कोरोनाभाइरसको कारण ४ दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द
वासिङटन । अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ । त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका सङ्क्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् । रासस/सिन्ह्वा
भारतमा पहिलाेपटक ओमिक्रोनबाट एकको मृत्यु
नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ । रासस/सिन्ह्वा
बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउन नेपालको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरे । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिम्स्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिम्स्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहनुभएका महासचिव लेकफेललाई प्रधानमन्त्रीले विम्स्टेकजस्ता क्षेत्रीय सङ्गठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए । बिम्स्टेकलाई थप प्रगति गर्न सघाउन नेपालले रचनात्मक योगदान गर्ने दृढता पनि उनले व्यक्त गरे । बिम्स्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकाङ्क्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरे । बिम्स्टेक प्रक्रियालाई अगाडि बढाउन नेपालले पुर्याएको योगदानको प्रशंसा गर्दै महासचिवले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताए । बिम्स्टेकप्रतिको नेपालको प्रतिबद्धताको उनले सराहना पनि गरे । कोभिड-१९ महामारीका कारण दुई वर्षअघि हुनुपने बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलङ्काले आयोजनाको प्रस्ताव गरेको छ । यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ । प्रारम्भमा बङ्गलादेश, भारत, श्रीलङ्का र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मा र नेपाल थपिएपछि बिम्स्टेक बनेको हो । २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय सङ्गठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो । रासस