पाकिस्तानी आकाश विदेशी बिमानका लागि खुला
कराची । पाकिस्तानले मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ । पाकिस्तान र भारतबीच उत्पन्न तनाबका कारण पाकिस्तानले भारत समेत सबै मुलुकका गैरसैनिक बिमानको पाकिस्तानी आकाश हुँदै उडानहरुमा प्रतिबन्ध लगाएको थियो । पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए)ले सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरिएको जनाएको छ । सीएएका प्रवक्ताले भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरिएको जानकारी दिए । गत फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र विदेशी बिमानका लागि प्रतिबन्ध लगाएको थियो । पाकिस्तानले केही प्रतिबन्धहरु मार्चमै फिर्ता लिएपनि भारतसँगको तनाब मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन । पाकिस्तानको उक्त कदमका कारण भारतबाट पश्चिमी मुलुकमा हुने उडान प्रभावित भएका थिए । पाकिस्तानबाट पूर्वतर्फ हुने हवाई यात्रामा समेत पाकिस्तानी कदमबाट ठूलो असर परेको थियो । रासस/एएफपी
चीनको जिडिपी वृद्धिदर ६.२ प्रतिशत, तीन दशकमै सबैभन्दा न्यून
बेइजिङ । चीनको आर्थिक वृद्धि चालू आर्थिक वर्षको दोस्रो चौमासिक अवधिमा तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ । चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो । चिनियाँ राष्ट्रिय तथ्याँक ब्यूरोका अनुसार दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६.२ प्रतिशत देखिएको छ जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो । तर सरकारको जिडिपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपी सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत थियो । चिनियाँ अर्थतन्त्रमा निरन्तर गिरावट आएसँगै संयुक्तराज्य अमेरिकासँगको व्यापार वार्तामा चीनको अडान कमजोर हुने संकेत देखिएका छन् । चिनियाँ तथ्याँक ब्यूरोका प्रवक्ता माओ शेङयोङले आर्थिक परिस्थिति चीन र अन्य मुलुकको निकै जटिल अवस्थामा पुगेको जनाउँदै विश्वको आर्थिक वृद्धि नै न्यून भएको र बाह्य अस्थिरता एवं अनिश्चितता बढ्दो छ भने । चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन । चीनको पहिलो छ महिनामा कूल निर्यात केबल शून्य दशमलब १ प्रतिशतले मात्र वृद्धि भएको छ । माओले भने-चीनले अहिल्यै पनि अर्थतन्त्रमा सुधार ल्याउन विभिन्न नीतिगत सुधार गर्न सक्दछ । रासस÷एएफपी
चीनको वैदेशिक व्यापार १४६ खर्ब यूआन, गत वर्षको तुलनामा ३.९ प्रतिशत वृद्धि
बेइजिङ । चालू वर्षमा कूल १४६ खर्ब ७० अर्ब युआन चीनको वैदेशिक व्यापार भएको चिनियाँ भन्सार विभाग (व्यूरो) ले जनाएको छ । विभागले शुक्रबार यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । गत वर्षको सोही अवधिको तुलनामा यो ३.९ प्रतिशतको वृद्धि हो । विश्व व्यापारमा पछिल्लो समय संरक्षणवाद चर्केर गएको र विश्वमा आर्थिक वृद्धि पनि मन्द भएको दवाव चिनियाँ अर्थतन्त्रमा समेत परिरहेका समय चीनले यति राम्रो वैदेशिक व्यापार उपलब्धि हासिल गर्नु सजिलो काम नभएको भन्सार विभागले जनाएको छ । यसबाट चीनको वैदेशिक व्यापारमा व्यापक लचिलोपना भएको र चीनको आर्थिक वृद्धि स्थिर तथा दीर्घकालीन रूपमा राम्रो दिशातिर जाने प्रवृत्तिको परिवर्तन नहुने देखिएको चीनको निष्कर्ष रहेको छ । चालू वर्षको पूर्वार्धमा चीनको वैदेशिक व्यापार समष्टिगत रूपमा स्थिरतासाथ अघि बढ्दै गइरहेको पनि बताइएको छ । वैदेशिक व्यापार वृद्धिको जीवन्त शक्ति रहिरहेको साथै गैर–सरकारी उद्यमको आयात निर्यात वृद्धि दर ११ प्रतिशत भएको र चीनको वैदेशिक व्यापार वृद्धिको मुख्य शक्ति बनेको चीनको ठहर छ । चीनको मध्य तथा पश्चिमी भागको आयात निर्यात वृद्धि दर समस्त चीनको भन्दा उच्च भएको बताइएको छ । त्यस्तै व्यापार साझेदारीमा विविधिकरण देखिएको बताउँदै विभागले चालू वर्षको पूर्वाद्र्धमा चीनबाट अमेरिकालाई गरिने निर्यात नौ प्रतिशतले घटेको भएपनि यूरोपेली संघ, आशियान तथा जापान आदि मुख्य व्यापार साझेदारसँगको निर्यात आयातमा वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । चीनको यूरोपेली संघसँगको कारोबारमा ११.२ प्रतिशतले वृद्धि भएको, आशियान मुलुकसँगको कारोबार मा १०.५ प्रतिशतको वृद्धि भएको र जापानसँग १.७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । चीनको विशेष गरी बीआरआई सम्बद्ध मुलुकसँगको कारोबार वृद्धि दर ९.७ प्रतिशत भएको र वैदेशिक व्यापारको कूल रकमध्ये यो २८.९ प्रतिशत रहेको बताइएको छ । चीनको निर्यातजन्य उत्पादित वस्तुको बनौट अझ अनूकुल भएको पनि विभागले जनाएको छ । समग्रमा विश्व व्यापारमा समस्या देखिएको भन्दै कतिपय मुलुकले संरक्षणवादी नीतिलाई रणनीतिक रूपमा अघिसारेका वेला चीनको वैदेशिक व्यापारको विकासमा सुधार देखिनु सकारात्मक भएको चीनको निष्कर्ष छ । रासस/सिन्ह्वा