कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु
एजेन्सी । कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३ लडाकू समूहले ५० जनाको हत्या गरेको आरोप गत बिहीबार सरकारले लगाएको थियो । एम २३ ले जवाफी हमला गर्दै आरोपहरू ‘आधारहीन’ भएको र आफ्नो आक्रमण नागरिकहरूप्रति लक्षित गरेको कुरालाई अस्वीकार गरेको छ । सरकारका प्रवक्ता प्याट्रिक मुयायाका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकमा डीआरसीका अध्यक्ष फेलिक्स शिसेकेदीले किशिशेमा १०० भन्दा बढी नागरिकको नरसंहार भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेका छन्। शिसेकेदीले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्न सरकारलाई निर्देशन दिएको र देशभर झण्डा आधा झुकाइने उनले जानकारी दिए । मुयायाले भने, ‘शोकको अवधि सोमबार टेलिभिजनमा पीडितहरूको सहयोगका लागि आयोजित चन्दा सङ्कलन कार्यक्रमबाट अन्त्य हुनेछ ।’ उक्त नरसंहारको खबर सार्वजनिक भएदेखि नै स्वतन्त्र छानबिनको माग उठ्न थालेको छ । राष्ट्रपतिले न्यायमन्त्रीलाई अविलम्ब आन्तरिक अनुसन्धान सुरु गर्न र यस युद्ध अपराधबारे प्रकाश पार्न अन्तर्राष्ट्रिय अनुसन्धानका लागि काम गर्न आग्रह गरेको मुयायाले बताए । वर्षौंदेखि सुषुप्त अवस्थामा रहँदै आएको एम २३ कङ्गोली तुत्सी विद्रोही समूह हो । उसले गत वर्ष नोभेम्बरमा फेरि हतियार उठाएको थियो र जुनमा युगान्डासँगको सीमामा रहेको बुनागाना शहर कब्जा गरेको थियो । उक्त समूह केही समयको शान्तिपछि अक्टोबरमा फेरि आक्रमणमा उत्रियो र आफ्नो नियन्त्रणमा रहेको क्षेत्रलाई व्यापक रूपमा विस्तार गर्दै गोमातर्फ अघि बढेको छ । किन्सासाले आफ्नो सानो छिमेकी रुवान्डाले एम २३ लाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । यो संयुक्त राष्ट्रसङ्घका विज्ञ र अमेरिकी अधिकारीहरूले पनि हालैका महिनाहरूमा औंल्याएका छन् । किगालीले उक्त आरोप अस्वीकार गर्दै आएको छ । फोटो : रोयटर्सबाट ।
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
सांकेतिक तस्विर एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो ४.५० बजे आगलागी भएको थियो । उद्धारपछि दुर्घटनास्थलमा फसेका सात जनालाई अस्पताल लगिएको थियो । पाँच जनाको आकस्मिक उपचारको क्रममा मृत्यु भएको छ भने अन्य सामान्य घाइतेको उपचार जारी छ । जुझाउको नगरपालिका सरकारले दुर्घटनाको बारेमा अनुसन्धान गर्न टोली गठन गरेको जनाएको छ ।
अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल
एजेन्सी । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताए अनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिडडुल गर्दै थिए । त्यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दे घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।