भारतमा एकैदिन २१ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

नयाँदिल्ली । भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ । कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ । यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने बुधबार थप तीन जनाको मृत्यु भएको छ ।

रनिल विक्रमासिंघे बने श्रीलङ्काकाको नयाँ राष्ट्रपति

काठमाडाैं । श्रीलङ्काकाकाे नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे चयन भएका छन् । बुधबार संसद्‍बाट २१९ मा १३४ मत प्राप्त गरी रनिल विक्रमासिंघे नयाँ राष्ट्रपतिकाे रुपमा चयन भएका हुन् । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि यहाँको संसद्‍ले नयाँ राष्ट्रपति चयन गरेकाे हाे । श्रीलङ्का पछिल्लो समयमा आर्थिक सङ्कटमा फसेको छ । देश आर्थिक सङ्कटमा फसेसँगै यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ ।

इस्लामाबादको सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।