ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता
काठमाडौं । दक्षिण कोरियाको एलजी इनर्जी सोलुशन (एलजीईएस) ले अमेरिकी कम्पनी टेस्लालाई ऊर्जा भण्डारण प्रणालीका लागि ब्याट्री आपूर्ति गर्न ४.३ अर्ब डलरको सम्झौता गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । टेस्ला चीनबाट आयातमा निर्भरता कम गर्न खोजिरहेको समयमा यो सम्झौता भएको हो । किनकि अमेरिकी आयातमा लाग्ने भन्सार शुल्कले असर पुर्याएको छ । स्रोतका अनुसार लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्रीहरू एलजीईएसको मिशिगनस्थित अमेरिकी कारखानाबाट आपूर्ति गरिनेछ । एलजीईसले एक विज्ञप्तिमा तीन वर्षको अवधिमा विश्वभर ब्याट्री आपूर्ति गर्न ४.३ अर्ब डलरको सम्झौता गरेको जनाएको थियो, तर ग्राहक को हो भन्ने खुलाइएको थिएन, न त ती ब्याट्रीहरू सवारीसाधनका लागि हो कि ऊर्जा भण्डारण प्रणालीका लागि भनेर । कोरियन कम्पनीले गत साता भनेको थियो कि ऊ कृत्रिम बौद्धिकता (एआई) प्रशिक्षणका लागि आवश्यक शक्तिको मागले बढ्दो डेटा केन्द्रहरूको कारण ब्याट्रीको माग बढ्दै गएको सन्दर्भमा ऊर्जा भण्डारण प्रणालीको बिक्री बढाएर कमजोर विद्युतीय सवारीसाधनको मागलाई सन्तुलनमा ल्याउने प्रयास गर्दैछ । ‘हाम्रो सम्झौताअनुसार गोपनीयताको कारण ग्राहकको पहिचान खुलाउन हामी असमर्थ छौं,’एलजीईएसले रोयटर्सलाई बताएको छ । टेस्लाले भने तत्काल कुनै टिप्पणी गरेको छैन । टेस्लाका प्रमुख वित्तीय अधिकृत वैभव तनेजाले अप्रिलमा भनेका थिए कि अमेरिकी भन्सार शुल्कले टेस्लाको ऊर्जा व्यवसायमा ‘असामान्य असर’ पारेको छ, किनभने कम्पनीले ब्याट्री चीनबाट आयात गर्छ । ‘हामी अब चीनबाहेक अन्य आपूर्तिकर्ताबाट आपूर्ति सुरक्षित गर्ने काममा लागिरहेका छौं, तर यसमा केही समय लाग्नेछ,’ उनले भनेका थिए । यसै साता टेस्लाले सामसुङ इलेक्ट्रोनिक्सको टेक्सासस्थित कारखानाबाट चिप्स किन्न १६.५ अर्ब डलरको अर्को सम्झौता पनि गरेको छ । दक्षिण कोरियाली कम्पनीहरूले अमेरिकी बजारको माग पूरा गर्न अमेरिकामा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन् । दक्षिण कोरियाली सरकारका तीन मन्त्रीस्तरीय अधिकारीहरूले अमेरिकाका वाणिज्य सचिव होवार्ड लुटनिकसँग वाशिङटनमा भेट गरी अगस्ट १ देखि लागू हुने २५ प्रतिशत अमेरिकी आयात भन्सार शुल्क लाग्नु अघि द्विपक्षीय व्यापार सम्झौता टुंग्याउने प्रयास गरेका थिए । अमेरिकामा उत्पादन एलजीईस केही थोरै अमेरिकी कम्पनीहरूमध्ये एक हो जसले ब्याट्री उत्पादन गर्छ । यस ब्याट्री प्रविधिमा चीनका प्रतिस्पर्धीहरू लामो समयदेखि अग्रणी छन्, तर उनीहरूको अमेरिकी बजारमा उपस्थिति कम छ । एलजीईसले यस वर्ष मे महिनाबाट मिशिगन कारखानामा एलएफपी ब्याट्री उत्पादन सुरु गरिसकेको छ । कम्पनीले अमेरिकी बजारमा विद्युतीय सवारीसाधनको माग घट्दो देखेर केही उत्पादन लाइनहरू ऊर्जा भण्डारण प्रणालीतर्फ रूपान्तरण गर्ने योजना बनाइरहेको छ । कम्पनीका अनुसार सम्झौता सन् २०२७ अगस्टदेखि २०३० जुलाईसम्म लागू हुनेछ, जसलाई थप सात वर्षसम्म विस्तार गर्न सकिने विकल्पसमेत राखिएको छ । आपूर्तिको मात्रा पनि ग्राहकसँगको सहमतिमा बढाउन सकिनेछ। सुरुआती लाभ ‘अन्य प्रतिस्पर्धीहरू जस्तै सामसुङ एसडीआई र एसके अन अझै अमेरिकी बजारमा प्रवेश गरिसकेका छैनन्, जसले एलजीईएसलाई पहिलो कम्पनीको लाभ प्रदान गरिरहेको छ,’ सामसुङ सेक्युरिटिजका वरिष्ठ विश्लेषक चो ह्युन–र्युलले भने । ‘अन्यले योजना सार्वजनिक गरे पनि एलजीईस मात्र हाल ठूलो मात्रामा उत्पादन गरिरहेको छ,’उनले थपे । टेस्लाको ऊर्जा भण्डारण तथा उत्पादन व्यवसायले यसको कुल आम्दानीको १० प्रतिशतभन्दा केही बढी हिस्सा ओगटेको छ र सवारी बिक्री घटिरहेको सन्दर्भमा यो टेस्लाको लागि आशालाग्दो क्षेत्र बनेको छ । अमेरिकी सरकारको विद्युतीय सवारी प्रोत्साहन पनि छिट्टै घट्ने तयारीमा छ । ‘भन्सार शुल्क र आपूर्ति सञ्जाल चुनौतीहरूका बाबजुद ऊर्जा व्यवसाय राम्रोसँग बढिरहेको छ,’ टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले गत साता भएको आम्दानी सम्मेलनमा भने, ‘ब्याट्रीको मागको स्तर कति विशाल छ भन्ने धेरैलाई थाहा छैन ।’ टेस्लाले वर्षको अन्त्यसम्ममा आफ्नै पहिलो एलएफपी ब्याट्री उत्पादन केन्द्र अनलाइनमा ल्याउने जनाएको छ, तर नेभाडास्थित त्यो कारखानाले कम्पनीको कुल मागको सानो हिस्सा मात्र पूर्ति गर्ने अनुमान गरिएको छ ।
एनभीडीयाको सेयर मूल्य दोब्बर, माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले अगाडि
काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभीडीयाका सेयरहरूमा तीव्र वृद्धि जारी छ । सोमबार कम्पनीको सेयर झन्डै २ प्रतिशतको वृद्धिसँगै १७६.७७ डलरमा पुगेको छ । यससँगै कम्पनीको मार्केट क्याप (बजार मूल्य) ४.३ ट्रिलियन डलरमा पुगेको छ । यससँगै एनभिडियाको बजार मूल्य विश्वकै दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले बढी भएको छ । अहिले विश्वमा एआई क्रान्तिको सुरुआत भएको छ । जसअनुसार आगामी दिनहरूमा एआईको प्रयोग बढ्दै जाँदा एनभीडीया र अरू चिप बनाउने कम्पनीहरूको सेयर मूल्यमा अझै तीव्रता आउने प्रक्षेपण गरिएको छ । जानकारहरू भन्छन्, ‘आगामी दुई वर्षभित्र एनभिडियाको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्छ ।’ पछिल्ला केही महिनामै कम्पनीका सेयरहरूमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर आसपास थियो भने हाल यो १७५ डलर आसपास पुगिसकेको छ । पछिल्ला १२ महिनामा एनभीडीयाको आम्दानी झन्डै दोब्बर भएको छ । पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानी वार्षिक औसतमा ६९ प्रतिशतले बढेको छ । यदि कम्पनीले आगामी दुई वर्षमा आफ्नो आम्दानी ६० प्रतिशतभन्दा बढीको दरले वृद्धि गर्न सक्यो भने वित्तीय वर्ष २०२७ सम्ममा यसको आम्दानी ३३४ अर्ब डलर पुग्न सक्छ । यदि यस्तो भयो भने कम्पनीको सेयर मूल्यमा समेत उल्लेखनीय वृद्धि हुनेछ ।
इराकमा अत्याधिक गर्मी : १३ प्रान्तमा ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम
काठमाडौं । इराकी मौसम विज्ञान संगठन र भूकम्प विज्ञानले सोमवार १३ प्रान्तमा तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी पुगेको जनाएको छ । बगदाद, वासित, मैसान, धी कार र बसरा प्रान्तमा ५१ डिग्री सेल्सियसको उच्चतम तापक्रम रेकर्ड गरिएको छ भने किर्कुक, सलाहुद्दीन, दियाला, करबला, बाबिल, नजफ, दिवानियाह र मुथन्ना प्रान्तमा ५० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । संगठनले मानिसहरूलाई अत्यधिक गर्मीको समयमा प्रत्यक्ष घामको सम्पर्क र बाहिरी कामबाट बच्न आग्रह गरेको छ । इराकमा नियमित रूपमा गर्मी बढेको छ । जहाँ तापक्रम ५० डिग्री सेल्सियसभन्दा बढी हुन्छ ।