४२२ घन्टा सुरुङभित्र थुनिँदाका १७ कथा…

काठमाडौं । पछिल्लो १७ दिनदेखि भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको एउटा निर्माणाधीन सुरुङमा फसेका सबै ४१ मजदुरलाई सकुशल बाहिर निकालिएको छ । मंगलबार साँझ अबेर सबै मजदुरलाई एनडीआरएफ टोलीले बाहिर निकालेको थियो । त्यसक्रममा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी घटनास्थलमा उपस्थित थिए । मुख्यमन्त्री धामीले मजदुरलाई माला लगाएर स्वागत गरेका थिए । यसपछि सबै मजदुरलाई प्राथमिक उपचारका लागि अस्पताल लगिएको थियो । उनीहरू प्रत्येकलाई उत्तराखण्ड सरकारबाट १ एक लाख रुपैयाँ सहयोग दिइने घोषणा गरिएको छ। साथै, उद्धार गरिएका ४१ मजदुरलाई तलबसहित १० देखि १५ दिन बिदा दिन पनि धामी सरकारले कम्पनीलाई आग्रह गरेको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले ती मजदुरहरूसँग टेलिफोनमा कुराकानी गरेका थिए । ४२२ घण्टापछि सुरुङबाट उद्धार १७ दिनको उद्धार कार्य र ४ सय २२ घन्टाको कठिन लडाइँपछि अन्ततः सिल्क्यारा सुरुङमा फसेका ४१ जनाको ज्यान बाहिर आयो । मजदुर बाहिर निस्किनेबित्तिकै उद्धार टोलीले ‘भारत माताकी जय’ नारा लगाएका थिए । १७ दिनपछि सुरुङबाट बाहिर निस्किन पाउँदाको खुसी ती मजदुरको अनुहारमा प्रष्टै झल्किन्थ्यो । १७ दिने अभियानमा धेरै चुनौती सामना गर्नुपरेको थियो। सिल्क्यारा सुरुङ उद्धार : १७ दिनका १७ कथा १२ नोभेम्बर २०२३ कात्तिक १२ गते बिहान देशभरि दीपावली मनाउने तयारी भइरहेको थियो । बिहान करिब ५ः३० बजे उत्तरकाशीको सिल्क्यारा सुरुङमा पहिरो खस्यो । ३६ जना मजदुर फसेको पहिलो खबर आयो । त्यसपछि भित्र ४० मजदुर रहेको थाहा भयो । अनि, ती मजदुरलाई बचाउने अभियान सुरु भयो । एनडीआरएफ, उत्तराखण्ड राज्य विपद प्रतिक्रिया बल, सीमा सडक संगठन र परियोजना निर्माण गरिरहेको राष्ट्रिय राजमार्ग र पूर्वाधार विकास निगम (एनएचआइडीसीएल) र इन्डो–तिब्बत सीमा पुलिस (आईटीबीपी) सहित विभिन्न एजेन्सीहरूले उद्धार कार्यमा भाग लिए । १३ नोभेम्बर २०२३ मजदुरहरूलाई ड्रेनेज पाइपमार्फत सम्पर्क गरिएको थियो। वाकिटकीमार्फत उनीहरूसँग कुरा भएको थियो । त्यसपछि त्यही पाइपबाट मजदुरलाई अक्सिजन पु¥याइएको थियो । साथै, उनीहरूलाई खाद्यान्नसमेत पठाइएको थियो । मुख्यमन्त्री पुष्करसिंह धामी उद्धारका लागि घटनास्थल पुगेका थिए । सुरुङको भत्किएको भागमा थुप्रिएको भग्नावशेष हटाउने काममा खासै प्रगति हुन सकेको थिएन भने माथिबाट झरिरहेको पहिरोले उद्धार कार्य थप कठिन बनाइरहेको थियो । फलस्वरूप ३० मिटर क्षेत्रमा जम्मा भएको पहिरो ६० मिटरसम्म फैलियो । ‘सटक्रेटिङ’ का सहायताले पहिरोको भग्नावशेषलाई मजबुत बनाएर ड्रिलिङ गरी ठूलो ब्यासको स्टिल पाइपलाइन हालेर मजदुरलाई बाहिर निकाल्ने रणनीति बनाइएको थियो । १४ नोभेम्बर २०२३ औगर मेसिनको सहयोगमा भग्नावशेषमा तेर्सो ड्रिलिङ गर्ने योजना बनाइएको थियो । ड्रिलिङपछि ८ सय र ९ सय मिलिमिटर ब्यासका पाइपहरू हाल्ने योजना बनाइएको थियो । घटनास्थलमा पाइप पनि ल्याइयो । तर, सुरुङमा भग्नावशेष खसेका र दुईजना उद्धारकर्मीलाई सामान्य चोट लागेकाले उद्धार कार्यमा बाधा पुगेको थियो । विज्ञहरूको टोलीले सुरुङ र वरपरको माटो परीक्षण गर्न सर्वेक्षण सुरु गरेको थियो । सुरुङमा फसेका मजदुरहरूलाई खाना, पानी, अक्सिजन र बिजुली आपूर्ति निरन्तर जारी राखियो । सुरुङमा रहेका केही व्यक्तिले बान्ता भएको गुनासो गरेपछि उनीहरूलाई औषधी पनि खुवाइएको थियो । १५ नोभेम्बर २०२३ सिल्क्यारा सुरुङमार्गको काममा प्रयोग गरिएको औगर ड्रिलिङ मेसिनले काम गरेन । यसपछि एनएचआईडीसीएलले उद्धार कार्यलाई तीव्रता दिन नयाँदिल्लीबाट अत्याधुनिक अमेरिकी औगर मेसिन मागायो । १६ नोभेम्बर २०२३ सुरुङमा उच्च क्षमताको अमेरिकी औगर मेसिन स्थापना गरियो । मध्यरातपछि औगर मेसिनले काम गर्न थाल्यो । १७ नोभेम्बर २०२३ औगर मेसिनबाट ड्रिलिङको काम रातभरि जारी रह्यो । मेसिनले २२ मिटर ड्रिल गरी चारवटा स्टिल पाइप हाल्यो । पाँचौं पाइप बिछ्याउने क्रममा मेसिनमा केही ठोक्किएपछि ठूलो आवाज आएको थियो, त्यसपछि ड्रिलिङको काम रोक्नुपरेको थियो । मेसिन पनि बिग्रिन पुग्यो । त्यसपछि उद्धार कार्यमा सहयोग गर्न इन्दौरबाट अर्को उच्च क्षमताको औगर मेसिन बोलाइएको थियो । १८ नोभेम्बर २०२३ सुरुङमा रहेको हेभी मेसिनबाट भाइब्रेसनका कारण भग्नावशेष खस्ने डरले ड्रिलिङ सुरु हुन सकेको थिएन । प्रधानमन्त्री कार्यालयका अधिकारी र विज्ञ टोलीले सुरुङको माथि तेर्सो ड्रिलिङ गरेर कामदारसम्म पुग्ने विकल्पसहित पाँचवटा योजनामा सँगै काम गर्ने निर्णय गरेका थिए । १९ नोभेम्बर २०२३ केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले उद्धार कार्यको समीक्षा गर्दा ड्रिलिङ रोकिएको थियो। कामदारसम्म पुग्नका लागि औगर मेसिनबाट तेर्सो ड्रिलिङ नै उत्तम विकल्प भएको उनले बताए । उनले दुई–तीन दिनमा सफलता मिल्ने विश्वास व्यक्त गरे । २० नोभेम्बर २०२३ प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री धामीसँग फोनमा कुराकानी गर्दै सुरुङमा भइरहेको उद्धार कार्यको जानकारी लिएका थिए । यससँगै सुरुङमा फसेका मजदुरहरूको मनोबल उच्च राख्न जोड दिइएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषमा ड्रिल गरेर ६ इन्च ब्यासको पाइपलाइन हालेका थिए। त्यसपछि सुरुङमा फसेका मजदुरलाई पहिलोपटक पूरा खाना पठाइएको थियो । यसका साथै कपडा र अन्य अत्यावश्यक सामग्री पनि उपलब्ध गराइएको थियो । तर, औगर मेसिनको अगाडि ठूलो चट्टान आएपछि ड्रिलिङ रोकिएको थियो र सुरु हुन सकेन । २१ नोभेम्बर २०२३ उद्धारकर्मीहरूले सुरुङमा फसेका मजदुरहरू सकुशल रहेको पहिलो भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा सेतो र पहेँलो हेलमेट लगाएका मजदुरहरू पाइपबाट खाना लिएर एकअर्कासँग कुरा गरिरहेको देखियो। सिल्क्यारा सुरुङको बारकोट छेउमा दुईवटा बम विष्फोट गराइएको थियो भने अर्कातर्फबाट ड्रिलिङ सुरु भएको थियो । तर, यो वैकल्पिक विधिबाट मजदुरसम्म पुग्न ४० दिन लाग्ने विज्ञहरूले बताएका थिए । एनएचआईडीसीएलले सिल्क्याराको छेउबाट औगर मेसिनबाट फेरि तेर्सो ड्रिलिंग सुरु गरेको थियो । २२ नोभेम्बर २०२३ ८ सय मिलिमिटर ब्यासको स्टिल पाइपलाइन भग्नावशेषको ४५ मिटर गहिराइमा पुग्यो। कुल ५७ मिटर भग्नावशेषमध्ये १२ मिटर छिर्न बाँकी थियो । एम्बुलेन्स सुरुङ बाहिर पार्क गरिएको थियो । यसबाहेक घटनास्थलबाट ३० किलोमिटर टाढा रहेको चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा ४१ शैयाको विशेष वार्ड निर्माण गरिएको थियो । राति अबेरसम्म फलामको रड र गर्डर खोलिएपछि पुनः उत्खनन अवरुद्ध भएको थियो । २३ नोभेम्बर २०२३ अवरोधका कारण उद्धार कार्य ६ घन्टा ढिलो भएको थियो । अवरोध हटाएपछि पुनः ड्रिलिङ सुरु भयो । बुधबार अवरुद्ध भएपछि १.८ मिटर ड्रिलिङमा प्रगति भएको प्रदेश सरकारका नोडल अधिकारीले बताए । औगर मेसिनमुनिको प्लेटफर्ममा समस्या आएपछि पुनः ड्रिलिङ रोकिएको थियो । २४ नोभेम्बर २०२४ अवरोध हटाएर २५ टन तौल भएको औगर मेसिनबाट पुनः ड्रिलिङ सुरु गरिएको हो । तर, केही समयपछि फलामको रडका कारण पुनः ड्रिलिङ रोकियो । २५ नोभेम्बर २०२३ औगर मेसिन बिग्रिएपछि म्यानुअल ड्रिलिङ गर्ने निर्णय भएको थियो । योसँगै ठाडो ड्रिलिङको विषयमा पनि छलफल सुरु भएको थियो । त्यसपछि सुरुङमा अड्किएको औगर मेसिनको ब्लेड काट्ने र निकाल्ने काम गरियो । २६ नोभेम्बर २०२३ सुरुङको माथिबाट ठाडो ड्रिलिंग सुरु गरिएको थियो । यससँगै ड्रिफ्ट टनेल निर्माणको काम पनि जारी छ । अन्य खानीहरूबाट पनि म्यानुअल ड्रिलिङका लागि बोलाइएको थियो । साथै, लेजर र प्लाज्मा कटरबाट औगर मेसिनको ब्लेड काट्ने क्रमलाई बढाएर राति अबेरसम्म ठाडो ड्रिलिङ १९ मिटरभन्दा बढी ड्रिल गरिएको थियो । २७ नोभेम्बर २०२३ त्यस दिन पनि ठाडो ड्रिलिंग कार्य जारी रह्यो । यससँगै मजदुरलाई छोटो समयमा बाहिर निकाल्न ड्रिफ्ट टनेल बनाउने योजना पनि बनाइयो । म्यानुअल उत्खननका लागि ६ सदस्यीय मुसा खानी कामदारको टोली पनि आइपुगेको थियो । यसपछि साँझ मुसा खानीको टोलीले सेनाको सहयोगमा हातले उत्खनन थाले । अर्कातर्फ, ३६ मिटरसम्म भर्टिकल ड्रिलिङको काम पनि राति सम्पन्न भयो । २८ नोभेम्बर २०२३ मुसा खानीको टोलीले रातभरि हातैले खन्ने काम गर्यो। यसपछि आज बिहानै देशका जनताले खुसीको खबर पाउन सक्ने खबर आयो– सुरुङमा फसेका मजदुरहरूलाई जुनसुकै बेला बाहिर निकाल्न सकिन्छ । तर, उद्धार कार्य सम्पन्न हुनुअघि साँझ भइसकेको थियो र साँझ ७ः४७ बजे पहिलो मजदुरलाई बाहिर निकालिएको थियो । मुसा खानी टोलीले सुरुङको करिब १२ मिटर उत्खनन गरे, जहाँ पाइपहरू हालेर मजदुरहरूलाई सुरक्षितरूपमा बाहिर निकालियो । एजेन्सीकाे सहयाेगमा

को हुन् पाकिस्तानका ती अर्बपति व्यापारी ? जसको जालमा इमरान खान फसे

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको खराब दिनको अन्त्य हुने छाँट देखिएको छैन । विशेष अदालतले गोप्य कागजात चुहावट प्रकरणमा इमरानविरुद्धको मुद्दा जेलमै चल्ने बताएको छ । अर्कातर्फ, नेसनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीले अदियाला जेलमा इमरान खानलाई भेटेको थियो । यस क्रममा उनीमाथि अल-कादिर ट्रस्ट मुद्दामा लागेको आरोपबारे सोधपुछ गरिएको थियो । इमरान खान र उनकी श्रीमतीमाथि ५० अर्ब पाकिस्तानी रुपैयाँ (पीकेआर) वैध बनाउन बहरिया टाउन लिमिटेडबाट अर्बौं रुपैयाँ र सयौं बिघा जमिन अपचलन गरेको आरोप छ । यो सम्पूर्ण मामला अल कादिर विश्वविद्यालय निर्माणका लागि अवैधानिकरूपमा जग्गा अधिग्रहणसँग सम्बन्धित छ । यसमा बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) मार्फत् घरजग्गा व्यवसायी रियाज मलिकविरुद्धको सम्पत्ति शुद्धीकरण (मनी लन्ड्रिङ) मुद्दामा अवैधरूपमा कमाएको १४ करोड अमेरिकी डलरडलरको रिकभरी समावेश छ। पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि मेलमिलाप सम्झौतासँग सम्बन्धित जानकारी लुकाएर मन्त्रिपरिषदलाई भ्रमित गरेको आरोप लागेको छ । सम्झौताअनुसार प्राप्त रकम राष्ट्रिय कोषमा जम्मा गर्नुपर्ने थियो । बेलायतको नेशनल क्राइम एजेन्सीले पाकिस्तानी व्यापारी रियाज मलिकबाट रकम बरामद गरेपछि उनलाई पाकिस्तान पठाएको थियो । ५७ बिघा जग्गा उपहारमा दिइयो त्यतिबेला खान प्रधानमन्त्री थिए र उनले यो रकम राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा व्यापारीलाई सर्वोच्च अदालतले लगाएको ४ खर्ब ५० अर्ब रूपैयाँ जरिवानाको आंशिक भुक्तानीमा प्रयोग गर्न दिए । व्यापारी रियाज मलिकले पञ्जाबको झेलममा अल-कादिर विश्वविद्यालय स्थापना गर्न खान र उनकी पत्नी बुशरा बीबीले बनाएको ट्रस्टलाई ५७ एकड जमिन उपहार दिएका थिए। खानकी पत्नी बुशरा बीबी पनि मुद्दामा अभियुक्त छिन् । एनएबीले बुशरा बीबीलाई पठाएको यसअघिको नोटिसमा भनिएको छ, ‘यस अवैध र बेइमान पक्षको बदलामा ‘बाहरिया टाउन लिमिटेड’ले अल-कादिर युनिभर्सिटी ट्रस्टलाई पैसा हस्तान्तरण गरेको छ, जसको तपाईं (बुशरा बीबी) ट्रस्टीमध्ये एक हुनुहुन्छ । चन्दा, ४ सय ५८ कनल जग्गा, २८.५ करोड, भवन र अन्य प्रकारका सामग्री तथा आर्थिक लाभ प्रदान गरिएको थियो । तपाईंले बहरिया टाउनसँग चन्दाको स्वीकृतिमा हस्ताक्षर गर्नुभयो।’ को हुन् मलिक रियाज ? मलिक रियाजले अल-कादिर ट्रस्ट घोटालामा पक्राउ परेका इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । उनले आफू प्रधानमन्त्री हुँदा इमरानले करोडौंको जमिन हडपाएको आरोप लगाएका थिए । ७० वर्षीय रियाज मलिक रियल इस्टेट कम्पनी ‘बबहरिया टाउन लिमिटेड’का संस्थापक तथा अध्यक्ष हुन् । यो कम्पनीको व्यापार पाकिस्तानभरि फैलिएको छ । कम्पनीको व्यापार पाकिस्ताना सबै प्रमुख सहर, कराँची, लाहोर, रावलपन्डी र इस्लामावादमा फैलिएको छ । मिडिया रिपोर्टका अनुसार रियाजसँग करिब १ खर्ब २५ अर्ब रुपैयाँ ९भारु० बराबर सम्पत्ति छ। घरजग्गाबाहेक उनको शिक्षा, आतिथ्य र स्वास्थ्य ढसेवाको व्यवसाय छ । उनले सन् १९८० को दशकमा ठेकेदारका रूपमा काम गर्न थालेका थिए । सन् १९९५ मा उनको निर्माण कम्पनी हुसेन ग्लोबलले पाकिस्तानी नौसेनासँग सम्झौता गरेको थियो । पाकिस्तानको राजनीतिक वृत्तमा पनि रियाजको राम्रो प्रभाव छ ।

अस्ट्रेलियाले जनवरीदेखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

सिड्नी । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताए । अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने खुलासा गरेको भए पनि अहिलेसम्म सुरु मिति बताएको थिएन । लामो समयसम्म धूम्रपान गर्नेहरूलाई धूम्रपान छाड्न सहयोग गर्ने तरिकाका रूपमा सरकारहरूलाई भेपिङ बिक्री गरिएको मन्त्री बटलरले बताए । ‘यसलाई एउटा मनोरञ्जक उत्पादनका रूपमा बिक्री गरिएको थिएन, विशेषगरी हाम्रा बालबालिकालाई लक्षित गरिएको थिएन तर यो त्यही बन्यो’, उनले भने, ‘अधिकांश भेपमा निकोटिन हुन्छ र बालबालिका दुर्व्यसनी बन्दैछन् ।’ १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारले एक विज्ञप्तिमा बताएको छ । विज्ञप्तिमा ‘तर्कसङ्गत प्रमाण’ लाई उदृत गर्दै भेप प्रयोग गर्ने युवा अस्ट्रेलियालीहरूमा धूम्रपान गर्ने सम्भावना करिब तीन गुणा अधिक हुने बताइएको छ । सरकारले अस्ट्रेलियामा डिस्पोजेबल भेपको उत्पादन, विज्ञापन वा आपूर्तिलाई गैरकानूनी घोषणा गर्नका लागि सन् २०२४ मा कानून पनि ल्याइने बताएको छ । भेपमाथिको आयात प्रतिबन्धलाई अस्ट्रेलियाली मेडिकल एसोसिएसनले स्वागत गरेको छ । ‘अस्ट्रेलिया धूम्रपानको दर र त्यसपछि हुने स्वास्थ्य हानिलाई कम गर्न विश्वमा अग्रणी रहेको छ, त्यसैले भेपिङलाई रोक्न र भविष्यको हानिलाई रोक्नका लागि सरकारको निर्णायक कदम अत्यन्त स्वागतयोग्य छ’, एसोसिएसनका अध्यक्ष स्टिभ रोब्सनले भने । रासस/एएफपी