बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन ४८ करोड पाउण्ड बढाउने

बङ्गलादेश । बङ्गलादेशले सन् २०३० सम्ममा कपासको उत्पादन पाँच गुणा बढाउने जनाएको छ । कपास उत्पादनका लागि धनी मानिने एसियाली मुलुक बङ्गलादेशले नयाँ प्रजातिको कपास उत्पादन गर्ने र खेतीको क्षेत्र विस्तार गर्ने लक्ष्य राखेको हो । कपास विकास बोर्डका अतिरिक्त निर्देशक मोहम्मद फख्रे आलम इब्ने ताबिबले भने, ‘कपास एक प्रमुख नगदे बाली हुन सक्छ किनभने कपडा उद्योगमा यसको बढ्दो माग पूरा गर्न हामीले यसको आयातका लागि हरेक वर्ष तीन अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ ।’ आधिकारिक तथ्याङ्कअनुसार बङ्गलादेशमा अहिले वार्षिक चार अर्ब ८ करोड पाउण्डको मागको तुलनामा वार्षिक नौ करोड ६० लाख पाउण्ड उत्पादन हुन्छ । उच्च मागको पृष्ठभूमिमा, बङ्गलादेशी टेक्सटाइल र स्पिनिङ मिलहरू र अन्य प्रयोगकर्ताहरूले भारत, संयुक्त राज्य अमेरिका, धेरै अफ्रिकी र मध्य एसियाली राष्ट्रहरू, अस्ट्रेलिया, ब्राजिल र पाकिस्तानबाट कपास आयात गर्छन् । ताबिबका अनुसार उर्वर बाँझो जमिनको ठूलो क्षेत्र प्रयोग गरी उच्च उत्पादन दिने नयाँ प्रजाती र हाइब्रिड जातका कपास उत्पादन गरी देशको दक्षिणपूर्वी पहाडी क्षेत्र र केही समतल जिल्लाहरू कपास उत्पादनलाई ४८ करोड पाउण्ड पुर्याउने लक्ष्य राखिएको छ ।

कार र ग्यासका कारण अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा वृद्धि

अमेरिका । अक्टोबरमा अमेरिकी खुद्रा बिक्रीमा अपेक्षा गरिएभन्दा वृद्धि देखिएको छ । ग्याँसको उच्च मूल्य र कार बिक्रीका कारण बढेको मूल्यको दबाबको प्रभाबपछि खर्चमा लचिलोपन देखिएको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी उपभोक्ताहरूले किराना सामानदेखि लुगाफाटासम्मका सबै चीजहरू महङ्गो बनाएको कारण बढ्दो लागतलाई समायोजन गर्दा एक महिना अघि बिक्रीमा गिरावट आएको भएपनि अक्टोबरमा यसमा वृद्धि भएको छ । दशकौंपछिको उच्च मुद्रास्फीतिको स्तरको सामना गर्दै, अमेरिकी फेडरल रिजर्भले यस वर्ष आफ्नो मानक ऋण दरलाई पटकपटक बढाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थालाई मन्दीमा धकेल्ने जोखिमको बाबजुद पनि यसमा लगातार चार उच्चस्तरका वृद्धिहरू समावेश छन् । तर अक्टोबरमा खुद्रा बिक्री सेप्टेम्बरको तुलनामा १।३ प्रतिशतले बढेर ६९४।५ अर्ब डलर पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ । कार विक्रीमा १।५ प्रतिशतले वृद्धि भएको र इन्धनको मूल्य बढेसँगै पेट्रोल पम्पमा बिक्रीमा ४।१ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष युक्रेनमा रूसले गरेको आक्रमणपछि ग्यास पम्पहरूले उच्च मूल्यमा ग्यास बेचेका छन् भने हालका हप्ताहरूमा यो रेकर्ड क्रमशः कम भएको छ । रेस्टुरेन्ट र बारको बिक्री पनि अक्टोबरमा लचिलो रह्यो, जुन अघिल्लो महिनाको तुलनामा १।६ प्रतिशतले बढेको छ । तथ्याङ्क मौसमी रूपमा समायोजित गरिएको छ तर मूल्यमा परिवर्तनलाई ध्यानमा राख्दैन, त्यसैले लागत बढ्दै जाँदा, किनमेलले डलरको भाउ विस्तार गर्दैन र अमेरिकी परिवारहरूले मुख्य सामानहरूमा आफ्नो कमाईको अधिक प्रयोग गर्नुपरेको छ । समग्रमा खुद्रा बिक्री गत वर्षको सोही अवधिको तुलनामा ८।३ प्रतिशतले बढी हो । विशाल ई–कमर्स कम्पनी अमेजनसहित प्रबिधि उद्योगमा समस्याको संकेतको बावजुद, अनलाइन खुद्रा विक्रेताहरूको बिक्री गत महिना १।२ प्रतिशतले बढेको छ । प्यान्थियन म्याक्रोइकोनोमिक्सका इयान सेफर्डसनले रिपोर्टअघि हालैको विश्लेषणमा भनेका छन्, ‘बढ्दो मूल्यका अलावा, वास्तविक आयमा उल्लेखनीय दबाबको बावजुद नागरिकले महामारीको समयमा जम्मा भएको बचतलाई उपभोग कायम राख्नका लागि कम गर्न चाहेका देखिन्छ ।’ सेप्टेम्बरमा कोभिड–१९ को अवधिमा थप व्यक्तिगत बचत १।३ ट्रिलियन अमेरिकी डलर रहेकोले यो प्रक्रिया अझै केही समयका लागि जारी रहने उनको अनुमान छ ।उनले भने, ‘तर, मानिसहरू बचतलाई अझ कम गर्न इच्छुक छन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन ।’ रासस

भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलर लगानी बढाउँदै अमेरिका

अमेरिका । संयुक्त राज्य अमेरिकाले भारतका स्वास्थ्य पूर्वाधारमा एक करोड ५० लाख डलरभन्दा बढी लगानी गर्ने भएको छ । सङ्घीय सरकारको सहायता निकाय ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टले भारतसँगको साझेदारी बढाउन स्वास्थ्य क्षेत्रमा लगानी गर्न लागेको ह्वाइट हाउसले जनाएको छ । इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले भारतमा सेवा नपुगेका स्थानमा नेत्रपरीक्षण केन्द्र, शल्यक्रिया, सामाजिक उद्यम, महिला उद्यमशीलता विकास तथा महिलाले उत्पादन गरेका सरसफाइका सामग्रीको प्रवद्र्धनमा लगानी गरिने ह्वाइट हाउसले बताएको छ । अमेरिका, इण्डोनेसिया र युरोपेली सङ्घका नेताले इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा विश्वव्यापीरूपमा निम्न र मध्यम आय भउका देशमा गुणस्तरीय पूर्वाधारमा लगानी बढाउनुपर्ने तथा विश्वअर्थतन्त्रलाई पुनः गतिशील एवम् सुदृढ तुल्याउनुपर्नेमा जोड दिएका छन् । शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति जो बिडेन, इण्डोनेसियाका राष्ट्रपति जोको विडोडो, र युरोपेली आयोगका अध्यक्ष उर्सुला फोेन डेयर लेनले अर्जेन्टिना, क्यानडा, फ्रान्स, जर्मनी, भारत, जापान, गणतन्त्र कोरिया, सेनेगल र संयुक्त अधिराज्यका मन्त्री तथा नेतासँग बेग्लाबेग्दै भेटेर साझा चासोका विश्वव्यापी मुद्दाका साथै पूर्वाधार निर्माणमा लगानी बढाउनेबारेमा विचारविमर्श गर्नुभएको थियो । ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेष्टमेन्टमार्फत लगानी गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो । रासस