परेको चेतावनी जारी गरेपछि विश्वभरका एयरलाइन्सहरूले शनिबार थप उडान रद्द तथा ढिलाइको घोषणा गरेका छन् । अक्टोबरमा जेटब्लूको एक उडानमा देखिएको प्राविधिक खराबीको मूल्याङ्कनपछि एयरबसले आफ्ना ग्राहकहरूलाई ‘तत्काल सावधानी अपनाउन’ अनुरोध गरेको थियो । एयरबसका अनुसार ‘तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका महत्त्वपूर्ण डेटा बिगार्ने जोखिम’ देखिएको छ, जसले अहिले सेवामा रहेका ए–३२० परिवारका धेरै विमान प्रभावित हुनसक्ने बताइएको छ । सफ्टवेयर परिवर्तन अधिकांश विमानमा केही घण्टामै सकिने भए पनि लगभग १ हजार विमानमा यो प्रक्रिया हप्तौँ लाग्नसक्ने एक स्रोतले एएफपीलाई जानकारी दिएको छ । एयर फ्रान्सले शनिबार अतिरिक्त कति उडान रद्द हुनेछन् भन्ने गणना भइरहेको बताउँदै प्रभावित यात्रुहरूलाई एसएमएस तथा इमेलमार्फत व्यक्तिगत रूपमा सूचित गरिँदैछ भनेर जनाएको छ । यसले शुक्रबार मात्र ३५ उडान रद्द गरेको थियो । कोलम्बियाली एयरलाइन्स एभियाङ्काले आफ्नो करिब ७० प्रतिशत फ्लीट सफ्टवेयर समस्याबाट प्रभावित रहेको जनाएको छ । युरोपियन युनियन एभियसन सेफ्टी एजेन्सी (इएएसए) ले एयरबसले समस्या सूचित गरेपछि आवश्यक सुरक्षा उपायहरू लागू गर्ने जानकारी दिएको छ ।  ‘यी कदमहरूले उडान तालिकामा केही समय अवरोध ल्याउन सक्छन्, तर यात्रु सुरक्षा नै पहिलो प्राथमिकता हो,’ इएएसएले भनेको छ । उडान नियन्त्रण कम्प्युटर निर्माण गर्ने थेल्स कम्पनीले उपकरणहरू एयरबसका प्राविधिक विशिष्टताअनुसार पूर्ण रूपमा मिल्दो रहेको र इएएसए र एफएएबाट प्रमाणित भएको स्पष्ट पार्दै समस्या परेको सफ्टवेयर आफूअन्तर्गत नपर्ने बताएको छ । एयरबसले सिफारिसका कारण यात्रु तथा ग्राहकलाई परेको असुविधा बापत क्षमायाचना गर्दै व्यावहारिक अवरोध स्वीकार गरेको छ । अक्टोबर ३० मा जेटब्लूद्वारा सञ्चालित ए–३२० विमानमा कम्प्युटर त्रुटि देखिएपछि नियन्त्रण कठिन बनेको र क्यानकुन-नेवार्क मार्गमा उडान गरिरहेकै अवस्थामा विमान अचानक तल झरेको थियो । पाइलटहरूले आपतकालीन रूपमा फ्लोरिडाको टाम्पामा अवतरण गराउनुपरेको थियो । केही यात्रु घाइते भएको स्थानीय अधिकारीहरूको उद्धरण गर्दै अमेरिकी मिडियाले जनाएको छ । जेटब्लूले घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि ए–३२० तथा ए–३२१ मोडेलमा आवश्यक परिवर्तन सुरु गरिसकेको जनाएको छ । अमेरिकन एयरलाइन्सले पनि चेतावनीपछि सफ्टवेयर अद्यावधिक प्रक्रिया अघि बढाएर करिब ३४० प्रभावित विमानमध्ये ‘धेरैजसो’ शनिबारसम्ममा नियमित सेवामा फर्कने अपेक्षासहित ‘धेरै ढिलाइ’ हुने चेतावनी दिएको छ । युनाइटेड एयरलाइन्सले समेत सुरुमा आफू प्रभावित नभएको बताएको भए पनि पछि छवटा विमानमा समस्या देखिएको र केही उडान प्रभावित हुने जानकारी दिएको छ । डेल्टा एयर लाइन्सले आवश्यक अद्यावधिक शनिबार बिहानसम्म पूरा गर्ने जनाएको छ । एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान ढिलाइ, रद्द र पुनःबुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन् । फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो । न् १९८८ देखि उत्पादन हुँदै आएको ए-३२० एयरबसको सबैभन्दा बढी बिक्री हुने विमान हो । सेप्टेम्बरसम्म एयरबसले करिब १२ हजार २५७ विमान बिक्री गरेको छ । यो सङ्ख्या बोइङ ७३७ सँग उस्तै स्तरमा रहेको छ ।

भेनेजुएलाका लक्षित क्षेत्रहरू विरुद्ध छिटै कारबाही हुन्छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जमिनबाट भेनेजुएलामा लागुऔषध तस्करी नेटवर्कहरूलाई लक्षित गर्दै धेरै चाँडै कारबाही शुरु गर्ने चेतावनी दिएका छन् । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्न गरेको कामको लागि धन्यवाद दिए । यो लगभग ८५ प्रतिशत समुद्रबाट रोकिएको उनको भनाइ छ ।  सेप्टेम्बरको शुरुवातदेखि पेन्टागनले क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा कथित लागुऔषध जहाजहरूमा २० भन्दा बढी ज्ञात आक्रमणहरू गरिसकेको छ । जसमा विदेशमा ८० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।   

तेलको मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम

काठमाडौं ।  ‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रहरूले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ ।  अप्रिलदेखि साउदी अरब, रूस, इराक, संयुक्त अरब इमिरेट्स, कुवेत, कजाकिस्तान, अल्जेरिया र ओमानले करिब २.९ लाख ब्यारेल प्रतिदिन उत्पादन बढाउँदै प्रतिस्पर्धी मुलुकहरूसँगको बजार हिस्सेदारी विस्तार गर्ने प्रयास गरेका थिए ।  उत्पादन वृद्धि भएपनि बजारमा आपूर्ति धेरै भएको कारण मूल्यमा केही दबाब परेको थियो । तर, विश्वव्यापी राजनीतिक घटनाक्रमले तेल मूल्यमा ठूलो गिरावट हुनबाट रोक्न मद्दत गरेको विश्लेषकहरूले बताएका छन् । ओपेक प्लस पेट्रोलियम निर्यातक देशहरूको सङ्गठनका सदस्य राष्ट्रहरू र केही गैर–सदस्य तेल उत्पादक देशहरूको समूह हो । यस समूहको मुख्य उद्देश्य विश्व तेल बजारमा स्थिरता ल्याउनु, तेलको आपूर्ति नियन्त्रण गर्नु र मूल्य अस्थिरतालाई न्यून गर्नु हो । समूहले तेल उत्पादन कोटा निर्धारण गरी आपूर्ति बढाउने वा घटाउने निर्णय गर्छ र बजारको मागअनुसार रणनीति बनाउँछ । यसरी, ओपेक प्लस विश्व तेल बजारमा मूल्य र आपूर्ति सन्तुलन कायम राख्ने राजनीतिक–आर्थिक गठबन्धनको रूपमा काम गर्छ । अनपेक्षित घटनाले तेल माग बढायो वर्षको सुरुवातमा अनुमान गर्न नसकिने केही घटनाले तेलको माग बढायो । ती घटनामा १२ दिन चलेको इरान–इजरायल द्वन्द्व, अमेरिकाद्वारा रूसमाथि थपिएको ऊर्जा प्रतिबन्ध र चीनले ठूलो मात्रामा कच्चा तेल भण्डारण गर्नु प्रमुख छन् ।  यी घटनाले ओपेक प्लसले उत्पादन बढाउँदा मूल्यमा पर्ने नकारात्मक प्रभावलाई संतुलनमा राखिदियो । एचएसबीसीकी ऊर्जा विश्लेषक किम फुश्टिएरले भने ,’यी सबै घटना अप्रत्याशित भए तापनि यिनैले ओपेक प्लसको रणनीति सफल बनाउन सहयोग गरे ।’ ट्रम्प प्रशासनको प्रभाव सन् २०२५ मा अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेपछि ओपेक प्लसका निर्णयमा अमेरिकी प्रभाव स्पष्ट देखियो । ट्रम्पले साउदी अरबलाई तेल मूल्य घटाउन उत्पादन वृद्धि गर्न आग्रह गरेका थिए ।  साउदी अरबले अमेरिकासँगको कूटनीतिक सम्बन्ध मजबुत राख्न यसलाई सकारात्मक रूपमा लिएको विश्लेषकहरूले बताएका छन् । यसको बदलामा अमेरिका र साउदीबीच नागरिक आणविक उर्जा सम्बन्धी सहकार्य र उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा पहुँचसम्बन्धी सम्झौता भएको छ ।  २०२६ को पहिलो त्रैमासमा उत्पादन स्थिर राख्ने निर्णय डिसेम्बरमा अन्तिम पटक कोटा वृद्धि गरेपछि ओपेक प्लसले सन् २०२६ को पहिलो त्रैमासमा उत्पादन समायोजन नगर्ने निर्णय गरेको छ । उनीहरूको तर्क अनुसार सो अवधिमा मांग सामान्यतया कमजोर हुने भएकाले उत्पादन स्थिर राख्नु उचित हुन्छ । साथै रूस–युक्रेन युद्धसँग सम्बन्धित वार्ताको अनिश्चितता पनि निर्णायक कारक बनेको छ । यदि तनाव कम भयो भने तेल मूल्यमा रहेको जोखिम घट्न सक्छ, तर तनाव बढेमा अमेरिकी प्रतिबन्धले रूसी तेल उद्योगमाथि थप दबाब पार्नेछ, जसको असर पुनः विश्व बजारमा पर्न सक्नेछ । रासस