वैवाहिक समारोहस्थलमा आगो सल्किदा एक सय जनाको मृत्यु

काराकोश । इराकको उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा एक सय जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् । मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहेको शहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् । अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् । इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा एक सय जनाको मृत्यु तथा एक सय ५० भन्दा बढी घाइते भएका जनाएको छ । इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल-बद्रले पनि मृतकको उक्त सङ्ख्या एएफपीलाई पुष्टि गर्नुभएको छ । अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् । मङ्गलबार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ । दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ । रासस

नेपाल र चीनबीच १३ बुँदे समझदारी, विभिन्न परियोजना बनाउनेदेखि न्यून-कार्बोन विकास गर्नेसम्म

काठमाडौं । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले १२ वटा सम्झौता र एउटा समझदारी पत्र आदान प्रदान गरेका हुन् । उक्त सम्झौता तथा समझदारी पत्र कृषि, सञ्चार, विज्ञान तथा प्रविधि, व्यापारसँग सम्बन्धित रहेको बताइएको छ । यस्ता छन् सम्झौता र सहमतिहरू : राष्ट्रिय योजना आयोग र नेसनल डेभलप्मेन्ट एन्ड रिफर्म कमिसन अफ द पिपल्स रिपब्लिक अफ चाइनाबिच मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ (एमओयू)मा हस्ताक्षर भएको छ । चीन र नेपाल सरकारबीच नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरण भएको छ । डिजिटल अर्थतन्त्रबारे सहकार्य अभिवृद्धि गर्नेबारे नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन र अर्थ मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन र वन तथा वातावरण मन्त्रालयबीच हरित र न्यून-कार्बोन विकाससम्बन्धी एमओयू भएको छ । सिजाली विद्यालय परियोजनाबारे सम्झौता भएको छ । कृषि, पशुपालन र मत्स्यपालनमा सहकार्य गर्ने विषयमा चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालय र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ। सन् १९८१ नेपाल-चीन व्यापार र भुक्तानी सम्झौतालाई मूल्याङ्कन र परिमार्जन गर्न एक संयुक्त प्राविधिक कार्यदल बनाउने विषयमा चीनको वाणिज्य मन्त्रालय र नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । नेपालबाट चीनमा जडीबुटीको निर्यात गर्ने विषयमा चीनको जेनेरल एडमिनिस्ट्रेसन अफ कस्टम र नेपालको कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । चीनको नेशनल एडमिनिस्ट्रसन एण्ड पब्लिकेसन र नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच एमओयूमा हस्ताक्षर भएको छ । विज्ञान, प्रविधि र नवीनतामा सहकार्यका लागि चीनको विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबिच एमओयूमा हस्ताक्षर भएको छ । त्यस्तै, मानव श्रोत र विपद् सामग्रीबारे पत्र आदानप्रदान र हिल्सा-सिमिकोट सडक परियोजनाबारे सम्झौता भएको जनाइएको छ ।    

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न दुई देशबीच भयो समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्धिपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको अवसरमा सिएनआई र सीसीपीआईटीबीच यस्तो समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका हुन् । यस समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरुको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुबैका व्यवसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ । काउन्सिलले दुई देशबीच व्यवसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन-सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिबृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यवसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ । यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन् । नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् । परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यवसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यवसायिक परिषद महत्वपूर्ण माध्यम बन्ने बताए । उनले परिषद्ले देखिने गरी प्रभावकारी रुपमा काम गर्ने विश्वास समेत व्यक्त गरे । उक्त समझदारी हस्ताक्षर कार्यक्रममा परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु निर्वाण चौधरी, भीम घिमिरे समेत सहभागी थिए ।