क्राइमियालाई रुससँग जोड्ने पुलमा कारबम विस्फोट
एजेन्सी । सन् २०१४ मा युक्रेनबाट आफ्नो भू–भागलाई गाभेको क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुलमा कारबम विस्फोट भएको मस्को अधिकारीले शनिबार जानकारी दिएका छन् । स्थानीय समयानुसार शनिबार बिहान ६ बजे क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र क्राइमियामा रेलमार्फत सात तेल ट्याङ्करमा आगो लगाइएको रूसी समाचार एजेन्सीले जनाएका छन् । यस बम आक्रमणमा राष्ट्रिय विरोधी तथा आतङ्ककारी समूहलाई आरोप लगाइएको मस्कोका अधिकारीले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा निर्माण गरिएको र २०१८ मा उद्घाटन गरिएको यो पुल युक्रेनमा विशेष गरी दक्षिणमा लडिरहेका रुसी सैनिकलाई सैन्य उपकरण लैजानका लागि र साथै त्यहाँ सेना लैजानको लागि एक प्रमुख यातायात साधन थियो । रुसले युक्रेनमा लडाइँ भएपनि पुल सुरक्षित रहेको बताएको थियो ।
यस बर्षको नोबेल शान्ति पुरस्कार बेलारूस, रूस र युक्रेनका मानव अधिकारवादीलाई दिने घोषणा
एजेन्सी । युद्ध अपराध र अधिकार उल्लङ्घनका घटनाको अभिलेखीकरणका लागि काम गरेपापत बेलारुसका मानव अधिकारवादी एलेस बियालियात्स्की, रुसको मेमोरियल समूह र युक्रेनको सेन्टर फर सिभिल लिबर्टीजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ । समितिले सन् २०२१ देखि बेलारुसको जेलमा रहेका बियालियात्स्कीको रिहाईको माग गरेको छ । ‘उनीहरूले युद्ध अपराध, मानव अधिकार उल्लङ्घन र शक्तिको दुरुपयोगलाई दस्तावेजीकरण गर्न उत्कृष्ट प्रयास गरेका छन्’, र्वेजियन नोबेल कमिटीका प्रमुख बेरिट रीस एन्डरसनले भने, ‘उनीहरूले मिलेर शान्ति र लोकतन्त्रका लागि नागरिक समाजको महत्वलाई दर्शाएका छन् ।’ गत वर्षको शान्ति पुरस्कारले प्रेस स्वतन्त्रताका दुई विजेता फिलिपिन्सकी पत्रकार मारिया रेसा र उनका रुसी सहकर्मी दिमित्री मुरातोभलाई सम्मान गरेको थियो । यो पुरस्कारमा स्वर्ण पदक, प्रमाणपत्र र १० मिलियन स्वीडिश क्रोनर (करिब नौ लाख अमेरिकी डलर)को पुरस्कार राशि रहेको छ । सन् १८९६ मा स्वीडिस आविष्कारक तथा परोपकारी अल्फ्रेड नोबेलको निधन भएको दिन डिसेम्बर १० मा ओस्लोमा आयोजित एक औपचारिक समारोहमा सो पुरस्कार प्रदान गरिनेछ । रीस–एन्डरसनले बियालियात्स्की उपस्थित हुन सक्षम हुने आशा व्यक्त गरेका छन् । उनले भने, ‘हामी आशा गर्छौं । उहाँ ओस्लोमा आउनुुहुनेछ र सम्मान प्राप्त गर्नुहुनेछ ।’ शान्ति पुरस्कार ओस्लोबाट प्रदान गरिएको एक मात्र नोबेल पुरस्कार हो, अन्य विधाहरू स्टकहोमबाट घोषणा गरिएको छ । वर्ग र लिंगको व्यक्तिगत अनुभवमा आधारित भ्रामक सरल उपन्यासका लागि चिनिएकी फ्रान्सेली लेखिका एनी एर्नाक्सले बिहीबार साहित्यतर्फको नोबेल पुरस्कार जितेका थिए। सन् १९०१ यता ११९ जना साहित्य पुरस्कार विजेतामध्ये उनी १७ औं महिला हुन् । यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार सोमबार घोषणा हुने समितिले बताएको छ ।
हङकङले ५ लाख हवाई टिकट नि:शुल्क बाँड्ने
काठमाडौं । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख मानिसले भ्रमण गरेको हङकङले पर्यटन प्रवर्द्धन गर्नका लागि ५ लाख टिकट नि:शुल्क बाँड्ने भएको छ । ३३ अर्ब बढीको उक्त टिकट हङकङले विदेशी पर्यटक र हङकङका वासिन्दालाई बाँडने बताइएको छ । हङकङले दुई वर्षअघि नै उड्डयन उद्योगलाई समर्थन गर्न राहत प्याकेजको एक भागको रूपमा हङकङका वायुसेवा कम्पनीहरुसँग ५ लाख टिकट खरिद गरिसकेको यएरपोर्ट अथोरिटी हङकङका प्रवक्ताले पुष्टि गरिसकेको सिएनएनमा उल्लेख छ । यस विषयमा एयरलाइन्ससँग सबै व्यवस्था गरिसकेपछि थप विवरणहरू घोषणा गरिने यएरपोर्ट अथोरिटी हङकङले जनाएको छ । यसअघि हङकङले पहिलो चरणमा आफ्नै खर्चमा होटलमा २१ दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो जुन पछि गएर ७ दिन पुर्याइएको थियो । तर गत सोमबारदेखि यसलाई अझै घटाएर ३ दिनमा पर्याइएको छ ।