प्लास्टिकबाट इँटा ! आइभरीकोस्टमा कारखाना स्थापना
काठमाडौँ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले प्लास्टिकजन्य फोहोरबाट इँटा बनाउने उद्देश्यले पश्चिम अफ्रिकी मुलुक आइभरीकोस्टमा कारखाना स्थापना गर्ने भएको छ । बालकोषका प्रवक्ताले निजी क्षेत्रको सहकार्यमा स्थापना गरिने कारखानाकाबाट उत्पादित इँटा स्कुल निर्माण प्रयोग गरिने जानकारी दिए । प्लास्टिकबाट उत्पादित यी इँटा निकै टिकाउ र न्यून लागतमा उत्पादन हुने बताइएको छ । राष्ट्रसंघका उपप्रवक्ता फरहान हकले आइभरीकोस्टमा बालबालिकाका लागि १५ हजार कक्षाकोठाको अभाव रहेको बताउँदै नयाँ योजनाले विद्यार्थीलाई पठनपाठनका लागि सहज वातावरण निर्माण हुने विश्वास व्यक्त गरे । उनले भने–यो नवीन साझेदारीबाट आगामी दुई वर्षभित्रै २५ हजारभन्दा बढी बालबालिकाका लागि ५०० कक्षाकोठा निर्माण हुनेछन् ।बालकोषका कार्यकारी निर्देशक हेररिता फोरले पनि एक वक्तव्य प्रकाशन गरी अफ्रिकी बालबालिका र समुदायले सामना गर्नु परेका चुनौती ठूला रहेको बताए । बालकोषले कोलम्बियाली सामाजिक संस्था कोन्सेप्टोस प्लास्टिकोससँगको साझेदारीमा आइभरीकोस्टको राजधानी अबिजानमा यो कारखाना स्थापना हुन लागेको जनाएको छ । कारखानाको निर्माण कार्य यसै वर्षको अन्त्यसम्ममा पूरा हुनेछ । बालकोषका अनुसार एक वर्षमा कारखानाबाट ९ हजार ६०० टन प्लास्टिकजन्य फोहोर प्रशोधन हुनेछ । यसअघि नमुनाका रुपमा कोलम्बियामा निर्माण गरिएका प्लास्टिक इँटाबाट गोन्जाभिल्ले, डिभो र टोउमोडीमा नौ वटा कक्षाकोठा बनाइएको छ । नमुना परीक्षणमा प्लास्टिकका इँटाको प्रयोग निकै सफल भएको बालकोषले जनाएको छ । रासस/सिन्ह्वा
अध्यक्ष दाहाल परिवारसहित युएई प्रस्थान, साउन १८ गते स्वदेश फर्कने
काठमाडौं । पारिवारिक भ्रमणका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । अध्यक्ष दाहाल आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । भ्रमण नितान्त पारिवारिक भएकाले कुनै पनि राजनीतिक भेटघाट भने नहुने बताइएको छ । भ्रमण टोलीमा उाकी पत्नी सीता दाहाल, दुई छोरी रेणु र गङ्गा पनि रहेका छन् । अध्यक्ष दाहाल यही साउन १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस
रेनल्टको कारोबारमा कमी, नाफा १ अर्ब १० करोड अमेरिकी डलरमा समेटियो
पेरिस, फ्रान्स । फ्रान्सको प्रसिद्ध कार कम्पनी रेनल्टको कारोबारमा सन् २०१९ को पहिलो छ महिनामा अत्याधिक गिरावट आएको उक्त सवारीसाधन निर्माण कम्पनीले जनाएको छ । रेनल्टले आफ्नो कारोबारमा देखिएको वर्तमान् सङ्कटलाई जापानी कम्पनी निस्सानसँगको सहकार्यका क्रममा गत बर्षदेखि देखिएको विवाद जिम्मेवार रहेको बताएको छ । रेनल्टले शुक्रबार एक विज्ञप्ति जारी गरी कम्पनीको खुद् नाफामा गत बर्षको तुलनमा झण्डै आधा रकमको गिरावट देखिएको बताएको छ । विज्ञप्ति अनुसार रेनल्टको यस बर्षको जनवरीदेखि जुनसम्मको खुद नाफा एक अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ । जबकि सन् २०१८ को सोही अवधिमा उक्त कम्पनीको नाफा एक अर्ब ९५ करोड २० लाख अमेरिकी डलर रहेको थियो । “आम्दानीमा निस्सानको योगदानका कारण व्यापक गिरावट आएको छ,” फ्रान्सेली सवारीसाधन निर्माण कम्पनीले भनेको छ । जापानी कम्पनी निस्सानमा रेनल्टको ४३ प्रतिशत शेयर रहेको छ । निस्सानले चौमासिक नाफामा नाटकीय कमी आएको जनाउँदै यसै हप्ता १२ हजार ५०० रोजगारी कटौतिको घोषणा गरेको थियो । निस्सानले आफ्नो कम्पनीका पूर्व प्रमुखको पक्राउ र निस्सानद्वारा उत्पादित गाडीकोे खस्किएको बजारका कारण भएको कमजोर व्यापार नै कारोबार रकममा आएको गिरावटको कारक भएको जनाएको छ । गत बर्ष फ्रान्सेली कार कम्पनी रेनल्टको नाफामा निस्सानले आठ अर्ब पाँच करोड यूरोको योगदान गरेको जापानी सवारीसाधन निर्माता कम्पनी को दावी छ । रासस÷एएफपी