चीनको सन् २०१७ को रक्षा बजेटमा सात प्रतिशतले बृद्धि हुने

बेइजिङ । चीनको रक्षा बजेटमा सन् २०१७ का लागि करिब सात प्रतिशतले वृद्धि हुने भएको छ । सो समाचार चिनियाँ सरकारी निकायले सोमबार सार्वजनिक गरेका छन् । चीनको सन् २०१६ को रक्षासम्बन्धी वास्तविक बजेटमा सन् २०१७ को बजेटमा वृद्धि हुने कुरा यसअघि नै सार्वजनिक गरिएको थियो । सो सार्वजनिक तथ्यबमोजिम यहाँको सरकारले रक्षा बजेटमा वृद्धि गर्ने जनाएको छ । सो जानकारीअनुसार यस वर्षको रक्षा बजेटमा कम्तीमा पनि सात प्रतिशतले वृद्धि हुने निश्चित भएको जनाइएको हो । सो बजेट सन् २०१७ का लागि करिब एक खर्ब चार अर्ब चिनियाँ युआन हुने पनि चिनियाँ सरकारले सार्वजनिक गरेको छ । चिनियाँ अर्थ मन्त्रालयले सोमबार सो जानकारी दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । सो मन्त्रालयले विभिन्न शीर्षकमा सन् २०१७ का लागि पनि बजेट सार्वजनिक गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय बैठक सुरु भएको छ । यसै समयमा चीनको रक्षा बजेटका बारेमा चर्चा भएकोले अर्थ मन्त्रालयले सो बजेट सार्वजनिक गरेको हो । रासस÷सिन्ह्वा

मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा

मलेसिया । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ । “उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उहाँको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ । उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजू जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो । तर मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ । बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो । रासस/एएफपी/सिन्ह्वा

हङ्गेरीले एघार अर्ब २० करोड ऋण दिने, ब्याजदर एक प्रतिशत भन्दा कम

काठमाडौं । हङ्गेरीले नेपालमा जलविद्युत् उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशत भन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँगको भेटका क्रममा सो जानकारी दिएको हो । राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औंँ सत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा महत र हङ्गेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो । सो वार्ताका क्रममा मन्त्री सिजार्तोले हङ्गेरी सरकारले प्रत्येक वर्ष दश नेपाली विद्यार्थीलाई हङ्गेरीका विश्व विद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय समेत गरेको जानकारी दिए । उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्तोले नेपालले दिएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री डा महतले मङ्गलबार नै राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँं सत्रलाई सम्बोधन गरेका थिए । बुधबार राष्ट्रसङ्घीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषद्मा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्ने छन्। नेपालले सन् २०१८ देखि सन् २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । रासस