जम्मु काश्मिरका ५० हजार युवालाई रोजगारीको घोषणा
श्रीनगर भारत । भारतले केन्द्रीय सरकार मातहत ल्याएको घोषणा गरेको जम्मु काश्मिर राज्यमा ५० हजार युवालाई रोजगारी दिने घोषणा गरेको छ । राज्यपाल सत्यपाल मलिकले बुधबार युवाहरुलाई रोजगारी दिने घोषणा गरेका हुन् । उनले आगामी दुईदेखि तीन महिनाभित्रमा ती सबै युवालाई रोजगारी दिइसक्ने पनि स्पष्ट पारे । “हामी आज घोषणा गर्न चाहन्छौँ की, जम्मु काश्मिर प्रशासनिक क्षेत्रका ५० हजार युवालाई रोजगारी दिनेछौँ,” उनले भने । उनले सवै युवाहरुलाई यो अवसरको उपयोग गर्न आग्रह गर्दै पूर्णशक्ति परिचालित हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा मलिकले भने,“आउदो दुईदेखि तीन महीनामा यी सबै पदमा पदपूर्ति गर्नेछौँ ।” रासस/एएनआई
बेलायतको संसद् अक्टोबर १४ सम्मलाई निलम्बित, महारानीको सम्बोधनलाई भने असर नपर्ने
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो अक्टोबर १४ तारिखसम्मका लागि बुधबार संसद् निलम्बनको घोषणा गरेका छन् । निलम्वनको घोषणालाई अनुमोदन गर्न निलम्बनसम्बन्धी प्रस्ताव उनले महारानी एलिजावेथसमक्ष पेश गरेको अधिकारीले जनाएका छन् । बेलायतमा प्रधानमन्त्रीको हरेक निर्णयलाई महारानीले अनुमोदन गर्ने भएकाले प्रधानमन्त्रीको घोषणा नै अन्तिम निर्णय मानिन्छ ।निलम्बनले आगामी अक्टोबर ३१ तारिखमा बिना कुनै सम्झौता बेलायत इयुबाट बाहिरिने प्रक्रिया रोक्नका लागि आवश्यक कानून पारित गर्न सांसदहरूसँग समय अभाव हुने भएको छ । “यो निलम्वन हामीले अक्टोबर १४ सम्मका लागि कायम गर्न लागेका छौँ”, जोहनसनले पत्रकारसँग भने । उनले ब्रेजिक्टका बारेमा छलफल गर्न दुवै पक्षका सांसदहरुलाई पर्याप्त समय पुग्ने दाबी पनि गरे । निलम्वनका कारण प्रधानमन्त्री जोनसनको सरकारको नीति तथा कार्यक्रम घोषणा गर्न संसद्मा हुने महारानीको सम्बोधनलाई भने असर नपर्ने जनाइएको छ । निलम्बनको प्रस्ताव विवादमा परेको छ । कतिपय सांसदहरुले यसको विपक्षमा आवाज उठाएका छन् । सामान्यतया संसद्को नयाँ सत्र शुरु हुनुअघि केही समयका लागि मात्र संसद् स्थगन हुने गरेकामा यसपटक फरक अवस्थामा संसद् निलम्वन गरिएको हो । रासस/एएफपी
भारतको चण्डीगढ विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीसँग शैक्षिक परामर्श गर्ने
काठमाडौं । भारतको चर्चित चण्डीगढ विश्वविद्यालयले नेपाली विद्यार्थीलाई लक्षित गरी ४ दिने शैक्षिक परामर्श अभियान गर्ने भएको छ । विश्व विद्यालयको नेपालमा रहेको भर्ना केन्द्र काठमाडौंको एआईपी एडुसकेशनमा हुने अभियान आगामी अगस्त २७ देखि ३० गतेसम्म चल्नेछ । अभियान अन्तर्गत प्रत्येक दिन विहान १० बजे देखि साँझ ६ बजेसम्म विश्वविद्यालयले दिने छात्रवृत्ति, विद्यार्थी जीवन, रोजगारीको अवसर, पूर्व विद्यार्थी मञ्च लगायतका विषयमा जानकारी उपलब्ध गराइनेछ । अभियानमा विश्वविद्यालयका प्रतिनिधिसँग फेसबुकबाट प्रत्यक्ष सवालजवाफ, विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष परामर्श, तत्काल योग्यता परीक्षा र भर्ना तथा विश्वविद्यालयका नेपालमा रहेका पूर्व विद्यार्थीसँग संवादको अवसर पनि प्राप्त हुनेछ । चण्डीगढ विश्वविद्यालयमा ५ सय भन्दा बढी नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । विश्वविद्यालयस्तरीय शिक्षा र असंख्य राजगारीका अवसरका लागि चण्डीगढ विश्वविद्यालय परिचित छ । भारतमा ख्याति कमाइरहेको यो विश्वविद्यालयमा विश्वका ४० देशका विद्यार्थी अध्ययन गर्छन् । विश्वविद्यालय १ सय एकर भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग पनि सहकार्य गरेको छ ।