चीन–अरब रणनीतिक साझेदारी सुदृढ गर्ने सहमति

एजेन्सी । चीन र अरब लिगका सदस्य राष्ट्रबीच पारस्परिक सहयोग सुदृढ गर्ने सहमति भएको छ । चीनका राष्ट्रपति सी चिनफिङको साउदी अरबको राजकीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो । राष्ट्रपति सीसहित अरब लिगका २१ सदस्य राष्ट्रको सहभागितामा गत शुक्रबार भएको चीन–अरब राष्ट्र शिखर सम्मेलनमा आपसी सहयोग अभिवृद्धि तथा साझा भविष्य निर्माणका निम्ति चीन– अरब समुदायबीच सहयोग सुदृढ गर्ने सहमति भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । पहिलोपटक भएको उक्त शिखर सम्मेलनले जारी गरेको रियाद घोषणापत्रमा चीन–अरब राष्ट्रबीच सहयोगका क्षेत्र विस्तार गर्ने, रणनीतिक साझेदारीलाई अझ फराकिलो बनाउन सम्भावनाको खोजी गर्ने तथा चीन–अरब राष्ट्र सहयोग मञ्चको प्रारुपअन्तर्गत आपसी सहयोगलाई सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । एकचीन सिद्धान्तको पालना, ताइवान चीनको अविभाज्य भूभाग भएको वास्तविकताप्रति दृढ समर्थन चीनको सार्वभौमिकसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका खातिर सहयोग गर्नेमा पनि घोषणापत्रमा विशेष जोड दिइएको छ । सिरिया, लिबिया र यमनलगायत क्षेत्रीय सङ्कटको राजनीतिक समाधान अन्तर्राष्ट्रिय सम्झौता र सिद्धान्तका आधारमा गर्न क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय प्रयास हुनुपर्नेमा चीन र अरब लिगका नेताहरूले आह्वान गरेका छन् । शिखर सम्मेलनमा सहभागी नेताले युक्रेन सङ्कटको राजनीतिक समाधान खोजिनुपर्नेमा जोड दिँदै राष्ट्रसङ्घीय बडापत्रका सिद्धान्त, राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका मूल्यमान्यताअनुसार शान्तिसुरक्षा कायम गर्ने वैश्विक प्रयासमा समर्थन गर्ने बताएका छन् ।

युक्रेनको ओडेसामा १५ लाखभन्दा बढी मानिस अन्धकारमा

युक्रेन । ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित हुँदा युक्रेनको ओडेसामा अन्धकार छाएको छ। उक्त बन्दरगाह सहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अलजजिराले उल्लेख गरेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह सहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन्। युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो। अधिकारीका अनुसार शनिबार बिहानको समयमा रुसी आक्रमणले महत्त्वपूर्ण प्रसारण लाइन र मेसिनरीलाई प्रहार गरेको थियो। अहिले अस्पताल र प्रसूति वार्डलगायत महत्त्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ। ‘अहिलेसम्म सहर बिजुलीविहीन छ,’ राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोसेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन्। युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर ओडेसामा यस वर्षको फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसंख्या थियो। यसैबीच नोभेम्बरमा दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रुसले आक्रमण गरेको र स्थिति बिग्रँदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन्। ‘करिब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,’ निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् । रासस

‘आर्थिक– सामाजिक विकासका निम्ति बेल्ट एन्ड रोड इनिसिएटिभ उपयोगी’

काठमाडौं । चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छ । साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्तामा अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने बताए । दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए । चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने बताए । साथै उनले द्विपक्षीय सहयोग प्रवद्र्धन अथाह सम्भावना रहेका बताए । ऊर्जा र खानी उद्योग बाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्ण पूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे । मन्त्री अल्खोरायफले भाषा शिक्षा र व्यावसायिक तालिमजस्ता जनता–जनताबीचको आदानप्रदानमा साझेदारी विस्तार गर्न दुवै पक्षलाई आग्रह गरे । चीन आर्थिक क्षेत्रमा मात्रै नभएर अन्य धेरै क्षेत्रमा पनि साउदीको महत्वपूर्ण साझेदार भएको उनले बताए । चीनले अघि सारेको विश्वको विकास प्रयासको प्रशंसा गर्दै साउदी मन्त्रीले हाल विश्वले सामना गरिरहेका धेरै चुनौतीको सामना कुनै पनि देश एक्लैले गर्न नसक्ने त्यसनिम्ति सहयोग आवश्यक पर्ने यथार्थ सुनाए । उनले एकापसका सहयोगबाटै विकासका लक्ष्य हासिल गर्न सहज हुने बताए ।