कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु
काठमाडौं । कोलम्बियामा सेनाको विमान दुर्घटना हँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । कोलम्बियाका अधिकारीहरूका अनुसार देशको दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै वायु सेनाको विमान दुर्घटनाग्रस्त भएको हो । वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले जानकारी दिएअनुसार विमानमा सेनाका ११४ जवान र ११ जना क्रू सदस्य सवार थिए । यो अमेरिका निर्मित सी- १३० हरक्युलिस विमान थियो, जसको प्रयोग सैनिकहरूको आवतजावतका लागि गरिन्छ । यो विमान पुटुमायो प्रान्तको पुएर्तो लेगुइजामो सहर नजिक दुर्घटनाग्रस्त भएको हो । घटनास्थलमा पठाइएका आपतकालीन उद्धारकर्मीहरूले विमानको भग्नावशेषमा जीवित बचेकाहरूको खोजी गरिरहेका छन् । कोलम्बियाका रक्षामन्त्री पेद्रो सान्चेजले पेरू सीमाना नजिक भएको यस घटनालाई ‘देशका लागि अत्यन्त दुःखद’ भएको बताएका छन् । सान्चेजले पछि जानकारी दिँदै विमानमा आगलागी भएपछि त्यसभित्र रहेको गोलाबारुद विस्फोट भएको बताएका छन्। एक सैन्य स्रोतले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार दुर्घटनामा कुल ६६ जनाको मृत्यु भएको छ । यो घटना कोलम्बियाली वायु सेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक हो । स्थानीय सञ्चारमाध्यमहरूले घाइते सैनिकहरूलाई स्थानीय बासिन्दाहरूले साना मोटरसाइकलमार्फत अस्पताल पुर्याइरहेको दृश्य पनि देखाएका छन् । राष्ट्रपति गुस्ताभो पेत्रोले एक्समा लेखेका छन्, ‘यो भयानक दुर्घटना हुनु हुँदैनथ्यो ।’ यद्यपि, उनले दुर्घटनाको कारण स्पष्ट गरेका छैनन् । सेनाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत जनाएको छ, ‘पुएर्तो लेगुइजामोमा भएको हरक्युलिस विमान दुर्घटनापछि घाइतेहरूको सहयोगका लागि हाम्रा सैनिकहरू घटनास्थलमा पुगेका छन् ।’ सेनाले आफ्नो पोस्टमा विभिन्न तस्वीरहरू सार्वजनिक गर्दै घाइतेहरूलाई विशेष उपचारका लागि सारिँदै गरेको जानकारी दिएको छ । सेनाले भनेको छ, ‘हामी सम्पूर्ण कोलम्बियाली जनताको एकता र उद्धार, सुरक्षा तथा राहत कार्यमा सहयोग गर्ने संस्थाहरू प्रति कृतज्ञ छौं ।’ यसैबीच, समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ कि सोमबार कोलम्बियाली वायु सेनाको एउटा विमान, जसमा १२५ जना सवार थिए, देशको दक्षिणी अमेजन क्षेत्रमा उडान भरेलगत्तै दुर्घटनाग्रस्त भएको हो ।’
थप १२ देशले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने, अप्रिल २ देखि ५० राष्ट्रमा लागू हुने
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बताएको छ । अमेरिकी विदेश मन्त्रालयले भनेको छ, ‘पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ ।’ यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र पर्यटन भिसा दुवैमा लागू हुन्छ, गत वर्ष अवैध आप्रवासनमाथि ट्रम्प प्रशासनको सामूहिक दमनको एक भागको रूपमा ‘भिसा अनुमतिभन्दा बढी’ समय बस्ने विदेशीलाई त्यसो गर्नबाट रोक्नका लागि सुरु गरिएको हो । यदि आवेदकले सबै भिसा सर्तहरू पालना गरेमा रकम फिर्ता गरिनेछ । यदि आवेदक समय सीमा भन्दा धेरै समय संयुक्त राज्य अमेरिकामा रहेमा रकम जफत गरिनेछ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको तथ्य पत्रमा भनिएको छ, ‘यस कार्यक्रम अन्तर्गत करिब एक हजार विदेशीहरूलाई भिसा जारी गरिएको छ र सर्तमा बाँधिएका ९७ प्रतिशत यात्रीहरू समयमै अमेरिकाबाट स्वदेश फर्किएका छन् ।’ कम्बोडिया, इथियोपिया, जर्जिया, ग्रेनाडा, लेसोथो, मौरिसस, मङ्गोलिया, मोजाम्बिक, निकारागुआ, पपुवा न्युगिनी, सेसेल्स र ट्युनिसिया गरी नयाँ राष्ट्रहरु यस कार्यक्रममा थपिएका छन् । अन्य ३८ देशमा अल्जेरिया, अङ्गोला, एन्टिगुवा र बार्बुडा, बङ्गलादेश, बेनिन, भुटान, बोत्सवाना, बुरुन्डी, काबो भर्दे, मध्य अफ्रिकी गणतन्त्र, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका र फिजी रहेका छन् । यो समूहमा गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोमे, प्रिन्सेपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, तुभालु, युगान्डा, भानुआटु, भेनेजुएला, जाम्बिया र जिम्बावेलाई पनि समावेश गरिएको थियो ।
अष्ट्रेलिया र सिङ्गापुर ऊर्जा आपूर्ति सहज बनाउन सहमत
काठमाडौं । अष्ट्रेलिया र सिङ्गापुरले तेल, डिजेललगायतका इन्धनको सहज आपूर्ति सुनिश्चितमा सहयोग गर्न सोमबार सहमती जनाएका छन् । यी देशहरूले पछिल्लो समय मध्यपूर्व युद्धको कारण विश्वव्यापी रुपमा उर्जा सङ्कटको सामना गरिरहेका छन् । संयुक्त राज्य अमेरिका, इजरायल र इरान बीचको युद्ध होर्मुज वरपर केन्द्रित भएको कारण विश्वव्यापी तेलको मूल्य बढेको छ, जहाँबाट विश्वको तेल र ग्याँसको लगभग २० प्रतिशत ढुवानी हुन्थ्यो । संयुक्त विज्ञप्ति जारी गर्दै अस्ट्रेलिया र सिङ्गापुरले सोमबार मध्य पूर्वको अवस्था र आफ्नो क्षेत्रका लागि यसको प्रभावका विषयमा गहिरो चिन्ता दर्शाएका छन् । ऊर्जा आपूतिलाई सहज र बलियो बनाउन मिलेर काम गर्न प्रतिबद्ध रहेको उनीहरूले बताएका छन् । उनीहरू ऊर्जा सुरक्षालाई सुदृढ पार्न, पेट्रोलियम पदार्थका साथै प्राकृतिक ग्यास लगायत आवश्यक वस्तुहरूको प्रवाहलाई समर्थन गर्न सहमत भएका छन् । हाल अस्ट्रेलियामा पेट्रोलको मूल्य बढेको छ भने अधिकारीहरूले उच्च मूल्यवृद्धिका कारण बासिन्दाहरूलाई अत्यावश्यक सामान मात्र किन्न आह्वान गरेका छन् । रासस