इरानले विश्वकपमा कतारलाई दैनिक २५० टन खाद्यान्न निर्यात गर्दै

इरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोशन अर्गनाइजेसन टीपीओ प्रमुखले आइतबार जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौता अनुसार कतारमा केही ढुवानी शुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दे उल्लेख गरेको छ। कतार लगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिएका छन्। पेमनपाकले भने यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृतरूपमा विकास हुन सकेको छैन। उनले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई ३ अर्ब अमेरिकी डलरमा पुर्याउने रोडम्याप तयार गरेको पनि बताएका छन् ।

रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

एजेन्सी । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् । सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् । स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ । मस्को समयअनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।

एशिया–प्रशान्त समूह निर्माणका लागि चिनियाँ राष्ट्रपति सीको आग्रह

बैङ्कक । चिनियाँ राष्ट्रपति सी चिनफिङले एशिया–प्रशान्त क्षेत्रका समुदायको भावनालाई अनुसरण गर्दै साझा भविष्यसहितको एशिया–प्रशान्त समुदायतर्फ निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरू एउटै डुङ्गामा यात्रा गर्ने यात्रुसरह एकअर्काको हेरचाह गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । २९ औँ एशिया–प्रशान्त आर्थिक सहयोग एपेक आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै सीले भने, ‘एशिया–प्रशान्त क्षेत्र हाम्रो घर हुनुका साथै विश्वव्यापी आर्थिक विकासको शक्तिकेन्द्र पनि हो’ । बितेका दशकहरूमा, यस क्षेत्रमा बलियो आर्थिक सहयोगले ‘एशिया–प्रशान्त चमत्कार’ सिर्जना गरेको छ जुसको विश्वभर प्रशंसा गरिएको छ । राष्ट्रपति सीले अन्तर्राष्ट्रिय निष्पक्षता र न्याय कायम गर्न र शान्ति र स्थिरताको एशिया–प्रशान्त क्षेत्र निर्माण गर्न राष्ट्रहरूलाई आग्रह गर्दै पारस्परिक सम्मान, ऐक्यबद्धता र सहयोगको महत्वलाई विशेष जोड दिन सम्मेलनमा सहभागी नेताहरूसँग आग्रह गरे । उनले खुलापन र समावेशिताप्रति प्रतिबद्ध रहन र एशिया–प्रशान्त क्षेत्रका सबैका लागि समृद्धि ल्याउन सामुहिक प्रतिवद्धताका लागि आह्वान गरे । एशिया–प्रशान्त सहयोगलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेर्नुपर्ने, क्षेत्रीय सहयोगको मुख्य च्यानलका रुपमा एपेकको भूमिकालाई कायम राख्नुपर्ने र एशिया–प्रशान्त सहयोगलाई सही दिशामा लैजानुपर्ने उनले बताए । रासस