८ हजार तलब बुझ्ने नितिन अहिले कमाउँछन् वार्षिक ७२ करोड
काठमाडौं । केही वर्ष पहिले ८ हजार भारुको जागिरबाट आफ्नो करियर सुरु गरेका नितिन कामत अब कम्पनीको कुल सम्पत्तिको हिसाबले मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनले जिममा भेटेका एक गैरआवासीय भारतीय (एनआरआई) को खाता ह्यान्डल गरेर उद्यमशीलता सुरु गरे । ती एनआरआई नितिनका पहिलो ग्राहक बने । यही अवसरबाट उत्साहित नितिनले जागिर छाडेर जेरोधा सुरु गरे । ग्राहक संख्याका हिसाबले देशकै सबैभन्दा ठूलो ब्रोकरेज फर्म जेरोधालाई नितिन र उनका भाइ निखिल कामतलगायत पाँचजनाले मिलेर स्थापना गरेका हुन् । जेरोधा कम्पनीको फाइलिङ र कर्पोरेट मामिला मन्त्रालयलाई दिएको जानकारीअनुसार नितिन र निखिल कामतले सन् २०२३ मा ७२ करोड भारु तलब लिएका छन् । २०२२ मा जेरोधाले २० अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएको थियो र यसको राजस्व आम्दानी ५० अर्बबराबर थियो। नितिन भारतकै कान्छा अर्बपतिको सूचीमा परेका छन् र अब मुकेश अम्बानीलाई चुनौती दिने स्थितिमा पुगेका छन् । नितिनको करियर यात्रा प्रतिमहिना ८ हजारमा कल सेन्टरको जागिरबाट सुरु भएको थियो । जेरोधाको सफलतालाई भारतको युनिकर्न बूमको अनुपम उदाहरणका रूपमा हेर्न सकिन्छ। नितिनले १७ वर्षको उमेरमा सेयर बजारमा कारोबार सुरु गरेका थिए । त्यतिबेला उनीहरू कल सेन्टरमा सँगै काम गर्थे । नितिनले कम्तीमा १२ ब्रोकरेज फर्ममा काम गरे । यसैबीच उनले सेयर बजार कारोबारमा धेरै ठाउँमा ठूलो खाडल रहेको र यो खाडललाई आफ्नो अनलाइन ब्रोकरेज सेवाबाट पूर्ति गरेर सफलताको मौका मिल्ने बताए । सन् २०११ मा इकोनोमिक टाइम्समा एउटा लेख प्रकाशित गरेपछि विश्वले नितिन कामतलाई याद गर्यो । जेरोधाको व्यापार मोडेल कम मार्जिन र उच्च मात्रामा आधारित छ, जसको परिणाम सम्पत्ति वितरण लगानीका लागि कुनै शुल्क र अन्य ट्रेडहरूका लागि नाममात्र शुल्क छैन । आईआईटी र आईआईएमका प्रतिभाशाली विद्यार्थीहरूलाई भर्ती गर्नुको सट्टा कामत बन्धुले विभिन्न पृष्ठभूमिका युवाहरूलाई भर्ती गर्न थाले। कामतलाई फरक तरिकाले काम गरेर जीवनमा सहजै सफलता मिल्ने विश्वास छ । एजेन्सीको सहयोगमा
भियतनामले आर्थिक कार्यक्रम विस्तार गर्न विचार गर्नु पर्छ : विश्व बैंक
हनोई । भियतनामी अर्थतन्त्रले अझै पनि सङ्कटको सामना गरिरहेको अवस्थामा आफ्नो योजनाबद्ध लगानीलाई पूर्ण रूपमा कार्यान्वयन गर्न र समग्र मागलाई समर्थन गर्न आर्थिक सहायता कार्यक्रम २०२२/०२३ को कार्यान्वयनलाई अर्को वर्षसम्म विस्तार गर्न विश्व बैंकले सुझाव दिएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको भियतनाम म्याक्रो मोनिटरिङ रिपोर्टमा यस्तो सुझाव दिइएको भियतनाम न्यूज एजेन्सीले जनाएको छ । बैंकले भियतनाममा अल्पकालीन आर्थिक स्थायित्व र दीर्घकालीन रूपमा आर्थिक वृद्धिलाई समर्थन गर्न घरजग्गा बजारको विश्वास बहाली र स्वस्थ विकासलाई बढावा दिने प्रयासहरू महत्वपूर्ण हुने बताएको छ । प्रतिवेदनका अनुसार विश्वव्यापी अनिश्चितताका बावजुद सन् २०२३ को पहिलो ११ महिनामा भियतनाममा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता निरन्तर वृद्धि भई २८ अर्ब ८० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०२२ को सोही अवधिको तुलनामा १४.८ प्रतिशतले बढी हो । यसले भियतनामको आर्थिक सम्भावनाप्रति लगानीकर्ताको विश्वास प्रतिबिम्बित गरेको बैंकले जनाएको छ । बैंकले सन् २०२३ मा भियतनामको आर्थिक वृद्धिदर ४.७ प्रतिशत, सन् २०२४ मा ५.५ प्रतिशत र सन् २०२५ मा ६.० प्रतिशत रहने प्रक्षेपण गरेको थियो । रासस
त्रिविको ४९औँ दीक्षान्त गिनिज बुक प्राप्तिको प्रक्रियामा
काठमाडौं । एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालयले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रकारका सूचना सम्प्रेषण भइरहेका बेला विश्वविद्यालयले यही पुस २ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको ४९औँ दीक्षान्त समारोहमा अफिसियल वल्र्ड रेकर्डका प्रतिनिधि आएर अवलोकन गरेको र आफूहरूले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिका लागि दाबी गरेको विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति तथा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको उक्त समारोहमा त्रिविका विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका थिए । त्रिविको ६१औँ ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । निवेदन दिएकामध्ये स्नातक तहतर्फ आठ हजार ९८, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ विद्यार्थी दीक्षित भएका थिए । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए । रासस