कमोडिटी ट्रेडका लागि सीजी एग्रोटेक र डीएमसीसीबीच सम्झौता

काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन गरिएको हो । हालै सम्पन्न एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदान प्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ । यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजीएग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल-युएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे । ‘डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने । डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् । ‘यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मूल्याङ्कन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।

विश्वले अझै चर्को गर्मीको सामना गर्न तयार रहनुपर्छ : संयुक्त राष्ट्रसङ्घ

काठमाडौं । उत्तरी गोलार्धका देशहरु बढ्दो तापक्रमबाट आक्रान्त भइरहेका बेला विश्वले अझै तीव्र गर्मीको सामना गर्न तयार रहनुपर्ने संयुक्त राष्ट्रसङ्घले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लूएमओ)को विश्व तापमान वृद्धि मामिला वरिष्ठ सल्लाहकार जोन नायरनले यी घटनाहरू तीव्रतामा बढ्दै जाने र विश्वले थप तीव्र गर्मीको लागि तयारी गर्नु पर्ने बताए । उत्तरी गोलार्धमा थप उच्च तापक्रमको सामना गरिरहेको बेला भीषण गर्मी र डढेलोका कारण ग्रीसको समुद्री किनारको रिसोर्टनजिकै रहेका १ हजार २ सय बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपरेको यूरोपले मङ्गलबार जनाएको छ । स्वास्थ्य अधिकारीहरूले उत्तरी अमेरिकादेखि युरोप र एसियासम्मका मानिसहरूलाई जलवायु परिवर्तनका कारण विश्व तापमानमा वृद्धि भइरहेको बताउँदै प्रशस्त पानीको सेवन गर्न र घामको प्रत्यक्ष सम्पर्कबाट सुरक्षित रहन आग्रह गरेका छन् । नायरनका अनुसार गर्मीको प्रकोप सबैभन्दा घातक प्राकृतिक खतरामध्ये एक हो र प्रत्येक वर्ष हजारौं मानिसले रोकथाम गर्न सकिने गर्मीसँग सम्बन्धित कारणले ज्यान गुमाइरहेका छन् । बढ्दो शहरीकरण, उच्च तापक्रमको चरम सीमामा वृद्धि र वृद्ध जनसङ्ख्या भएका देशहरूमा जनसाङ्ख्यिकीय परिवर्तनका कारण तीव्र गतिमा बढ्दै गएको स्वास्थ्य जोखिम गर्मी हो । नायरनका अनुसार सन् १९८० को दशकयता उत्तरी गोलार्धमा एक्कासी गमी बढ्ने क्रम ६ गुणाले बढेको छ । गत हप्ता डब्लुएमओले अत्यधिक गर्मीको चेतावनी र परामर्शले संयुक्त राज्य अमेरिकामा १० करोडभन्दा बढी मानिसलाई समेटेको बताएको थियो । युरोपियन स्पेस एजेन्सीले इटालीको सिसिली र सार्डिनिया टापुमा ४८ डिग्री सेल्सियस (११८ डिग्री फरेनहाइट) को उच्च तापक्रम हुने अनुमान गरेको छ । संयुक्त राष्ट्रसङ्घीय मौसम निकायका अनुसार सन् २०२१ मा सिसिलीमा सबैभन्दा उच्च ४८.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

औषधि अभावमा गाजाका ९ हजार क्यान्सरपीडितको जीवन जोखिममा

गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसङ्ख्यामा क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताएका छन् । महानिर्देशक स्काइकले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई उद्धृत गर्नुहुँदै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएको बताए । पत्रकारहरूसँगको कुराकानीमा उनले यो सङ्ख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताए । गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ । गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् । स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोबास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस