डलर र पाउण्डभन्दा पनि महँगो छ कुवेतको दिनार, राष्ट्र बैंकले सञ्चिति गर्छ कि गर्दैन ?
काठमाडौं । नेपालमा विदेशी मुद्रा सञ्चितिको अवस्था सुखद नरहेका कारण अहिले मूलतः अमेरिकी डलरको मूल्यबारे चासो व्याप्त छ। नेपाल राष्ट्र ब्याङ्कले शनिवारका लागि डलरको खरिद दर १२९.२९ तोकेको छ जुन अहिलेसम्मै सर्वाधिक हो। नेपालले गर्ने विदेशी मुद्रा कारोबारमा डलरको भूमिका बढी भएकोले पनि सरकारी निकायदेखि सर्वसाधारणमा डलरको मूल्यबारे चासो रहेको पाइन्छ। पछिल्लो विनिमय दरअनुसार अहिले एक अमेरिकी डलरको खरिद १२९.२९ रुपैयाँ र विक्री दर १२९.८९ रुपैयाँ छ। डलरबाहेक ब्रिटिश पाउन्ड, युरो, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको भाउ धेरैको चासोको विषय रहन्छ। तर अहिले पाउन्डको मूल्य केही घटेको छ। त्यसबाहेक कतार, दक्षिण कोरिया, मलेशिया र साउदी अरब लगायतका नेपालीका लागि प्रमुख श्रम गन्तव्यका रूपमा स्थापित मुलुकहरूको मुद्राको मूल्यबारे पनि बेलाबखत चर्चा हुने गर्छ। तर के तपाईँलाई थाहा छ नेपालमा अमेरिकी डलरदेखि ब्रिटिश पाउन्डभन्दा पनि महँगोमा कारोबार हुने अर्कै कुनै मुद्रा छ ? नेपाल राष्ट्र बैंकले शनिवारका लागि तय गरेको विनिमय दरअनुसार एक यूके पाउन्ड स्टर्लिङको मूल्य १४३.६५ रुपैयाँ छ भने स्विट्जरल्यान्डको मुद्रा स्विस फ्र्याङ्कको भाउ १३१.८७ रुपैयाँ छ। तर सबैभन्दा महँगो मुद्राका रूपमा भने कुवेतको दिनार सूचीकृत छ जसको मूल्य ४१७.९ रुपैयाँ कायम छ। त्यसपछिको सबैभन्दा महँगो मुद्रामा बहराइनको दिनार रहेको छ जसको बजार मूल्य ३४२.९२ छ। दिनार महँगो हुनुको कारण के हो ? प्रशस्तै तेल रहेको कुवेत साउदी अरब, इराक र इराननजिकै अवस्थित छ। अमेरिकी डलरदेखि पाउन्डजस्ता मुद्राको कतिपय वस्तु तथा सेवा आयातका लागि अन्तर्राष्ट्रिय बजारमा बढी माग हुन्छ जसले गर्दा ती मुद्रा बलियो भएका छन्। त्यस्तै सेवाको भुक्तानीका लागि पनि ती मुद्राको माग उच्च हुने बताइन्छ। तर केन्द्रीय बैंकका एक पूर्वडेप्युटी गभर्नरका अनुसार कुनै पनि मुद्राको सामर्थ्य आधारभूत रूपमा एउटै मात्र तत्त्वले निर्देश गर्छ जसलाई पीपीपी अर्थात् पर्चेजिङ पाउअर प्यारिटी भनिन्छ। यसको साइनो मुद्रास्फीति अर्थात् बजार महँगीसँग रहेको बताइन्छ। कुनै पनि मुद्राको विनिमय दर १००,२००,३०० भनेको ‘ त्यसलाई डिटरमाइनिङ फ्याक्टर (निर्धारण गर्ने तत्त्व) भनेको त्यो मुद्राको पर्चेजिङ पाउअर ९क्रयशक्ति० बराबर हुन्छ। त्यसलाई सोझो हिसाबले भन्दा एक दिनारको चार डलरजति पर्छ भन्नुको अर्थ कुवेतमा एक दिनारमा कुनै वस्तु पाइन्छ भने अमेरिकामा त्यसको लागत चार डलर पर्छ,ुु नेपाल राष्ट्र ब्याङ्कका पूर्वडेप्युटी गभर्नर कृष्णबहादुर मानन्धरले भने। अर्थतन्त्रको आकार लगायतका पाटाहरूले भने यसमा उल्लेख्य फरक नपार्ने उनको भनाइ छ। ‘दक्षिण कोरिया नेपालभन्दा धेरै विकसित छ। तर सटही दर त्यति बलियो छैन। मुद्राको शक्ति खरिद शक्तिमै भर पर्छ,’ मानन्धरले भने। नेपालमा मात्रै नभएर दिनार विश्व बजारमै महँगो मुद्राका रूपमा स्थापित छ। नेपाली मुद्राको तुलनामा सर्वाधिक महँगो भए पनि नेपालले दिनार सञ्चित भने गर्दैन। बिबिसी
एक अर्काका कर्मचारीलाई काममा नराख्ने अडानी र अम्बानीबीच सम्झौता
काठमाडौं । भारतका अर्बपतिहरु गौतम अडानी र मुकेश अम्बानीबीच ठूलो सम्झौता भएको छ । गौतम अडानीको नेतृत्वमा रहेको अदानी समूह र मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रीजले एकअर्काका कर्मचारीलाई काममा नराख्ने सम्झौता गरेको हो । भारतीय सञ्चार माध्यमका अनुसार यी दुवै कम्पनीहरू बीच नो–पोचिङ प्याक्ट यस वर्षको मेदेखि लागू भएको छ । यो उनीहरूको सबै समूहका कम्पनीहरूमा लागू हुने बताइएको छ। यद्यपि, अडानी समूह र रिलायन्स इन्डस्ट्रीज दुवैले प्रतिवेदनमा गरिएका दाबीहरूबारे कुनै टिप्पणी वा पुष्टि गरेका छैनन् । यो नियम लागू भएपछि दुवै समूहले एकअर्काको कर्मचारीलाई आफ्नो कम्पनीमा काम लगाउन पाउने छैनन् । यी दुई समूहको सबै क्षेत्रहरूमा उपस्थिति छ र केही क्षेत्रमा ठूलो प्रतिस्पर्धीका रुपमा रहेका छन् । त्यसैले पनि एकअर्काका कर्मचारी नलिने सम्झौता गरेका हुन् । अडानी समूह पावर, बन्दरगाह, एयरपोर्ट, नवीकरणीय ऊर्जा र सौर्य ऊर्जा क्षेत्रहरूमा फस्टाइरहेको कम्पनी हो र हालै पेट्रोकेमिकल्स क्षेत्रमा प्रवेश गरेको छ, जहाँ रिलायन्स इन्डस्ट्रीज पहिले देखि नै शीर्ष कम्पनीको रुपमा काम गरिहरेको छ । टेलिकममा पनि दुवै कम्पनी एकअर्काको प्रतिस्पर्धी छन् । यति मात्र होइन, भर्खरै सम्पन्न फाइभजी लिलामीमा विश्वको तेस्रो ठूलो मोबाइल नेटवर्क अपरेटर रिलायन्स जियो इन्फोकम सबैभन्दा ठूलो कम्पनीको रूपमा उभिएको छ ।
सेयर लगानीकर्ताले गुमाए ५ लाख करोड
काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार पनि घट्दा लगानीकर्ताले अर्बौं गुमाउनु परेको छ । अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर बढाउने घोषणा र त्यसपछि डलरको तुलनामा पैसाको भाउमा ऐतिहासिक गिरावट आएपछि भारतीय सेयर बजारमा हंगामा मच्चिएको छ । जसको असर सेयर बजारका लगानीकर्ताले व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन भारतीय बजारका लगानीकर्ताले ५ लाख करोड रुपैयाँ गुमाएका छन् । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण २८१.७० लाख करोड रुपैयाँ नजिक थियो । जुन शुक्रबार घटेर २७६.६५ लाख करोड रुपैयाँमा झरेको छ । फेडले ब्याजदर बढाए पनि भविष्यमा अझै बढाउने सङ्केत दिएको छ जसका कारण विदेशी लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् । रिजर्व बैंक अफ इण्डियाको मौद्रिक नीति समितिको बैठक सेप्टेम्बर २८–३० मा बस्दैछ । अगष्ट महिनामा खुद्रा मुद्रास्फीति फेरि ७ प्रतिशतको नजिक पुगेको छ । त्यसपछि फेरि आरबीआईले रेपो दर बढाउने अड्कलबाजी गरिरहेको छ । भारतीय अर्थतन्त्र पनि अहिले नकारात्मक अवस्थामा छ ।