अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो
एजेन्सी । अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षा भन्दा थप वृद्धि हासिल गरेको छ । गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् । यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च हो । बजारमा बेरोजगार दर बढिरहेको बेला यस्तो आकँडा सार्वजनिक बएको हो । स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ।
इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डामा २० मिलियन अमेरिकी डलर चाहिने
कम्पाला । इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसकाविरुद्ध लड्न कम्तीमा पनि २० मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको हो । युगाण्डका स्वास्थ्य मन्त्री मार्गरेट मुहांगाले बिहीबार यहाँको संसदमा बोल्दै यहाँ इबोलाको प्रकोपका विरुद्धमा लड्न सो रकम आवश्यक रहेको जानकारी दिए । उनले पछिल्लो समयमा इबोलाको प्रकोपले देशको स्वास्थ्य क्षेत्रलाई नै चुनौती दिन थालेको भन्दै यसका लागि सो रकम आवश्यक परेको र यसबाट इबोलाको औषधि उपचारका लागि अन्य स्वास्थ्य संरचनाहरु निर्माण गर्नुपर्ने अवस्था रहेको जानकारी संसदमा दिएका हुन् । हालैमात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम ग्याब्रेसियसले पनि युगाण्डा र यसका छिमेकी देशहरुमा इबोलाको प्रकोप बढिरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि रकम आवश्यक रहेको जानकारी ट्वीट गरेर दिएका थिए । यसअघि युगाण्डको सरकारले पनि देशको ठूलो मात्राको बजेट इबोला नियन्त्रणका लागि खर्च भइसकेको तर अझै महामारी नरोकिएकाले ठूलो रकम आवश्यक रहेकाले सहयोगका लागि विश्व समुदायसँग आग्रह पनि गरेको थियो । रासस
फिलिपिन्स आँधी : एक सय पचास जनाको मृत्यु
फिलिपिन्स । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको छ । त्यसैगरी एक सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । आँधीसँगैेको बाढीका कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ । रासस