सन् २०२० मा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट आयोजना हुने

दोहा, कतार । कतार एयरवेजले सिएपिए-उड्डयन केन्द्रसँगको सहकार्यमा ५-६ फेब्रुअरी २०२० मा दोहामा सिएपिए कतार एभियशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्ने भएको छ । २०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल सम्मेलन अत्यन्तै सफल रहेको थियो जहाँ ‘दोहा डेक्लेरेशन’ सम्झौता भएको थियो । उक्त घोषणापत्रले अन्तर्राष्ट्रिय हवाई यातायातका लागि लचिलो नियामक संरचना स्थापना गर्न उदारीकरणको सिद्धान्तमा सबैको राजनैतिक प्रतिबद्धताका लागि पहल गर्दछ । उक्त सम्मेलनले उड्डयन, कानुन तथा सरकारी क्षेत्रका ३५ भन्दा धेरै विशेषज्ञ वक्ताहरुबाट सुन्न ३०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई जोड्न सफल रह्यो । कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी अक्बर अल बकरले भने–‘कतार एयरवेज २०२० मा सिएपिए कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्न अत्यन्तै उत्साहित छ । भविष्यको रणनीतिक दिशा एवं हाम्रो यस उद्योगको चालु उदारीकरणको वादविवादलाई बढावा दिने छलफललाई निरन्तरता दिन यस उद्योगका अग्रणी तथा वरिष्ठ निर्णयकर्ताहरुलाई दोहामा स्वागत गर्न प्रतीक्षामा छौँ ।’

प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

काठमाडौं । चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको भ्रमणदलका सदस्य तथा उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन बल पुग्ने विश्वास व्यक्त गरेका छन् । त्यसैगरी, सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गरे । मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाए । उनले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गरेका छन् । उनले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गरे । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताएका छन् । यसैगरी, मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गरेका छन् । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पुर्याएको बताए । उनले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताएको सल्लाहकार केसीले जानकारी दिए । सो अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाली नागरिक राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पुर्याउन नेता सङलाई आग्रह गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुगेका हुन् । रासस

सीडीबीद्वारा अफ्रिकी परियोजनाका लागि ३ अर्ब २० करोड डलर ऋण स्वीकृत

बेइजिङ । चिनियाँ विकास बैंक(सीडीबी) ले अफ्रिकाका ४० वटा वित्तीय संस्थाहरुलाई तीन अर्ब २० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन सहमत भएको छ । सीडीबीसँग चीन–अफ्रिका अन्तर बैंक संघ (काइबा)सँग आबद्ध १० वटा सदस्य बैंक रहेका छन् । यी बैंक मार्फत अफ्रिकामा पूर्वाधार, साना तथा मझौला उद्यम र अन्य क्षेत्रका १६ वटा परियोजनाका लागि एक अर्ब ८० करोड डलरका कार्यक्रम स्वीकृत गरिएको छ । सीडीबीको अग्रसरतामा सन् २०१८ को सेप्टेम्बरमा काइबा स्थापना गरिएको थियो । काइबामा सीडीबी र १६ वटा अफ्रिकी वित्तीय संस्थाहरु सदस्य रहेका छन् । रासस/सिन्ह्वा