विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ
काठमाडौं । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ)को विश्व तापमान वृद्धि मामिला वरिष्ठ सल्लाहकार जोन नायरनले यी घटनाहरू तीव्रतामा बढ्दै जाने र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्नु पर्ने बताए । उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका १ हजार २ सय बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ । स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन् । नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन् । बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसङ्ख्या भएका देशहरूमा जनसाङ्ख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो । नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासी गमी बढ्ने क्रम ६ गुणाले बढेको छ । गत हप्ता डब्लुएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले संयुक्त राज्य अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो । युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा ४८ डिग्री सेल्सियस (११८ डिग्री फरेनहाइट) को उच्च तापक्रम हुने अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।
औषधि अभावमा गाजाका ९ हजार क्यान्सरपीडितको जीवन जोखिममा
गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसङ्ख्यामा क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताएका छन् । महानिर्देशक स्काइकले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई उद्धृत गर्नुहुँदै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएको बताए । पत्रकारहरूसँगको कुराकानीमा उनले यो सङ्ख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताए । गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ । गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् । स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोबास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस
अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आँधीका कारण एक हजार ५०० भन्दा बढी उडान रद्द
न्यूयोर्क । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५०० भन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो सङ्ख्यामा उडान अवरुद्ध हुनुका साथै ग्राउन्ड स्टप गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेशनले जनाएको छ । न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको फ्लाइट ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् । शहरको अर्को विमानस्थल लागार्डिया विमानस्थलमा रद्द भएका उडानहरूको सङ्ख्या २७० पुगेको छ । बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आइतबार साँझ आएको आँधीबेहरीका कारण विमानस्थलका धेरै उडान अवरूद्ध बनेका छन् । फ्लाइटअवेयरको तथ्याङ्कअनुसार करिब २६० उडान रद्द भएका छन् । संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतबार भारी वर्षाका कारण न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, डेलावेयर र मेरिल्याण्डका केही भागमा बाढी र विद्युत् आपूर्ति बन्द हुँदा पाँच करोड ६० लाखभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन् । रासस