मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

काठमाडौं । मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बीचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबीच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उनको प्रशासन यस क्षेत्रको सैन्य अभियानलाई क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । तेलको मूल्यमा वृद्धि र अमेरिकी शेयर बजारमा गिरावट आएपछि यस्तो मिश्रित सन्देश आएको हो । यसैबीच, इजरायलले  इरानले शनिबार बिहान पुनः मिसाइल आक्रमण जारी राखेको छ भने साउदी अरेबियाले केही घण्टाभित्रै २० ड्रोन निश्क्रिय पारिएको जनाएको छ । त्यस क्षेत्रमा मुख्य तेल प्रतिष्ठानहरू रहेका छन्। कुनै मानव क्षति वा संरचनागत हानि भने भएको छैन । इरानले आक्रमणलाई बढाउँदै आफ्नो खाडी छिमेकीमा असर पुर्याइरहेको छ, जबकि हर्मुज जलमार्गमा व्यापार नियन्त्रण जारी राखेको छ । यो मार्ग विश्वको तेल र अन्य महत्वपूर्ण वस्तुहरूको लगभग पाँचौं हिस्सा बोक्ने मार्ग हो । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीले नवरोज पर्वको अवसरमा राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी र इजरायली आक्रमणहरू असफल भएको बताए । उनले इरानी जनताको दृढतामा प्रशंसा गरे । इरानी सेनाका उच्च अधिकारीहरूले ‘विश्वका पार्क, मनोरञ्जन क्षेत्र र पर्यटन स्थलहरू’ देशका शत्रुका लागि सुरक्षित नहुने चेतावनी दिएका छन् । यसले इरानले मध्यपूर्व बाहिर पनि आक्रमण गर्ने सम्भावना कायम राखेको देखाउँछ । अमेरिकाले इरानी तेलमा केही प्रतिबन्ध हटाउने घोषणा पनि गरेको छ, जसले मूल्य नियन्त्रण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । तर उत्पादनमा वृद्धि नभएपछि तेलको आपूर्ति र मूल्यमा ठूलो असर नपर्ने देखिन्छ । युद्धमा हालसम्म इरानमा एक हजार ३०० भन्दा बढी, इजरायलमा १५ र पश्चिम बैङ्कमा चार नागरिकको मृत्यु भएको छ । अमेरिकी सेनाका कम्तीमा १३ सदस्यको पनि मृत्यु भएको छ । रासस  

केरालामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

काठमाडौं । भारतको दक्षिणी राज्य केरालामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको पुष्टि भएपछि अधिकारीहरूले २० हजारभन्दा बढी चरालाई नष्ट गर्ने आदेश दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्र कोझिकोड र अलप्पुझा जिल्लामा नियन्त्रणका लागि यस्तो कदम चालिएको हो । कोझिकोडमा करिब १४ हजार २२८ र अलप्पुझामा ५ हजार ९६१ वटा चरालाई नष्ट गरिनेछ । उक्त निर्णय नेशनल इन्स्टिच्युट अफ हाई सेक्युरिटी एनिमल डिजिजेस, भोपालमा पठाइएका नमूनामा उच्च सङ्क्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भएपछि लिइएको हो  । हालसम्म यो रोग केवल चरामा मात्र देखिएको छ । तर सर्वसाधारणलाई सतर्क रहन र असामान्य रूपमा धेरै चरा मरेको देखिएमा नजिकको पशु अस्पतालमा जानकारी दिन आग्रह गरिएको छ ।  

सिरियाले सार्वजनिक क्षेत्रको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने

काठमाडौं । सिरियाका अन्तरिम नेता अहमद अल–शाराले शुक्रबार जीवनस्तर सुधार गर्ने प्रयासमा सार्वजनिक क्षेत्र र राज्य–संवद्ध निकायका कर्मचारीहरूको पारिश्रमिकमा ५० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गरेका छन् । यो आदेशले सरकारी मन्त्रालय, सार्वजनिक संस्थान, राज्यको स्वामित्वमा रहेका उद्यम र प्रशासनिक विभागका साथै राज्यको ५० प्रतिशतभन्दा कम नहुने हिस्सा भएका संयुक्त उपक्रमका कर्मचारीहरूलाई समेट्छ ।  आदेशअनुसार यो समायोजन जारी भएको समयमा लागू रहेको निश्चित तलबमा आधारित हुनेछ र यसमा विद्यमान कानुन अन्तर्गतका बढुवासम्बन्धी भत्ताहरू समावेश हुनेछन् । यो आदेश निश्चित सर्तहरू अन्तर्गत अस्थायी, ज्यालादारी र करारमा काम गर्ने कर्मचारीहरू, साथै आंशिक समय काम गर्ने र उत्पादनको आधारमा भुक्तानी पाउनेहरूका लागि पनि लागू हुनेछ । यसैबीच, यो आदेशले यसअघि नसमेटिएका क्षेत्रहरूका लागि मे १ देखि लागू हुनेगरी सामान्य न्यूनतम पारिश्रमिक प्रतिमहिना १२ हजार ५ सय ६० सिरियाली पाउण्ड (करिव १.१ अमेरिकी डलर) तोकेको छ ।