होन्डाले दुई पाङ्ग्रे विद्युतीय सवारीमा तीन अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने

जापान । जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ । विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको पनि जानकारी दिएको छ । ‘आफ्ना मोटरसाइकलहरूको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा एक सय अर्ब येन लगानी गरिरहेको छ र सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप चार सय अर्ब येन लगानी गर्नेछ’, होन्डाले बुधबार एक विज्ञप्तिमा भनेको छ । कम्पनीले सन् २०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकाइ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकाइभन्दा बढी हो । प्रारम्भमा आन्तरिक प्रज्वलनशील इन्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगतरूपमा डिलरकहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् ।’ ग्र्यान्ड भ्यू रिसर्चका अनुसार विश्वव्यापी विद्युतीय मोटरसाइकल बजार सन् २०२२ मा ३० अर्ब डलरको थियो । आंशिकरूपमा इन्धनको लागत र जलवायु परिवर्तनका बारेमा सार्वजनिक चिन्ताका कारण सन् २०२३ र सन् २०३० को बीच यसको बजार प्रतिवर्ष १९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । रासस

चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित

चीन । चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकाङ्क घटेर ४९ दशमलव चारमा आएको छ । यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९ दशमलव आठको पूर्वानुमानभन्दा पनि कमजोर थियो । चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ । तर कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास सङ्कट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ । यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ । तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित चार दशमलव नौ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ । यद्यपि अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन सङ्घर्षको सामना गरिरहेको छ । रासस

अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

अमेरिका । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उनको परामर्श संस्थाले बताएको छ । अमेरिकी शक्तिको अनौपचारिक पदोन्नतिले दोस्रो विश्वयुद्धपछिको विश्वलाई आकार दिन सहयोग गर्ने उनी महत्त्वाकांक्षी कूटनीतिज्ञ थिए । आधुनिक समयमा सम्भवतः सबैभन्दा धेरै चिनिने अमेरिकाका पूर्वविदेशमन्त्री किसिन्जरको कनेक्टिकटस्थित उनको घरमा निधन भएको किसिन्जर एसोसिएट्सले एक विज्ञप्तिमा बताएको छ । किसिन्जरको परिवारले निजीस्तरमा अन्त्येष्टि गर्ने र पछि न्युयोर्कमा स्मृति सभा आयोजना गरिने एसोसिएट्सले बताएको छ । आफ्नो यहुदी परिवार नाजी जर्मनीबाट भागेपछि न्युयोर्कमा किसिन्जर हुर्किएका थिए । विज्ञप्तिमा उनको निधनको कारण उल्लेख गरिएको छैन । उनी एक सय वर्षमा पनि सक्रिय हुनुहुन्थ्यो र जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्न चीन गएका थिए । चीन किसिन्जरका लागि सबैभन्दा दिगो विरासतमध्ये एक थियो । सोभियत सङ्घविरुद्ध शीत युद्धको लडाइँलाई धक्का दिने अपेक्षामा किसिन्जर गोप्यरूपमा बेइजिङ पुगेका थिए । परिणामस्वरूप राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७२ मा चीनको ऐतिहासिक भ्रमण गरे र पछि तत्कालीन पृथक मुलुक चीनसँग अमेरिकाले सम्बन्ध स्थापना गर्यो । अमेरिकासँगको सम्बन्धकै कारण चीनले तीव्र विकास हासिल गर्यो र वासिङ्टनसँगको बढ्दो प्रतिस्पर्धीका रूपमा विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र बन्यो । किसिन्जरलाई विश्वका अधिकांश स्थानमा तिरस्कृत गरिए पनि वासिङ्टनस्थित चिनियाँ राजदूत झी फेङले उहाँलाई ‘सबैभन्दा मूल्यवान पुरानो मित्र’ भन्दै उनको निधनले ‘हाम्रा दुवै मुलुक र विश्वका लागि ठूलो क्षति’ पुगेको बताएका छन् । अमेरिकामा किसिन्जरलाई राजनीतिक मूलधारमा पनि सम्मान प्राप्त भयो । प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका सदस्य एवं हालका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले न्युयोर्कमा उनको एक सयौँ जन्मदिनको पार्टीमा भाग लिएका थिए । ‘हेनरी किसिन्जरको निधनसँगै अमेरिकाले विदेश मामिलामा सबैभन्दा भरपर्दो र विशिष्ट आवाज गुमाएको छ’, पूर्वराष्ट्रपति एवं रिपब्लिकन जर्ज डब्लु बुसले एक विज्ञप्तिमा भनेका छन् । किसिन्जरलाई भियतनाम युद्ध अन्त्य गर्न वार्ताका लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो । यद्यपि युद्ध तुरन्तै समाप्त भएन र उनका उत्तरी भियतनामी समकक्षी ले डक थोले उक्त पुरस्कार लिन अस्वीकार गरे । वाटरगेट काण्डपछि निक्सन राष्ट्रपति पदबाट बर्खास्त हुनुभयो र किसिन्जरले उनका उत्तराधिकारी जेराल्ड फोर्डको नेतृत्वमा काम गरे । आफ्नो प्रभाव प्रतिविम्बित गर्ने अभूतपूर्व व्यवस्थामा किसिन्जरले एकैसाथ मुलुकको शीर्ष कूटनीतिज्ञ विदेशमन्त्री र राष्ट्रपतिको दाहिने हात मानिने राष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा काम गरे । रासस