तलव वृद्धिको माग गर्दै १५ औं पटक हड्ताल गर्दै इंग्ल्याण्डका रेसिडेन्ट चिकित्सक

काठमाडौं । तलव वृद्धिको माग गर्दै पटक–पटक आन्दोलन गर्दै आएका इंग्ल्याण्डका रेसिडेन्स चिकित्सकहरू फेरि आन्दोलित भएका छन् । उनीहरूले अप्रिल महिनादेखि ६ दिने हड्तालको घोषणा गरेका छन् । जुन चिकित्सकहरूको १५ औं विरोधको कार्यक्रम हुनेछ । ब्रिटिस मेडिकल एशोसिएसन (बीएमए) र सरकारबीचको वार्ता निष्कर्षमा नपुगेपछि  चिकित्सकहरूले हड्तालको घोषणा गरेका हुन् ।  बीएमएका अनुसार सरकारले चिकित्सकहरूको तलब वृद्धि र रोजगारीका अवसर (टेर्निङ पोस्ट्स) को अभाव सम्बन्धी मागहरूलाई सम्बोधन नगरेकाले हड्ताल गर्नुपर्ने अवस्था आएको बताएका छन् । सन २०२६ सुरु भएलगत्तै सुरु भएको वार्ता महिनासम्म चलेको थियो । तर दुई महिनासम्म चलेको बैठकमा चिकित्सक र सरकारबीच कुरा नमिलेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । वार्तामा सहमति नभएको बताउँदै चिकित्सकहरूले अप्रिल ७ तारिख बिहान ७ बजेदेखि १३ तारिखसम्म हड्ताल जारी रहने जनाइएको छ ।  चिकित्सक भन्छन्, ‘हामीले हप्तौंदेखि इमानदारीपूर्वक वार्ता गरिरहेका छौं, हामी डाक्टरहरूको तलब अझै कमजोर हुने जोखिम भएको प्रस्ताव डाक्टरहरूसमक्ष राख्न सक्दैनौं । विशेषगरी यस्तो समयमा जब धेरै डाक्टरहरू बेलायत छोडेर अन्य देशतर्फ गइरहेका छन् ।’ सरकारले चिकित्सकहरूलाई यस वर्ष ३.५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको थियो । तर चिकित्सकले यसमा सहमति जनाएनन् । यसबाहेक रेसिडेन्ट चिकित्सकले तिनुपर्ने परीक्षा शुल्क जस्ता शुल्कहरू सरकारले नै तिरिदिने, ट्रर्निङ पोष्ट (रोजगारीका अवसर) संख्या बढाउने, तलबको विभिन्न स्तर (भुक्तानी ब्याण्ड) मा छिटो बढुवा हुने अवसर दिने प्रस्ताव पनि सरकारले गरेको थियो । तर, चिकित्सकले सरकारको यो निर्णयले चिकित्सकलाई झन निराश बनाएको बताएका छन् ।   हाल त्यहाँको रेसिडेन्ट चिकित्सकको वार्षिक तलब ३९ हजार पाउण्डदेखि ७४ हजार पाउण्डसम्म छ ।  आन्दोलनरत चिकित्सकले भने अहिले प्रस्ताव गरिएको व्यवस्था लागू भएमा मुद्रास्फिति बढ्ने भएकाले चिकित्सकको वास्तविक आम्दानी अझै घट्ने खतरा रहेको बताएको छ ।  त्यहाँका अर्थशास्त्रीले पनि इरानमा भएको युद्धका कारण मूल्यवृद्धि बढ्न सक्ने अनुमान गरेका छन् ।  यता बेलायतका स्वास्थ्य सचिव वेस स्ट्रीटिङले बीएमएका अपेक्षाहरू उचित र यथार्थपरक सीमाभन्दा बाहिर रहेको बताएका छन् ।   उनी भन्छन्, ‘बीएमएले यो प्रस्ताव अस्वीकार गर्नु एनएचएसका बिरामी र स्वास्थ्यकर्मीहरूका लागि अत्यन्त निराशाजनक कुरा हो । सरकारले रेसिडेन्ट चिकित्सकको काम गर्ने वातावरण र करिअरको सम्भावना सुधार्ने गरी सम्भव भएसम्म सबै उपाय  प्रयोग गरेर उदार प्रस्ताव अघि सारेको थियो ।’ चिकित्सकहरूको यो हड्ताल यो विवादकै सबैभन्दा लामोमध्ये एक हुनेछ । यसअघि चिकित्सकहरूले एक पटकमात्र ६ दिन लामो हड्ताल गरेका थिए ।  सरकार र चिकित्सकबीच पछिल्लो एक वर्षदेखि कहिले वार्ता हुने, कहिले रोकिने क्रम चलिरहेको छ । स्वास्थ्य सचिव वेस स्ट्रीटिङ पछिल्ला तीन वर्षमा डाक्टरहरूले करिब ३० प्रतिशत जति तलब वृद्धि पाइसकेकाले अब तलबबारे थप छलफल नगर्ने अडानमा छन् । तर बीएमएको तर्क भने फरक छ । उनीहरूको तलब बढेको भए पनि मुद्रास्फीति समायोजन गरेर हेर्दा अहिले रेजिडेन्ट डाक्टरहरूको तलब सन् २००८ को तुलनामा करिब पाँचौं भाग (करिब २० प्रतिशत) कम रहेको बताउँछन् । युनियनले अर्को समस्या पनि उठाएको छ । डाक्टरहरू तेस्रो वर्षको सुरुवातमा विशेषज्ञ तालिममा जाने बेला रोजगारीको अभाव भएको दाबी गरिएको छ । यही चरणमा डाक्टरहरूले आफू कुन क्षेत्रमा विशेषज्ञ बन्ने, जस्तै जनरल प्राक्टिस (जीपी) वा सर्जरी भन्ने छनोट गर्छन् । जहाँ गत गर्मीयाममा करिब ३० हजार जना आवेदकले आवेदन दिएका थिए जबकि उपलब्ध जागिर भने करिब १० हजार मात्र थिए । यद्यपि तीमध्ये केही आवेदन विदेशबाट आएका डाक्टरहरूको पनि थिए । गत वर्षको जुलाईमा चिकित्सकहरूले गरेको पाँच दिने हड्तालमा तीन सय मिलियन पाउण्ड रकम खर्च भएको अनुमान गरिएको थियो । यस्ता हडतालले बजेटमा ठूलो असर पार्ने भन्दै विज्ञहरू भने चिन्तित् बनेका छन् । उनीहरूले आर्थिक वर्ष सुरु हुनेबेलामा चिकित्सकको हड्ताल हुनुलाई निकै खराव सुरुवात भनेका छन् । चिकित्सकहरूले भने हड्ताल हुन नदिन सरकारलाई छिटो कदम चाल्न आग्रह गरेका छन् । यो हड्तालका कारण इंग्ल्याण्डको स्वास्थ्य सेवा प्रणालीमा व्यापक असर पर्ने अनुमान गरिएको छ । अस्पतालका नियमित सेवा, शल्यक्रिया, परीक्षण तथा उपचारमा ढिलाइ हुने जोखिम देखिएको छ । विशेषज्ञहरूका अनुसार यदि विवाद चाँडै समाधान नभए हड्ताल लम्बिन सक्ने र त्यसले बिरामी सेवामा गम्भीर प्रभाव पार्न सक्नेछ ।

जापान र कोरियाको सेकेन्ड ह्यान्ड गाडी बजार थला

काठमाडौं । गत महिना इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वलाई संकटमा धकेलेसँगै जापानस्थित उमर अली हैदर अलीको प्रयोग भइसकेका (सेकेन्ड ह्यान्ड) सवारीसाधन व्यवसायमा पनि वाधा पुर्याएको छ । दुई दशकदेखि जापानमा बस्दै आएका हैदर अलीले आफ्नो जापानबाट दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकातर्फ प्रयोग भइसकेका सवारीसाधन पठाउँदै आएका छन् । जापानका कडा नियमअनुसार नियमित निरीक्षण र मर्मतसम्भार गरिएकाले ती गाडीहरू टिकाउ र तुलनात्मक रूपमा राम्रो अवस्थामा हुने भएकाले अत्यधिक मागमा छन् । युद्ध सुरु भएको केही दिनपछि उनले थाहा पाए कि ५०० भन्दा बढी गाडी बोकेको एउटा जहाज समुद्रमै अड्किएको छ, दुबईबाट मोडिएको कार्गोले बन्दरगाह भरिएपछि जहाज श्रीलंकामा प्रवेश गर्न सकेको थिएन । ‘हामीले श्रीलंकातर्फ पठाइसकेका गाडीहरू समुद्रमै रोकिएजस्तै थिए, किनकि भित्रिने ठाउँ नै थिएन,’  उनले भने ।  उनका अनुसार ती गाडीहरू अन्ततः गत साता हम्बनटोटा बन्दरगाहमा उत्रिए, जुन निर्धारित समयभन्दा १० दिनभन्दा बढी ढिलो हो । हैदर अलीका समस्याले देखाउँछ कि मध्यपूर्वको संकट र होर्मुज जलडमरूमध्य लगभग बन्दजस्तै हुँदा जापान र दक्षिण कोरियाका प्रयोग भइसकेका सवारीसाधन व्यापारीहरू प्रायजसो साना व्यवसायहरू निकै प्रभावित भएका छन्, यिनै साना व्यवसायीहरू मिलेर नै विश्वव्यापी ठूलो उद्योग बन्छ । हैदर अलीका अनुसार बन्दरगाहमा भएको भीडले केही जापानी ढुवानी कम्पनीहरूमा ‘त्रास’ सिर्जना गर्यो, जसका कारण कतिपयले ढुवानी नै रद्द गरे । अरूले कार्गो पाकिस्तान वा चीनतर्फ मोड्ने प्रस्ताव गरे । एउटा कम्पनीले प्रत्येक गाडीमा ५ हजार डलर निक्षेप माग्यो । उनका केही गाडीहरू पुनः जापान फर्किन सक्ने उनले बताए । उनको योकोहामा आधारित कम्पनी ‘कोबे मोटर’ ले वार्षिक करिब १८ हजार गाडी पठाउँछ । उनले विशेषगरी आफ्नो देश श्रीलंकातर्फ बढी गाडी पठाउँछन्, जहाँ साना टोयोटा र होन्डा गाडीहरू लोकप्रिय छन् । हाल उनका करिब ५० वटा प्रयोग भइसकेका लक्जरी गाडीहरू रोल्स–रोयस, ल्याम्बोर्गिनी र फरारी लगायत श्रीलंका र चीनमा उतारिएका छन्, किनकि जहाजहरू दुबई पुग्न सकेनन् ।  हैदर अलीका अनुसार केही ग्राहकका लागि हवाई ढुवानी विकल्प हुन सक्छ, तर यसको अत्यधिक लागतले गर्दा यो केवल धनी वर्गका लागि मात्र सम्भव हुनेछ । गत वर्ष जापान र दक्षिण कोरियाले संयुक्त रूपमा १९ अर्ब डलर बराबरका प्रयोग भइसकेका गाडी निर्यात गरेका थिए, जसमा जापानको हिस्सा आधाभन्दा बढी थियो । व्यापार तथ्यांकअनुसार दक्षिण कोरियाले निर्यात गरेका ८ लाख ८३ हजार गाडीमध्ये एक-तिहाइभन्दा बढी मध्यपूर्वतर्फ गएका थिए । गत वर्ष संयुक्त अरब इमिरेट्स जापानका लागि सबैभन्दा ठूलो गन्तव्य थियो, जहाँ २ लाख २४ हजार गाडी पठाइएका थिए, जुन कुल निर्यातको करिब १५ प्रतिशत रहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्य दुबईमार्फत जाने ढुवानीका लागि महत्त्वपूर्ण संकुचित मार्ग हो । यदि युद्ध लम्बियो भने निर्यातकर्ताहरूले तेल र ढुवानी लागत बढ्ने, मुद्रा उतारचढाव, लिलामी मूल्य घट्ने तथा ढुवानी मार्ग कटौती हुनेजस्ता थप दबाब झेल्नुपर्नेछ । दक्षिण कोरियाबाट ढुवानी रोकिने अवस्था दक्षिण कोरियामा यो द्वन्द्वका कारण प्रयोग भइसकेका गाडी व्यापारीहरूको सबैभन्दा व्यस्त मौसममै ढुवानी रोकिएको छ । सामान्यतया मार्चदेखि सेप्टेम्बरसम्म मध्यपूर्व तथा अन्य क्षेत्रहरूमा यात्रा र निर्माण गतिविधि बढ्ने भएकाले माग उच्च हुन्छ । ढुवानी कम्पनीका अधिकारी काङ ताए-याङले बताएअनुसार इन्चोन बन्दरगाहस्थित सवारी भण्डारण केन्द्रमा गतिविधि निकै घटेको छ । यहाँबाट सामान्यतया करिब ८० प्रतिशत गाडीहरू मध्यपूर्वतर्फ जाने गर्छन् ।  ताए-याङले हाल आफ्ना ७० प्रतिशतभन्दा बढी गाडीहरू भण्डारणमै अड्किएको जानकारी दिए । समुद्रमा रहेका केही जहाजहरूले यात्रा रोकेका छन् वा गन्तव्य परिवर्तन गरेका छन् । इन्चोनमा भण्डारण गरिएका गाडीहरू यातायात अवरोधका कारण चल्न सकेका छैनन् र जहाजमा लोड गरिएका गाडीहरू पनि निर्धारित गन्तव्यमा पुग्न सकेका छैनन् । केही जहाजहरूले होर्मुज जलडमरूमध्यबाट जोगिन मध्यपूर्वका वैकल्पिक स्थान वा अझ टाढाका बन्दरगाहहरूमा कार्गो उतार्ने योजना बनाएका छन् । व्यापारीहरूका अनुसार यस्तो निर्णय प्रायः ढुवानी कम्पनीहरूले गर्ने गरेका छन् र व्यापारीहरू वैकल्पिक उपायबारे छलफलमा छन् । ‘जब युद्ध सुरु हुन्छ, हामीसँग प्रतीक्षा र रोक्ने बाहेक विकल्प हुँदैन,’ प्रयोग भइसकेका गाडी व्यापार कम्पनी अटोमोबाइल इन्टरनेशनलका अध्यक्ष जिन जे–वूङले भने । ह्युन्डाईको एमडी र कियाको केथ्रीजस्ता मोडेलहरू मध्यपूर्वका ग्राहकहरूबीच लोकप्रिय छन् । जिनका अनुसार मूल्य बढ्न सुरु हुने समयमा नै द्वन्द्व सुरु भएको हो । दक्षिण कोरियामा किनिसकेका गाडीहरू भण्डारण गर्न उनको कम्पनीले महिनामा करिब ४ करोड वोन खर्च गरिरहेको उनी बताउँछन् । उनले बजार सुस्त हुँदा गाडीहरू अगावै खरिद गर्ने योजना बनाएका छन् । द्वन्द्व अन्त्य भएपछि माग पुनः बढ्ने अपेक्षा उनको छ । केही निर्यातकर्ताहरू वैकल्पिक बजार खोजिरहेका छन्, तर विकल्प सीमित छन् । ‘तपाईं सजिलै अफ्रिका वा ल्याटिन अमेरिकातर्फ ढुवानी मोड्न सक्नुहुन्न,’ भेन्टस अटोका अध्यक्ष युन सुङ–ह्युनले भने । ती बजारहरूमा थप बिक्री सम्हाल्ने पर्याप्त माग नभएको उनले बताए । उनको कम्पनीले जनवरी अन्त्यतिर पठाएका कन्टेनरहरू मार्चको सुरुवातमै दुबईको जेबेल अली बन्दरगाह पुग्ने योजना थियो, तर अझै ढिलो भइरहेको छ । दक्षिण कोरियाको एचएमएम कम्पनीद्वारा सञ्चालन गरिएका जहाजहरू भारतको पश्चिमी तट नजिक मुम्बई आसपास अड्किएका छन् । तेलको मूल्य बढ्दा ढुवानी शुल्क पनि बढेको उनले बताए । भेन्टस अटोको वार्षिक ६.६ अर्ब वोन आम्दानीमध्ये आधाभन्दा बढी यूएईसँग जोडिएको भएकाले यो अवरोध ठूलो जोखिम बनेको छ । भारतमा २० प्रतिशतसम्म बढ्यो बोतलको मूल्य

एशियाली अर्थतन्त्रको तीव्र विस्तार, विश्वमा प्रभाव बढ्दो : प्रतिवेदन

काठमाडौं । एशिया अझै पनि विश्व आर्थिक वृद्धिको प्रमुख चालकका रूपमा कायम रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । मंगलबार सार्वजनिक गरिएको प्रतिवेदन अनुसार विश्व कुल गार्हस्थ उत्पादनमा एशियाको हिस्सा निरन्तर बढिरहेको छ । ‘एशियाली आर्थिक दृष्टिकोण तथा एकीकरण प्रगति वार्षिक प्रतिवेदन २०२६’ अनुसार सन् २०२६ मा एशियाली अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । विश्व अर्थतन्त्रमा एशियाको हिस्सा २०२५ को ४९.२ प्रतिशतबाट बढेर ४९.७ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । संस्थाका महासचिव झाङ जुनले ‘एशियाली शताब्दी’ सुरु भइसकेको धारणा बलियो बन्दै गएको बताएका छन् । उनले चुनौतीहरू भए पनि एशियाली अर्थतन्त्र लचिलो र सकारात्मक दिशामा रहेको उल्लेख गरे । सन् २००१ मा स्थापना भएको उक्त संस्था एक गैर–सरकारी, गैर–नाफामुखी अन्तर्राष्ट्रिय संस्था हो, जसले क्षेत्रीय आर्थिक एकीकरणलाई प्रोत्साहन गर्छ । यस वर्षको सम्मेलन मार्च २४ देखि २७ सम्म हैनानमा ‘साझा भविष्य निर्माणः नयाँ गतिशीलता, नयाँ अवसर, नयाँ सहकार्य’ नारासहित आयोजना भइरहेको छ । प्रतिवेदन अनुसार एशिया विदेशी लगानीका लागि अझै पनि प्रमुख गन्तव्य बनेको छ, जहाँ चीन र दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको समूह सबैभन्दा आकर्षक केन्द्रका रूपमा देखिएका छन् । प्रविधि क्षेत्रमा पनि एशिया तीव्र रूपमा अगाडि बढिरहेको छ । कृत्रिम बुद्धिमत्ता विकासको केन्द्र क्रमशः युरोप र अमेरिकाबाट एशियातर्फ सर्दै गएको उल्लेख गरिएको छ । ठूलो डिजिटल जनसङ्ख्या, विविध प्रयोग प्रणाली र स्पष्ट नीतिका कारण एशियाली देशहरू यस क्षेत्रमा अग्रणी बन्दै गएका छन् । साथै, दिगो विकासतर्फ एशिया महत्त्वपूर्ण शक्तिका रूपमा उदाउँदै गएको छ । परम्परागत ऊर्जाको ठूलो उपभोक्ता रहँदै आएको एशिया अहिले स्वच्छ तथा हरित ऊर्जाको विकासमा अग्रणी बन्दै गएको प्रतिवेदनले जनाएको छ । क्षेत्रीय व्यापारमा पनि सुधार देखिएको छ । एशियाभित्रकै व्यापार निर्भरता २०२३ मा ५६.३ प्रतिशतबाट बढेर २०२४ मा ५७.२ प्रतिशत पुगेको छ, जसले क्षेत्रीय आर्थिक एकीकरण बलियो बन्दै गएको सङ्केत गर्छ । विशेषज्ञहरूका अनुसार एशिया विश्व सेवा व्यापारको मुख्य चालक बन्ने दिशामा अघि बढिरहेको छ । डिजिटल पूर्वाधारमा लगानी, ठूलो बजारको माग र क्षेत्रीय सहकार्यले यो परिवर्तनलाई गति दिएको हो । रासस