प्राविधिक गडबडी देखिएपछि टेस्लाले अमेरिकाबाट २० लाख गाडी लियो फिर्ता

काठमाडौं । इलन मस्कको विद्युतीय गाडी निर्माता कम्पनी टेस्ला इंकले प्राविधिक गडबडीका कारण २० लाख सवारी साधन फिर्ता लिएको छ । मस्कको कम्पनीले फिर्ता बोलाएका गाडीमा सन् २०१५ देखि अमेरिकामा अटोपाइलट सुविधा सक्रिय भएका मोडलहरू समावेश छन् । अमेरिकी अटो नियामकका अनुसार अटोपाइलट प्रणालीमा भएको गडबडी सच्याउन ती विद्युतीय सवारीसाधन फिर्ता लिइएको हो । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा यो प्रणालीले सडक र ट्राफिक अवस्थाबारे चालकलाई सचेत गराउन काम गर्छ । अटोपाइलट प्रविधिले गाडीको वरपरको ट्राफिक मूल्यांकन गर्न क्यामेरा र सेन्सरहरू प्रयोग गर्छ । यसले सवारीलाई सुरक्षित लेनमा राख्नका लागि सडकमा लेन मार्किङको अनुगमन गर्छ । यद्यपि, आलोचकहरूले सुरुदेखि नै टेस्लाको अटोपाइलट प्रणालीका धेरै कमजोरीहरूलाई औंल्याउँदै आएका थिए । अटोपाइलट प्रणाली असफलताले धेरै दुर्घटना टेस्लाको अटोपाइलट प्रणाली विवादास्पद छ र यसले धेरै दुर्घटनाहरू निम्त्याएको छ । अमेरिकाको नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन (एनएचटीएसए) ले त्यस्ता दुर्घटनाहरूको अनुसन्धान सुरु गरेको झन्डै दुई वर्ष भइसकेको छ । सेल्फ-ड्राइभ मोड सक्रिय हुँदा चालकलाई सचेत गराउन अटोपाइलट प्रणालीले प्रयोग गर्ने कार्यहरू राम्ररी काम नगर्दा दुर्घटना हुने सम्भावना रहने एनएचटीएसएले अनुसन्धानको क्रममा पत्ता लगाएको हो । टेस्लाले समस्या समाधान गर्ने कम्पनीले फिर्ता लिएका विद्युतीय सवारीसाधनहरूमा थप नियन्त्रण निर्देशनहरू थप्ने छ । यसका साथै यसले सफ्टवेयर ओभर द एयर (ओटीए) लाई पनि अपडेट गर्ने छ, जसले गर्दा चालकले गाडी चलाउँदा बढी ध्यान दिन सक्नेछन् । यसका लागि कम्पनीले ग्राहकबाट कुनै शुल्क लिने छैन । कम्पनीले यो वर्ष तेस्रोपटक आफ्ना कार फिर्ता गरेको हो । यसअघि अक्टोबर २०२३ मा टेस्ला मोडेल एक्सका ५४ हजार ६ सय ७६ यूनिट फिर्ता लिइएको थियो । यो समस्या समाधान गर्न टेस्लाले सफ्टवेयर अपडेट जारी गर्‍यो, जुन निः शुल्क थियो। यसअघि अगस्टमा कम्पनीले टेस्लाको नयाँ मोडेल ३ र मोडेल वाईका २ लाख ८० हजार युनिट स्टेयरिङ कन्ट्रोल र पावर स्टेयरिङमा क्षति पुगेको कारण फिर्ता लिएको थियो । त्यो अनुसन्धानपछि टेस्लाले स्वीकार गरेको छ कि ‘प्रणालीको नियन्त्रणहरू चालकको दुरुपयोग रोक्न पर्याप्त नहुन सक्छ ।’ ‘स्वचालित प्रविधिले सुरक्षा सुधार गर्नका लागि ठूलो प्रतिज्ञा राख्छ तर जब यो जिम्मेवारीपूर्वक प्रयोग गरिन्छ,’ एनएचटीएसएका एक अधिकारीले भने, ‘यो सफ्टवेयर अद्यावधिक भएपछि निगरानी जारी राख्छ।’ टेस्लाका एक पूर्वकर्मचारीले बीबीसीलाई यो प्रविधि सुरक्षित नभएको विश्वास गरेको एक हप्तापछि घटना बाहिर आएको हो। टेस्लाका ती पूर्वकर्मचारी लुकास क्रुप्सकीले ह्विस्टलब्लोअर्सलाई मान्यता दिने ब्लुप्रिन्ट पुरस्कार जितेपछि बीबीसीलाई भने, ‘मलाई लाग्दैन कि हार्डवेयर र सफ्टवेयर तयार छ। यसले हामी सबैलाई असर गर्छ किनभने हामी अनिवार्यरूपमा सार्वजनिक सडकमा प्रयोग गरिरहेका छौं ।’ फिर्ताको समाचारमा प्रतिक्रिया दिँदै क्रुप्सकीले यो कदम सही दिशामा भए पनि यो समस्या अमेरिकामा मात्र नभएको बताए । ‘हार्डवेयर अमेरिका, चीन आदि सबै देशमा कुदिरहेका टेस्लामा समान छ,’ उनले भने । बीबीसी

धुवाँ आक्रमणका कारण भारतीय संसद् अवरुद्ध, चार जना पक्राउ

नयाँदिल्ली । भारतको संसदीय कारबाही बुधबार ठूलो सुरक्षा उल्लङ्घनपछि अवरुद्ध भएको छ । दुई व्यक्तिले व्यवस्थापिकाभित्र धुवाँ निकालेर संसदीय कारबाहीलाई अवरोध पुर्याएका थिए । सुरक्षाकर्मीहरूले उक्त जोडीलाई पक्राउ गरेको थियो । साथै अन्य दुई व्यक्तिलाई भवनबाहिर हिरासतमा लिइएको थियो । तीमध्ये एक जना ओभरहेड दर्शक दीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेका थिए । अधिवेशनको आधिकारिक फुटेजमा एउटा उपकरण बन्द गर्नुअघि एक व्यक्तिलाई नाराबाजी गर्दै र स्तब्ध सांसदहरूको बीचको टेबलमा चढ्दै गरेको देखाइएको थियो । उपकरण बन्द भएका कारण चेम्बरमा पहेँलो धुवाँ फैलिएको थियो । उक्त जोडीको मनसाय र उनीहरू सुरक्षा जाँचबाट कसरी बच्न सफल भए भन्नेबारे स्पष्ट भएको छैन र नयाँदिल्ली प्रहरीले अझैसम्म उक्त घटनाबारे कुनै विवरण जारी गरेको छैन । केही समयको स्थगनपछि संसद् पुनः सुरु भयो । सभामुख ओम बिरलाले संसद् अवरुद्ध गर्ने चार जनालाई पक्राउ गरिएको सांसदहरूलाई जानकारी गराए । ‘दुवै व्यक्तिलाई पक्राउ गरिएको छ र बाहिरका दुई जनालाई पनि पक्राउ गरिएको छ’, उनले भने, ‘संसद्ले गहन अनुसन्धान गरिरहेको छ र दिल्ली प्रहरीलाई पनि आवश्यक निर्देशन दिइएको छ ।’ चिन्ता लिनुपर्ने केही छैन भन्दै उनले धुवाँ मानव स्वास्थ्यका लागि हानिकारक नभएको सांसदहरूलाई आश्वासन दिए । सांसद हनुमान बेनिवालले यसै वर्षको सुरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको भारतको नयाँ संसद्को सुरक्षामाथि यसले ‘धेरै गम्भीर प्रश्न’ उठाएको बताए । घटनाको समयमा सदनमा करिब एक सय ५० सांसद थिए भन्दै उनले सांसदहरूले घटनाको गहन अनुसन्धानको माग गरेको बताए । नयाँदिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो । उक्त हमलामा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीलाई गोली हानी मारेका थिए । उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो । प्रधानमन्त्री मोदीले यसअघि बुधबार उक्त हमलाका पीडितहरूलाई श्रद्धाञ्जली दिएका थिए । उनले भने, ‘खतरासामु उनीहरूको साहस र बलिदान हाम्रो देशको स्मृतिमा सदाका लागि कोरिने छ ।’ रासस/एएफपी

एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

चीन । एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो । एसियाली विकास समीक्षा डिसेम्बर २०२३ले तेस्रो त्रैमासिकमा घरायसी उपभोग र सार्वजनिक लगानीमा वृद्धि गरेपछि चीनको अर्थतन्त्र यस वर्ष ५.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । क्षेत्रीय अर्थतन्त्र भने  यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४।७ प्रतिशतको प्रक्षेपण गरिएको थियो । आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ । उद्योगमा दोहोरो अङ्कको वृद्धिसँगै जुलाई–सेप्टेम्बरमा अर्थतन्त्रको  अपेक्षितभन्दा धेरै विस्तार भएपछि भारतको वृद्धिको दृष्टिकोण ६.३ प्रतिशतबाट बढेर ६.७ प्रतिशत पुगेको छ । एडिबीको प्रतिवेदनअनुसार चीन तथा भारतको स्तरवृद्धिमा उत्पादन क्षेत्रको कमजोर भुमिका देखापरेका कारण दक्षिणपूर्वी एसियाको प्रक्षेपण प्रभावित भएको हो । उत्पादित सामानको  कमजोर निर्यात तथा न्युन मागका कारण यस वर्ष दक्षिणपूर्वी एसियाको वृद्धिदर ४.६ प्रतिशतबाट घटेर ४.३ प्रतिशतमा झरेको छ । प्रतिवेदनका अनुसार मध्य एसियामा अर्थतन्त्रको दृष्टिकोण थोरै बढेको छ भने प्रशान्त क्षेत्रको अर्थतन्त्रका लागि गरिएका अनुमानहरू सबै जसो अपरिवर्तित छन् । नतिजा प्रभावित हुनुलाई संयुक्त राज्य अमेरिकालगायत उन्नत अर्थतन्त्रमा लगातार बढेको ब्याज दरहरू जिम्मेवार देखिएका छन् । यसले कमजोर क्षेत्रका अर्थतन्त्रमा उच्च ऋण भएकाहरूमा वित्तीय अस्थिरतामा योगदान पु¥याउन सक्छ । विकसित एशियाले चुनौतीपूर्ण विश्वव्यापी वातावरणको सामनाका बाबजुद पनि बलियो गतिमा वृद्धि भइरहेको एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले बताएका छन् । उनका अनुसार यस क्षेत्रमा मुद्रास्फीति पनि बिस्तारै नियन्त्रणमा आउँदैछ । उच्च विश्वव्यापी ब्याज दरदेखि एल निनो जस्ता जलवायु घटनाहरू सम्म जोखिमहरू बढ्दै छन् । एशिया तथा प्रशान्त क्षेत्रका सरकारहरूले आफ्नो लचिलो अर्थतन्त्र वृद्धि सुनिश्चित गर्न सतर्क रहनु आवश्यक छ । चालु वर्षको लागि यस क्षेत्रको मुद्रास्फीति दर अघिल्लो ३.६ प्रतिशतको प्रक्षेपणबाट ३.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष ३.५ प्रतिशतको प्रक्षेपणको बावजुद आगामी वर्ष मुद्रास्फीति ३.६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । एल निनो मौसम ढाँचा वा रूस–युक्रेन द्वन्द्वको कारणले हुने सम्भावित खाद्य र ऊर्जाको आपूर्ति अवरोधहरूले पनि मुद्रास्फीतिलाई पुनःजगाउन सक्ने सन्दर्भ प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस