बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा
काठमाडौं । ब्रिटिश उद्यमी तथा चर्चित परफ्यूमर जो मेलोन (सीबीई) ले आफ्ना कठोर बाल्यकाल र ११ वर्षकै उमेरमा परिवारको मुख्य आम्दानीकर्ता बनेको अनुभवले कसरी उद्यमशीलता बीउ रोप्यो भन्नेबारे खुलाएकी छन्। जो मेलोन लन्डन र जो लभ्स जस्ता सफल पर्फ्यूम ब्रान्डकी संस्थापक मेलोन हालै सीएनबीसीको पोडकास्टमा स्टीभ सेजविकसँग सहभागी भएकी थिइन् । सो एपिसोड मंगलबार सार्वजनिक गरिएको थियो । जो मेलोन लन्डन ब्रान्ड सन् १९९९ मा इस्ती लाउडर कम्पनीजले खरिद गरेको थियो, जसबाट मेलोनले करोडौं पाउन्ड बराबरको रकम पाएकी थिइन्, यद्यपि कति पाएकी थिइन् भन्ने सार्वजनिक गरिएको छैन । तर करोडपति बन्नुभन्दा धेरै पहिले मेलोनले बेलायतको केन्टस्थित एक काउन्सिल इस्टेटमा बिताएको बाल्यकाल सम्झिइन्—उनकी आमाले ब्युटी क्षेत्रमा काम गर्थिन् भने उनका बुबा कलाकार मात्र नभई जुवाडे र पोकर खेलाडी पनि थिए । उनले भनिन्, ‘११ वर्षको उमेरदेखि नै म नै घरको ठूलीजस्तै भइसकेकी थिएँ । ‘बिजुली–ग्यासको मीटर रिचार्ज गर्न पैसा छ कि छैन?’ भनेर हेर्ने काम म गर्थेँ । किनकि यदि उहाँ (बुबा) ले सबै पैसा जुवामा हारे हामीसँग खानेकुरा पनि हुँदैनथ्यो।’ मेलोन किशोरावस्थामा पुग्नुअघि नै उनकी आमा मानसिक रूपमा निकै कमजोर भइन् । त्यसका कारण उनले लगभग एक वर्ष स्कुल जानै सकिनन् र आमाबुबा तथा कान्छी बहिनीका लागि घर चलाउने उपाय खोजिरहेकी थिइन् । चतुर मेलोनले आमाले सिकाएका कला प्रयोग गर्दै आमाले बेच्ने फेस क्रिमको नक्कल बनाइन् जसलाई उनले ट्रेन चढेर लन्डन लगेर ४.५० यूरोमा बेच्थिन् । ‘यस्तै गर्थें जसले हाम्रो परिवार एकैसाथ टिकाइरह्यो । बुबा कहिल्यै घरमा हुनुहुँदैनथियो, जहिल्यै हराउनुहुन्थ्यो,’ उनले भनिन् । ‘त्यस्तै कठिन क्षणहरूले नै मलाई बनाएको हो । जे आए पनि म बाँच्ने बाटो फेला पार्थें– कहिले सुरुङ, कहिले सिँढी तर अर्को २० यूरो कसरी कमाउने भनेर सोच्थें,’ उनले थपिन् । शनिबारका दिन उनी बुबाका चित्रहरू बेच्थिन् किनकि घरमा खानेकुरा किन्न पैसा चाहिन्थ्यो र बुबाले सबै पैसा खर्च गर्थे । आइतबार उनी बुबासँग पोकर खेल हेर्न जान्थिन् । आज मेलोन सफल उद्यमीका रूपमा स्थापित छिन् र ती कठिन बाल्यकालका अनुभवलाई उनले आफूलाई कडा, दृढ र उद्यमशील बनाएको समयका रूपमा सम्झिन्छिन् । सुरुवातमा मात्र बाँच्ने संघर्ष ‘म सधैं भन्थेँ— म ठूलो भएपछि यस्तै जीवन जीउँदिनँ, यस्तो परिवार बनाउँदिनँ,’ एक दिनको सम्झना सुनाउँदै उनले भनिन्, ‘मेरो कोठामा कुनै हिटर थिएन । निकै जाडो थियो, झ्यालमा बरफ जमेको थियो । मैले औंलाले त्यो बरफ छेरेर बाहिर हेरिरहेँ र सोचेँ– ‘म आफ्नो भाग्य बदल्नैपर्छ ।’ किशोरी हुँदा उनी साथीहरू जस्तै खेलकुद वा रमाइलो गर्न पाउँदिनथिन् । उनी घरमै कपडा धुने, खाना पकाउने, बहिनीलाई स्कुलबाट ल्याउने काम गर्थिन् । धेरै पछि मात्र उनले बुझिन्—उही आत्मनिर्भरता नै उद्यमशील भावना बन्न पुगेको रहेछ । ‘सुरुमा यो बाँच्नकै लागि थियो,’ उनले भनिन् । फुलबारीमा काम गर्नु, रेस्टुरेन्टमा भाँडा माझ्नु, कुकुर हिँडाउनुजस्ता कामबाट उनको यात्रा सुरु भएको थियो । ‘म कहिल्यै लजाइनँ । जुनसुकै काम गर्नुपरे पनि तयार थिएँ । तर जब मैले पहिलो स्किनकेयर व्यवसाय सुरु गरेँ—त्यही बेला थाहा पाएँ कि ‘अब मेरो जीवन ममै छ,’ र यही नै उद्यमशीलताको जन्म क्षण थियो,’ उनले भनिन् । मेलोन हाल दुबईमा बस्छिन् र यसै वर्ष उनले जो भोड्का नामको लक्जरी स्पिरिट ब्रान्ड सुरु गरेकी छन् । साथै उनी जो लभ्स नामक सुगन्ध व्यवसाय पनि सञ्चालन गर्छिन् । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य
पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव
काठमाडौं । मुम्बईस्थित मेहता समूहका उत्तराधिकारी रजत मेहता बुधबार बिलियनब्रेन्स गराज भेन्चर्स (जीआरओडब्ल्यूडब्ल्यू) को लिस्टिङ समारोहबाट बाहिरिँदा आत्मसन्तुष्ट महसुस गर्दै थिए । २०१६ मा उनले सुरुआती चरणमै करिब १३ लाख डलर मूल्यांकनमा लगानी गरेको जीआरओडब्ल्यूडब्ल्यू अहिले नेशनल स्टक एक्सचेन्जमा ८.६ अर्ब डलर मूल्यमा डेब्यू गर्यो। ३६ वर्षे रजतले गर्वको अनुभूति गरे जब उनका बुबा राकेशक मेहताले भने, ‘अब अर्को जीआरओडब्ल्यूडब्ल्यू खोजेर लगानी गरौं ।’ सलाहकार, वेल्थ म्यानेजमेन्ट र ब्रोकरेज सेवामा आधारित पारिवारिक व्यवसायबाट आएका मेहताहरू परम्परागत रूपमा सूचीकृत कम्पनीमै लगानी गर्न रुचाउँथे । तर २०१३ मा व्यवसायमा प्रवेश गरेपछि युवा रजतले परिवारलाई सूचीबाहिरका सम्पत्ति र स्टार्टअपमा लगानी गर्नतर्फ मोडिदिए । ‘मैले पहिलो लगानी गरेको स्टार्टअप तीन महिनामै बन्द भयो,’ उनले सम्झिँदै भने, ‘तर मैले त्यसबाट सिकेँ र लगानी जारी राखेँ ।’ अहिले उनले ३५ वटा स्टार्टअपमा लगानी गरेका छन्, जसमध्ये कतिपयको मूल्यांकन अर्बौं डलर छ र लिस्टिङ प्रक्रियामा छन् । मिलेनियल पुस्ता भारतका धनी परिवारहरूमा स्टार्टअप लगानीतर्फको ठूलो परिवर्तनको हिस्सा बनेका छन् । यो वर्ष जुनमा जारी ज्युलियस बेयर र ईवाईको रिपोर्टअनुसार भारतमा आगामी दशकमा करिब १.५ ट्रिलियन डलर बराबरको पिँढीगत सम्पत्ति हस्तान्तरण हुने अनुमान छ । २०१८ देखि २०२४ सम्म भारतमा फ्यामली अफिसको संख्या ४५ बाट बढेर ३०० नाघ्यो जुन ५०० प्रतिशतभन्दा बढी वृद्धि हो । त्यस्तै, ३० मिलियन डलरभन्दा माथिको सम्पत्ति भएका अल्ट्राहाई नेटवर्थ परिवारहरूको संख्या पनि सोही अवधिमा १३ हजारजति पुगेको छ । धेरै वेल्थ म्यानेजरहरूका अनुसार भारतमा वास्तविक फ्यामली अफिसको संख्या यसका पाँचदेखि दस गुणासम्म हुन सक्छ । अर्को पुस्ताका लगानीकर्ता दिल्लीस्थित प्रक्सीमा क्यापिटल सर्भिसेजका पार्टनर विक्रान्त अग्रवालका अनुसार धनी परिवारका नयाँ पुस्ता प्रायः उच्च शिक्षित छन्, धेरैजसोले अन्तर्राष्ट्रिय डिग्री लिएका छन् र उनीहरू पारम्परिक पारिवारिक व्यवसायमा धेरै आकर्षित नहुन सक्छन् । भारतका धेरै पुराना सम्पन्न परिवार विशेषगरी स–साना सहरका अझै पनि जमिन र सुनजस्ता भौतिक सम्पत्तिमा धन राख्छन् । यी भौतिक सम्पत्ति वित्तीय सम्पत्तिमा रूपान्तरण भएपछि फ्यामली अफिसको संख्या तीव्र गतिमा बढ्ने त्रिजेन वेल्थका संस्थापक शैलेश बालाचन्द्रन बताउँछन् । भारतका ‘नयाँ धनी’ समूह स्टार्टअप कर्मचारीहरूका स्टक अप्सन रकम, विदेशबाट फर्किएका एनआरआईहरूको धनराशि र दह्रो चलिरहेको स्टक मार्केटबाट जन्मिँदै छन् । पुराना धनाढ्य पुस्तातर्फ भने बेबी बूमरहरू ठूलो परिमाणमा सम्पत्ति उत्तराधिकारमा हस्तान्तरण गर्दैछन् । यो हस्तान्तरणले भौतिक सम्पत्तिबाट वित्तीय सम्पत्तितर्फको रूपान्तरणलाई अझै छिटो बनाइरहेको छ । वित्तीय सम्पत्ति बाँडफाँड गर्न सजिलो हुन्छ । नयाँ पुस्ता मात्र धन जोगाउन होइन, उच्च जोखिम लिने र बढी प्रतिफल दिने लगानीबाट धन सृजना गर्न चाहन्छन् । एक कपडा व्यवसाय चलाउने परिवारका उत्तराधिकारी जसका बुबा रियल स्टेट र बैंक डिपोजिटभन्दा बाहिर कहिल्यै लगानी नगर्ने अहिले स्टार्टअपजस्ता उच्च जोखिम लगानीमा रुचि देखाइरहेका छन् । कति परिवारहरू अब आफ्नो पोर्टफोलियोको २० प्रतिशत वा बढी हिस्सा स्टार्टअपलाई छुट्याउन चाहन्छन् । भेन्चर क्यापिटल पनि फाइदा उठाउँदै बेंगलुरुस्थित इनफ्लेक्सर भेन्चरले आफ्नो तेस्रो कोषका लागि १५० मिलियन डलर उठाउने तयारी गर्दैछ, जसले एआई, रोबोटिक्स, स्पेस र अटोमेसन स्टार्टअपमा लगानी गर्नेछ । यसको दोस्रो कोषको आधा रकम भारतीय फ्यामली अफिसबाट आएको पार्टनर मुरली कृष्ण गुन्तुरुले बताए । २०२१ मा जब ४५ भारतीय स्टार्टअप युनिकर्न बने धेरै फ्यामली अफिसहरूले स्टार्टअप लगानीको फाइदा देखे । अहिले कतिपय आफैले सीधा लगानी गर्न थालेका छन् । गुन्तुरुका अनुसार ‘अब परिवारहरू आफ्नै व्यवसायसँग सम्बन्धित स्टार्टअपमा सीधा लगानी गर्छन् । उदाहरणका लागि नोपो जुन कार्बन न्यानोट्युब बनाउने स्टार्टअप हो । जसमा हामीले भेन्चर क्यापिटलमार्फत लगानी गरेका हौं, तर सुझाव भने एउटा फ्यामली अफिसले दिएको थियो ।’ मिलेनियल र जेन–जेड पुस्ताले पारिवारिक व्यवसायसँग उनीहरूको रुचि मेल नखाए पनि स्टार्टअप लगानीलाई नयाँ व्यवसायको रूपमा हेर्छन् । गत वर्ष क्विक–कमर्स स्टार्टअप जेप्टोले नयाँ लगानी खोज्दा भारतीय फ्यामली अफिसहरूले मात्र चार हप्तामा ३०० मिलियन डलर जम्मा गरेका थिए । अन्य लगानीले १५ प्रतिशत वार्षिक प्रतिफल दिन सक्छ, तर स्टार्टअप लगानीले अत्यधिक फाइदा दिने सम्भावना हुन्छ । ‘युवाहरूको विश्वास छ, १० स्टार्टअपमध्ये एउटा जोमाटो जस्तै अत्यन्त ठूलो बन्न सक्छ,’ बालाचन्द्रन भन्छन् । ‘सूचीकृत पारम्परिक कम्पनीहरूले ट्रिलियन–रुपैयाँ मूल्यांकनमा पुग्न दशकौं लाग्यो, तर जोमाटोले सूचीकरणपछि केही महिनामै त्यो लक्ष्य छोयो,’ उनले थपे । सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी
टोयोटाले अमेरिकामा १० अर्ब डलर लगानी गर्ने
टोकियो । जापानको प्रतिष्ठित अटोमोबाइल कम्पनी टोयोटाले संयुक्त राज्य अमेरिकामा १० अर्ब अमेरिकी डलरको लगानी गर्ने घोषणा गरेको छ । यो लगानी योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एसियाली भ्रमणका क्रममा गरिएको प्रारम्भिक टिप्पणीहरूको पुष्टि हो । गत अक्टोबर महिनामा अमेरिकी राष्ट्रपति ट्रम्पले टोकियो भ्रमणका क्रममा टोयोटाका प्रमुख कार्यकारी अधिकारी (सीइओ) एकियो टोयोडासँगको भेटपछि उक्त लगानी योजनाको उल्लेख गर्दै ‘उनीहरूले १० अर्ब डलर खर्च गर्न जाँदैछन्, नयाँ कार प्लान्टहरू निर्माण गर्न लाग्दैछन् र यो विभिन्न अमेरिकी राज्यहरूमा हुनेछ’ भनेर बताएका थिए । तर त्यतिबेला टोयोटाका वित्त प्रमुख केन्टा कोनले ‘१० अर्ब डलरको यो तथ्याङ्क पुष्टि गर्न कठिन’ भएको भन्दै राष्ट्रपति ट्रम्पका टिप्पणीहरूबारे प्रत्यक्ष रूपमा कुनै टिप्पणी गरेका थिएनन् । बिहीबार जारी गरिएको विज्ञप्तिमा कम्पनीले भने आगामी पाँच वर्षभित्र अमेरिकामा १० अर्ब अमेरिकी डलरको ‘अतिरिक्त लगानी’ गर्ने स्पष्ट घोषणा गरेको छ । टोयोटाका अनुसार यो नयाँ लगानीले अमेरिकामा कम्पनीको कुल लगानी लगभग ६० अर्ब डलरमा पुग्नेछ । यसको सुरुआत करिब ७० वर्षअघि कम्पनीले आफ्नो अमेरिकी सञ्चालन प्रारम्भ गर्दा भएको थियो। यो घोषणा विद्युतीय तथा हाइब्रिड सवारी साधनहरूका लागि लिथियम-आयन ब्याट्री उत्पादन गर्ने पहिलो अमेरिकी कारखानाको उद्घाटनसँगै गरिएको हो । नर्थ क्यारोलिनामा स्थापना गरिएको उक्त कारखाना अमेरिकामा टोयोटाको एघारौँ उत्पादन केन्द्र बनेको छ, जसमा करिब १४ अर्ब डलर बराबरको पूँजी लगानी र पाँच हजार १०० नयाँ रोजगारी सिर्जना हुने भन्ने कम्पनीको दाबी छ । यसअघि, जापान र संयुक्त राज्य अमेरिकाबीच सवारी साधनमा लाग्ने कर दर २५ प्रतिशतबाट घटाएर १५ प्रतिशत पुर्याउने सहमति भएपछि टोकियो सरकारले अमेरिकी अर्थतन्त्रमा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्ने निर्णय गरेको थियो । ट्रम्प प्रशासनले जापानी अटो निर्माताहरूलाई आफ्ना अमेरिकी कारखानामा बनेका सवारी साधनहरू जापानमै निर्यात गर्न प्रोत्साहित गर्दै आएको छ । यस सन्दर्भमा टोयोटाका सार्वजनिक मामिलाका प्रमुख हिरोयुकी उडाले टोकियो मोटर शोमा भने, 'संयुक्त राज्य अमेरिकासँग जापानी प्रमाणीकरण मापदण्डहरू समायोजन गर्ने प्रयासहरू भइरहेको छ। यदि यी तयारीहरू सफल भए हामी यसबारे गम्भीरतापूर्वक विचार गर्न इच्छुक हुनेछौँ ।' टोयोटाका अनुसार कम्पनीले गत वर्ष अमेरिकामा बिक्री गरेका सवारी साधनमध्ये करिब आधा विदेशबाट आयात गरिएका थिए । तीमध्ये अधिकांश क्यानाडा र मेक्सिकोमा बनेका सवारी साधनहरू थिए भने जापानमा उत्पादन गरिएका करिब दुई लाख एकासी हजार गाडी पनि अमेरिकामा बिक्री भएका थिए । यो लगानी योजनाबाट टोयोटाको अमेरिकी बजारमा उपस्थितिलाई अझ सुदृढ बनाउने र विद्युतीय सवारी साधन उत्पादनमा कम्पनीको अग्रणी भूमिका विस्तार गर्ने अपेक्षा गरिएको छ । रासस