चोभारमा एनआरएनको वृक्षारोपण

काठमाडौं, ६ असार । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले चोभार डाँडामा वृक्षा रोपण गरेको छ । संघले विगत केहि वर्षदेखि नै चोभार क्षेत्रमा वृक्षारोपण गर्दै आएको थियो । सोही कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३ का दिन नेपाल जापान दौत्य सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठलाई समेत अवसर पारेर पुनः वृक्षारोपण कार्यक्रम गरेको हो । गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसीले सरकार र नीजि क्षेत्रसँग सहकार्य गरेर एनआरएनले नेपालको विकासमा सघाउने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गृह मन्त्री शक्ति बस्नेतले समग्र क्षेत्रको विकासमा गैरआवासीय नेपालीहरुका साथै आवासीय नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्न आग्रह गरेका थिए । नेपालका लागि जापानी राजदूत महामहिम मासाशी ओगावाले जापानले नेपाललाई जहिले सहयोग गर्दै आएको बताएका थिए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मुलुकको राजनीतिक अवस्थालाई स्थिर बनाई नेपालको समग्र क्षेत्रको विकास गरी मुलुकलाई आर्थिक समृद्धि तर्फ द्रुत गतिले अघि बढाउन आग्रह गरेका थिए ।

लगानी गर्न अमेरिकाका ३२२ उद्योगले पाए स्वीकृति, करिब ७ अर्ब ३३ करोड बराबरको लगानी गर्ने

काठमाडौं, ५ असार । संयुक्त राज्य अमेरिकाका ३२२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा रु सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १४८ उद्योगको रु दुई अर्ब ६९ करोड ७० लाख, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको रु दुई अर्ब १० करोड ३० लाख, पर्यटन क्षेत्रमा ८० उद्योगको रु एक अर्ब दुई करोड १० लाख लगानी रहेको छ । त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको रु एक अर्ब २८ करोड ७० लाख, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको रु २१ करोड २० लाख र निर्माण क्षेत्रमा एक उद्योगको रु एक करोड लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताउनुभयो । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ । नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा तीन हजार ५७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ । रासस

इन्डोनेसिया र दक्षिण कोरियाबीच १८ अर्ब अमेरिकी डलरको व्यापारिक सम्झौता

जकार्ता, ३ जेठ । इन्डोनेसिया र दक्षिण कोरियाले सोमबार १८ अर्ब अमेरिकी डलर बराबरको ब्यापारिक सम्झौता गरेका छन् । आइतबार सोल पुगेका इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोको तीन दिने सोल भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । सम्झौतापछि विभिन्न छ दक्षिण कोरियाली कम्पनीले इन्डोनेसियामा लगानी गर्नेबाटो खुलाभएको छ भने अन्य दुई अर्ब अमेरिकी डलर बराबरको ब्यवसायिक कारोबार दुई एशियाली मुलुकका अन्य दुई छुट्टै कम्पनीले गर्न पाउने भएको दुवै देशका सचिवले सोमबार हस्ताक्षर गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपति विडोडोको भ्रमणको क्रममा भएको ब्यापारिक सम्झौतापछि दक्षिण कोरियालाई इन्डोनेसियामा लनानी गर्ने वाताबरण भएको विश्वास दिलाएको छ, इन्डोनेसियाली उद्योग वाणिज्य संघका अध्यक्ष फ्रान्की सिवारानीले वक्तब्यमा बताएका छन् । संघको तथ्याङ्क अनुसार दक्षिण कोरियाली कम्पनीले सन् २०१५ मा विभिन्न दुई हजार ३०० लगानी योजना मार्फत करिब १अर्ब २१ करोड अमेरिकी डलर बराबरको लगानी इन्डोनेसियामा भित्राएको बताएको छ । कोरिया इन्डोनेसियामा गर्ने सबैभन्दा धेरै लगानीे गर्ने बिदेशी मुलुक हो । राष्ट्रपतिकासाथ इन्डोनेसिया पुगेको प्रतिनिधिमण्डल कोरियापछि लगानी आकर्षण गर्ने उद्देश्यकासाथ सिधै रसिया जाने कार्यक्रम छ । इन्डोनेसियाले बिदेशी लगानीलाई प्रोत्साहन गर्दैै मुलुकको वर्तमान अर्थतन्त्रमा यसै बर्षभित्र ५।३ प्रतिशतले बृद्धि गर्ने लक्ष्य लिएको छ । रासस