फिलिपिन्स आँधीमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

मनिला । फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६९ जना घाइते भएका छन् भने ६३ जना बेपत्ता भएका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ । कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ । आठ हजार छ सय आठ किसान र माछुवारा प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको छ ।

भारतले चिनी निर्यातको प्रतिबन्धलाई थप १ वर्ष निरन्तरता दिने, नेपालमा मूल्य बढ्न सक्ने

एजेन्सी । भारत सरकारले चिनी निकासीमा लगाएको प्रतिबन्ध २०२३ अक्टुबरसम्म लम्ब्याएको छ । घरेलु बजारमा चिनीको बढ्दो मूल्यलाई ध्यानमा राख्दै भारतले १ जुन २०२२ देखि ३१ अक्टोबर २०२२ सम्म चिनीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । चिनीको उच्च निकासीपछि भारतमा चिनीको मूल्य बढेको मानिएको छ । भारत विश्वको सबैभन्दा ठूलो चिनी उत्पादक र ब्राजिल पछि दोस्रो ठूलो निर्यातकर्ता हो। बंगलादेश, इन्डोनेसिया, मलेसिया र दुबईमा भारतले सबैभन्दा धेरै चिनीको निर्यात गर्दै आएको छ । नेपालमा पनि भारतबाट ठूलो परिमाणमा चिनी आयात हुने गर्दछ । भारतले गत वर्ष ७० लाख र यो वर्षमा ८१ लाख चिनी निर्यात गरिसकेको छ । भारतले चिनी निर्यातलाई बन्द गरेपछि त्यसको असरले नेपालमा समेत चिनीको मूल्यमा प्रभावन पर्न सक्ने अनुमान गरिएको छ ।

गुजरातमा १ सय ४३ वर्ष पुरानो पुल चुँडिदा १ सय ४० बढीकाे मृत्यु

एजेन्सी । भारत,गुजरातको मोरबीमा आइतबार साँझ १४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा १ सय ४० भन्दा धेरैको मृत्यु भएको जनाइएकाे छ। पुल चुँडिदा करिब ४ सय मानिसहरु नदीमा डुब्न पुगेका थिए । मृत्यु हुनेमा ५० भन्दा बढी बालबालिका र महिला रहेका छन् । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ। आइतबार साँझ ६ः३० बजे ७ सय ६५ फिट लम्बाई र ४ दशमलव ५ फिट चौडाई रहेको झोलुङ्गे पुल चुँडिदा दुर्घटना हुन पुगेको हो । २५ अक्टोबरमा सर्वसाधारणका लागि खुला गरिएको पुलमा आइतबार अत्याधिक भिड हुन पुगेको थियो । सोही अधिक भिडका कारण दुर्घटना भएको बताइएको छ । जीर्णोद्धारका लागि ६ महिना बन्द रहेको पुल गत असोज २५ गते मात्र खोलिएको थियो । यसको उद्घाटन २० फेब्रुअरी १८७९ मा मुम्बईका गभर्नर रिचर्ड टेम्पलले गरेका थिए।