गरिबलाई दिने अनुदानमा भाजपा र काँग्रेसबीच हाेडबाजी, माेदीले ६ हजार दिने, गान्धीले ७२ हजार
नयाँदिल्ली। गरिब जनतालाई कसले बढी अनुदान वितरण गर्ने विषयमा भारतका प्रमुख दलहरूबीच हाेडबाजी चलेकाे छ । निर्वाचनकाे पूर्वसन्धामा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् । नरेन्द्र मोदीको नेतृत्वमा वर्तमान सरकारले चुनावकाे पूर्वसन्ध्यामा ल्याएकाे बजेटमा करिब १२ करोड ‘गरिब तथा निम्न वर्गीय’ किसानलाई प्रति परिवार बार्षिक छ हजार भारतीय रूपैयाँ दिने घाेषणा गरिएकाे थियाे । त्यसकाे लागि सरकारका लागि दश अर्ब ५० करोड अमेरिकी डलरको थप भार परेकाे छ । सरकारी बजेटलाई चुनाैति दिदै सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस अध्यक्ष गान्धीले वार्षिक ७२ हजार अनुदान दिने घाेषणा गरेका हुन् । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए । “गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,” उनले माेदी सरकारकाे अालाेचना गर्दै भने । अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे । “अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ,” उनलेे भने । यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् । यस कार्यक्रमले काँग्रेसकाे भाेट निकै बढाउने अनुमान गरिएकाे छ । एजेन्सी
श्रीलंकामा रिफाइनरीका लागि चार अर्ब भित्रियो, इतिहासमै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी
हमबनटोटा, श्रीलंका । श्रीलंकामा करिब चार अर्ब अमेरिकी डलरको प्रत्यक्ष बैदेशिक लगानीमा एउटा इन्धन प्रशोधन कारखाना (रिफाइनरी) निर्माण गरिने भएको छ । चीनको आर्थिक सहयोगमा निर्माण भएको विवादास्पद हमबनटोटा बन्दरगाह नजिकै उक्त रिफाइनरी स्थापना हुन लागेको हो । श्रीलंकाली अधिकारीहरुले रिफाइनरीको स्थापनाले हमबनटोटा बन्दरगाह र यस वरपर आर्थिक चहलपहल बढ्ने अपेक्षा गरेका छन् । चिनियाँ ऋण सहयोगमा निर्मित हमबनटोटा बन्दरगाहको सञ्चालनमा श्रीलंकामा वित्तीय विवाद उत्पन्न भएपछि उक्त बन्दरगाह ९९ वर्षका लागि चीनलाई नै लिजमा दिइएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले रिफाइनरी प्लान्ट निर्माणको शिलान्यास गर्दै हमबनटोटा क्षेत्र विश्वकै लागि लगानीको महत्वपूर्ण केन्द्र हुन सक्ने विश्वास व्यक्त गरे । श्रीलंकाको इतिहासमै यो सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो । यो कम्पनी ओमान सरकार र सिंगापुरमा दर्ता भएको सिल्भर पार्क इन्टरनेसनलले संयुक्त प्रबद्र्धन हो । यस कम्पनीको स्वामित्व भारतीय परिवारमा रहेको बताइन्छ । शिलान्यास समारोहमा प्रधानमन्त्री विक्रमासिङ्घेले भने, “ओमान सरकारले देखाएको अभिरुचि तथा विश्वका अरु भागका धेरै लगानीकर्ताले देखाएको रुचिले हमबनटोटा एउटा अन्तर्राष्ट्रिय लगानीको महत्वपूर्ण क्षेत्रका रुपमा स्थापित हुने सम्भावना बढाएको छ ।” सो अवसरमा उनले तीन महिनाभित्रै भारतीय उड्डयन निकायसँग एउटा सम्झौता हुन लागेको पनि जानकारी दिए । उक्त सम्झौता बमोजिम करिब २१ करोड अमेरिकी डलरको भारतीय लगानीमा हमबनटोटा विमानस्थलको पुनर्निर्माण हुन लागेको छ । यस विमानस्थलमा हाल अति झिनो संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । बन्दरगाह नजिक तेल भण्डारण ट्याँकर दुई वर्षभित्रै निर्माण भइसक्ने छ भने रिफाइनरीको निर्माण सन् २०२३ भित्रै सम्पन्न हुनेछ । श्रीलंकाको दोस्रो यो रिफाइनरी पूर्ण सञ्चालनमा आएमा वार्षिक करिब ९० लाख टन प्रशोधित पेट्रोलियम पदार्थ निकासी गर्न सकिने छ । श्रीलंकामा आफ्नै तेलकुवा छैनन् । श्रीलंकामा अन्यत्रबाट कच्चा तेल ल्याइन्छ, तर अहिलेको रिफाइनरी मुलुकको आवश्यकता धान्न अपर्याप्त छ । रासस/एएफपी
सिल्क रोडमा जोडियो इटाली, अमेरिका र युरोपलाई धक्का
रोम । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने इटालीको निर्णयले संयुक्त राज्य अमेरिका र यूरोपेली संघ (इयू) ले इटाली र चीनलाई हेर्ने दृष्टिकोणमा असहजता ल्याउनसक्ने विश्लेषकहरूले बताएका छन् । किनकि बिआरआई आयोजनामा जोडिने विकशित राष्ट्रहरूको समूह (जी–सेभेन) मध्ये इटाली पहिलो मुलुक भएको छ । इटालीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र इटालीका प्रधानमन्त्री जिउसेफे कोन्टेको उपस्थितिमा उक्त २९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । इटालीका सञ्चारमाध्यमले जनाए अनुसार उक्त सम्झौता चीन र इटालीबीच ‘सिल्क रोड’ का लागि करिक आठ अर्ब अमेरिकी डलर लगानीका लागि भएको छ । सम्झौतापत्रमा चीनको तर्फबाट राष्ट्रिय विकाश आयोगका हे लाइफेङ तथा इटालीका उप–प्रधान तथा आर्थिक विकासमन्त्री लुइगी दि माइओले हस्ताक्षर गरेका छन् । इटालीको आर्थिक दैनिक ‘सेकेण्ड सोल ट्वन्टी फोर ओर’ का अनुसार तत्काल चीनको यूरोप छिर्नका लागि रणनीतिक महत्व राख्ने जिनिओ र त्रियस्ते बन्दरगाहमा लगानीका लागि सम्झौता भएको भएपनि यसलाई २० अर्ब यूरो पु¥याउने लक्ष्यमा सहमति भएको छ । रासस