अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्ने चिनियाँ बाँदरको भविष्यवाणी

चीन, २१ कात्तिक । चीनको भविष्यवक्ताको राजा भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एउटा पर्यटकीय पार्क प्रशासनद्वारा जनाइएको छ । गेडा नामक उक्त बाँदरलाई यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनि सोधिएको थियो र यस प्रसङ्गमा यसले दिएको भविष्यवाणी नै सही ठहरिएको थियो । गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भएको बताइए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्व कप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो । पहेँलो सर्टमा सिङ्गारिएको उक्त भविष्यवक्ता बानरराजलाई दुई वटा केराका टुक्राहरूलाई अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो र उक्त बादरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो । बाँदरले निर्णय दिनुभन्दा पहिले केहीबेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको, सियाङ हु इकोलोजिकल टुरिजम पार्कले बिहीबार आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एएफपी

अस्ट्रेलियाली अपराध बढेको छैन तर कैदीको संख्या ७० प्रतिशतले वृद्धि

मेलबोर्न, १८ कात्तिक । भिक्टोरियाको देश भनी परिचित अस्ट्रेलियाका कारागारमा कैदी, बन्दीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका दश वर्षको तुलनामा अपराधसङ्ख्या खासै नबढे तापनि कैदीको सङ्ख्या भने ७० प्रतिशतले बढेको छ । ज्यानमारेको अभियोग र गम्भीर आपराधिक प्रकृतिका मुद्दामा धेरैजसो न्यायालयले धरौटी वा जमानत स्वीकार नगर्ने परिपाटीले गर्दा यहाँका कारागार भरिभराउ भएका जनाइएको छ । सन् २००६ मा देशभरका कूल कैदी, बन्दीसङ्ख्या तीन हजार ९०८ थियो भने सन् २०१५ मा योे सङ्ख्या छ हजार ५२० पुग्यो । तर, न्यायिक हिरासतमा लिइएका अभियुक्तको सङ्ख्यामा भने १५४ प्रतिशतले ह्वात्तै वृद्धि हुन पुगेको तर यस समयावधिमा भएको अपराध दर भने मुस्किलले चार प्रतिशतले मात्र बढेको “सेन्टेन्सिङ्ग एड्भाइजरि काउन्सिल”द्वारा गरिएको अनुसन्धानमूलक प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१३ मा एड्रियन बेले नामक एकजना सुरक्षाकर्मीद्वारा जिल मिगर नामकी २९ वर्षीय एउटी महिलाको बलात्कार पश्चात् हत्या भएको थियो । अभियुक्त एड्रियनलाई हाजिरी जमानी ९सुरक्षाकर्मीको भाषामा “प्यारोल”०मा छाडिएकोमा अदालतले बोलाएका बखत त्यो व्यक्ति भागेको वा अदालतमा उपस्थित नभएको कारण भविस्यमा अरु अभियुक्तले पनि राज्यको आदेश उल्लङ्घन गर्ने आँट गर्न सक्छन् भन्ने अभिप्रायले सोही वर्ष भिक्टोरियाली सरकारले गम्भीर आपराधिक प्रकृतिको मुद्दामा धन जमानी, हाजिर जमानी, व्यक्ति जमानीजस्ता कुनै पनि जमानतमा अभियुक्तलाई छाड्न नमिल्ने कडा ऐन, कानून पारित गरेको थियो । मिगर हत्याकाण्ड पश्चात् आफू अप्ठ्यारोमा पर्न नचाहेका कारण अदालतले सुरक्षित विकल्प चयन गरी जमानत इन्कार गर्ने परिपाटीले गर्दा न्यायिक हिरासतमा लिइने अभियुक्तको सङ्ख्यामा भने भारी वृद्धि भएको भनी स्थानीय फेयरफ्याक्स सञ्चारमाध्यमलाई सेन्टेन्सिङ्ग एड्भाइजरी काउन्सिलका अध्यक्ष एरी फ्रिबर्गले दिएको अभिव्यक्ति विहीबार प्रकाशित भएको छ । यसरी कैद वा न्यायिक हिरासतमा रहने कैदी, बन्दी वा अभियुक्तलाई पाल्नु पर्दा गरिने प्रतिव्यक्ति दैनिक खर्च पनि अस्ट्रेलियाली सरकारलाई निकै महँगो पर्न गएको छ । प्रतिव्यक्ति औसत दैनिक राष्ट्रिय खर्च १७१ अस्ट्रेलियाली डलर रहेको तुलनामा उनीको हकमा प्रतिव्यक्ति दैनिक औसत २२७ अस्ट्रेलियाली डलर खर्च भएको जनाइएको छ । अस्ट्रेलियामा अदालतले मुद्दाको अन्तिम फैसला गर्नुपूर्व एउटा अभियुक्तले औसत सात महिना जति न्यायिक हिरासतमा बस्नुपर्छ भन्ने तथ्य सो एड्भाइजरी काउन्सिलको प्रतिवेदनले उल्लेख गरेको छ । रासस/सिन्ह्वा

चर्काे हाेहल्लाले विरामीलार्इ असर गरेपछि न्युयोर्ककाे अस्पतालमा राजनीतिक बहसमा प्रतिबन्द

न्युयोर्क, १९ कात्तिक । न्युयोर्कको लङग आइल्यान्डमा अवस्थित साउथ ह्याम्पटन अस्पतालले आफ्नो कार्डियो रिह्याब युनिटको सभाकक्ष (जिम हल) मा निर्वाचन सम्बन्धी राजनीतिक बहस गर्न रोक लगाएको छ । अस्पतालमा उपचार गरिरहेका बिरामीहरुको स्वास्थस्थितिलाई ध्यानमा राखी उक्त निर्णय गरिएको अस्पतालकी प्रबन्धक जेसिका स्वाटोचाले जानकारी दिइन् । पहिला पहिला राष्ट्रपतीय निर्वाचनमा खासै रुची प्रकट नगर्ने अमेरिकी जनताहरु यस पटक भने मतदानको मिति नजिकिँदै आइरहेका अन्तिम दिनहरुमा अधिकांश कर्मचारी, व्यवसायी र आमजनताबीच जहाँतहीँ तीव्ररुपमा निर्वाचन सम्बन्धि चर्चा, परिचर्चा, बहस, होहल्ला हुँदै आइरहेको छ । सदैव स्थिर र शान्त वातावरण कायम रहनु पर्ने अस्पताल क्षेत्रमा सम्भाव्य बहस र होहल्लाले अपरेसन गरिएका मुटुका रोगीको उपचारमा बाधा पुग्ने हुँदा यसलाई रोक्ने प्रयोजनले निषेधको सूचना टाँसिएको भनी साउथ ह्याम्पटन अस्पताल प्रशासनले जनाएको छ । निर्वाचनको चर्चा र स्वतन्त्र बहसको विपक्षमा आफू नरहेको, राजनीतिक छलफल चल्नु आफैँमा नराम्रो नभए तापनि सौम्य बहस र छलफल चल्दाचल्दै मानिस एकाएक गम्भीर भै आवेश, उत्तेजना बढ्न सक्ने बताइएको छ । यसले उग्ररुप समेत लिनसक्ने भएकाले अस्पताललाई त्यस्तो होहल्ला र अशान्तिबाट मुक्त राख्न सो निर्णय गरिएको प्रबन्धक जेसिकाले जनाइन् । रासस/एपी