हुवावे कम्पनीले सार्वजनिक गर्यो आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनीओएस’
डोङगुआन, चीन । चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेले शुक्रबार आफ्नै अपरेटिङ सिस्टम (ओएस) हार्मोनीओएस सार्वजनिक गरेको छ । पछिल्लो समय अमेरिकी प्रतिबन्धका कारण अमेरिकी बजारमा प्रवेश गर्न नपाएको हुवावेले आफ्नै ओएस सार्वजनिक गरेको हो । यसअघि आफ्ना मोबाइल डिभाइसमा एन्ड्रोइड अपरेटिङ सिस्टम चलाइरहेको हुवावेलाई अमेरिकाले एन्ड्रोइड समेत प्रयोग नगर्न दबाब दिइरहेको थियो । एन्ड्रोइडले पनि हुवावेलाई अमेरिकी सरकारको निर्णय भन्दै आफ्नो अपरेटिङ सिस्टम अस्थायी रुपमा मात्र प्रयोग गर्न दिने जानकारी दिइसकेको थियो । विश्व बजारमा हाल एन्ड्रोइड र एप्पलका अपरेटिङ सिस्टम सर्वाधिक प्रचलनमा छन् । विश्वमै सर्वाधिक बिक्री हुने गरेको सामसुङले हाल एन्ड्रोइड सिस्टम चलाइरहेको छ भने आइफोनमा आइओएस प्रयोग भइरहेकोछ । हाल विश्वमा हुवावेका स्मार्टफोन निकै प्रयोगमा छन् । हुवावेका व्यवसाय प्रमुख रिचार्ड यूले डोन्गुआनमा आयोजित पत्रकार सम्मेलनमा हुवावेले “हार्मोनीओएस” बजारमा ल्याएको बताए । रासस/एएफपी
चीनको निकासी सामान्य वृद्धि, आयात निरन्तर घट्दो
बेइजिङ । संयुक्तराज्य अमेरिकासँगको व्यापार तनाब बढे पनि चीनको निकासी गत जुलाईमा प्रक्षेपण गरेभन्दा बढी भएको पछिल्लो सरकारी तथ्याँकमा देखिएको छ । तर, चीनले गर्ने आयात भने निरन्तर घटेको छ । यस वर्षको पहिलो छ महिनामा अमेरिकासँगको व्यापार तनाब तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा भने कमी आएको छ । तर, जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले बढेको छ । ब्लुमबर्ग न्यूजको सर्वेक्षणमा प्रक्षेपण गरिएको भन्दा यो करिब एक प्रतिशत बढी हो । चीनको समग्र अर्थतन्त्रको वृद्धि हाल ६.२ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो । तर चिनियाँ अर्थतन्त्रमा सुधारको सम्भावना अहिल्यै देखिन्न किनभने घट्दो आयातले चीनभित्रै मागमा कमी हुने संकेत देखिएका छन् । गत वर्ष जुलाईको तुलनामा यस वर्षको जुलाईमा आयात ५.६ प्रतिशतले घटेको छ, र यो घट्नेक्रम विगत तीन महिनादेखि जारी छ । चीनको व्यापार बचत जुलाईमा ४५.१ अर्ब अमेरिकी डलरमा झरेको छ, र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुबै मुलुकबीचको व्यापारिक सम्बन्धमा थप तिक्तता आएको छ । अमेरिकी कदमको विरोधमा उत्रिएको चीनले पनि आफ्नो मुद्रा युआनलाई अवमूल्यन गर्नुका साथै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ । जुलाईमा अमेरिकातर्फ चीनको निकासीमा ६.५ प्रतिशतले कमी आएको छ भने आयात पनि १९.१ प्रतिशतले घटेको छ । रासस/एएफपी
भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन
नयाँ दिल्ली । भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उनी ६७ बर्षकी थिइन् । स्वराजको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि मङ्गलबार नै अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पुर्याएका थिए । उनी मङ्गलबार साँझ नौ बजेसम्म टेलिभिजन हेरिरहेकी थिइन् । स्वराजको निधनको खबरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुगेका थिए । भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले मंगलबार दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएकी थिइन् । “प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिएँ ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छिन् । स्वराज सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्रतिष्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन । विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व संघीय मन्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै भारतीय राजनीतिमा एउटा गौरवपूर्ण अध्यायको अन्त्य भएको बताएका छन् । प्रधानमन्त्रीले ट्वीटरमार्फत लेखेको शोक सन्देशमा भनिएको छ, “भारतीय राजनीतिमा एउटा गौरबपूर्ण अध्यायको अन्त्य भएको छ । भारतले उहाँको सार्वजनिक सेवा र खासगरी गरीब भारतीयको जीवनलाई सही मार्ग दिनका लागि गरेको अद्भुत समर्पणका लागि भारतले उहाँलाई सधैँ सम्झिरहनेछ । उहाँ करौडौँ जनताका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।” रासस/एएनआई