एलन मस्कले ३ दिनमै कमाए ५०० अर्ब डलर

काठमाडौं । स्पेसएक्सको सूचीकरण (लिस्टिङ) सँगै विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ रकेटको गतिमा बढिरहेको छ । सोमबार कम्पनीको सेयरमा करिब २० प्रतिशतको वृद्धि भयो । यसबाट मस्कको नेटवर्थमा १६४ अरब डलर बढ्यो ।

ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मस्कको नेटवर्थ अब १.२७ ट्रिलियन डलर पुगिसकेको छ । 

पछिल्ला तीन कारोबार सत्रमा मात्रै उनको नेटवर्थ ५०० अरब डलरभन्दा बढीले बढेको छ ।

मस्क र दोस्रो स्थानमा रहेका ल्यारी पेजको नेटवर्थमा अब ९५० अरब डलरभन्दा बढीको अन्तर रहेको छ । 

स्पेसएक्सको सेयर गत शुक्रबार सेयर बजारमा सूचीकृत भएको थियो। यस कम्पनीमा एलन मस्कको करिब ४२ प्रतिशत हिस्सेदारी छ । 

मस्कका कम्पनीहरू विश्वका शीर्ष १० सबैभन्दा मूल्यवान् कम्पनीहरूको सूचीमा परेका छन् । स्पेसएक्स २.५१९ ट्रिलियन डलरका साथ यस सूचीको छैटौं र टेस्ला १.५४४ ट्रिलियन डलरका साथ दशौं स्थानमा छ ।

को–को छन् शीर्ष १० मा ?

गूगलका सह–संस्थापक (को–फाउन्डर) ल्यारी पेज ३१४ अरब डलरको नेटवर्थका साथ विश्वका धनीहरूको सूचीमा दोस्रो स्थानमा छन् । उनका साझेदार सर्गेई ब्रिन २९२ अरब डलरका साथ तेस्रो, जेफ बेजोस (२६७ अरब डलर) चौथो, ल्यारी एलिसन (२४७ अरब डलर) पाँचौं, माइकल डेल (२१८ अरब डलर) छैटौं, मार्क जुकरबर्ग (२११ अरब डलर) सातौं, जेन्सेन हुवाङ (१७६ अरब डलर) आठौं, बर्नार्ड अर्नाल्ट (१७२ अरब डलर) नवौँ र जिम वाल्टन (१४८ अरब डलर) दसौं स्थानमा छन् ।

भारत तथा एसियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानी यस सूचीको १७औं स्थानमा छन् । सोमबार उनको नेटवर्थमा २१६ मिलियन डलरको वृद्धि भयो । यस वर्ष उनको नेटवर्थ ३१ अरब डलरले बढेको छ । 

त्यस्तै, भारतको सबैभन्दा मूल्यवान् कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी ८७ अरब डलरको नेटवर्थका साथ यस सूचीको २५औं स्थानमा छन् । यस वर्ष उनको नेटवर्थमा २०.७ अरब डलरको गिरावट आएको छ ।

विश्वकै पहिलो ‘ट्रिलियनियर’ मस्क : मिहिनेतको कमाइ कि नीतिगत होल ?
 

Share News