विहारमा विषाक्त मदिरा सेवनबाट बाइस जनाको मृत्यु
विहार । विहार राज्यको सारण जिल्लाका तीन वटा गाउँमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु भएको छ भने अन्य २० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ । राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिइ स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्रीवितरणविरुद्ध अभियान चलाएपछि विहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो । प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनीरूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । सारण जिल्ला राज्यको राजधानी पटनाबाट करिब ६० किलोमिटर उत्तरमा अवस्थित छ । अवैधरूपमा बनाइएको मदिरा सेवनबाट हुने मृत्युलाई भारतमा सामान्य मानिन्छ । अवैधरूपमा उत्पादन हुने मदिरालाई कडा बनाउन कीटनाशकलायत रसायन प्रयोग गरिन्छ । यसरी उत्पादित मादक पदार्थ कम मूल्यमा बिक्री हुने गरेको छ । कर छलेर अवैध तरिकाले उत्पादन गर्ने यो व्यवसाय लाभदायक उद्योग भएको छ । यो वर्षको प्रारम्भमा विषाक्त मदिरा पिउँदा पश्चिम भारतको गुजरात राज्यमा कम्तीमा २८ जनाको मृत्यु भएको थियोभने ६० जना बिरामी भएका थिए । गुजरातमा पनि मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० मा भारतको उत्तरी पञ्जाब राज्यमा पनि विषाक्त मदिरा पिएर एक सय २० जनाले ज्यान गुमाएका थिए । रासस
विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा
काठमाडौं । कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले पराजित मोरक्को टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा पनि गरेका छन् । बुधवार भएको खेलमा २–० गोलले मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो । अफ्रिकी देश मोरक्कोको अभूतपूर्व उपलब्धिको उनीहरूले सराहना गरेका छन् । विश्वकपको इतिहासमा पहिलोपटक अफ्रिकी मुलुक मोरक्को सेमिफाइनलमा पुगेर फ्रान्ससँग आमनेसमाने भएकामा उनीहरू हर्षित थिए । ‘फ्रान्ससँग पराजित भए पनि मोरक्कन फाइनलमा हामीसँगै हुनेछन्, यो जित सबै फ्रान्सेली भाषीको हो,’ मध्यप्यारिसको बास्टिल स्क्वायर नजिक विजय उत्सवमा सहभागी २२ वर्षीय एड्रिन भिग्नाउले ‘डिफेन्डिङ च्याम्पियन’ क्रोएसियालाई हराएर सेमिफाइनलमा मोरक्को पुग्नु ठूलो उपलव्धि भएको उल्लेख गर्दै भने । मोरक्कन टोलीको आँसु उनीहरूको उत्कृष्ट प्रदर्शनले पुछेको उनले बताए । फ्रान्स र अर्जेन्टिनाबीचको फाइन खेलको व्यग्र प्रतीक्षामा आफू रहेको बताउँदै उनले अर्जेन्टिनी ‘स्टार’ खेलाडी लियोनल मेस्सीको प्रहार र प्रस्तुति पनि रोचक हुनेमा आफू ढुक्क रहेको जनाए । प्रतिद्वन्द्वी भएपनि उनको प्रहार गर्ने शैली आकर्षक रहेको उनले बताए ।
ताइवानमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
ताइवान । ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको र त्यसपछि धेरै हल्का पराकम्पनहरू गएको टापुको मौसम विभागले जनाएको छ। बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झण्डै ३० किलोमिटर टाढा छ किलोमिटर गहिराइमा केन्द्रविन्दु रहेको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५।९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ । क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन् । ‘ताइवानमा भूकम्पको धक्का धेरै कम महशुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिएका छन् ।’ अहिलेसम्म आठ वटा पराकम्पन गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौ ताइपेईमा चाङले बताएका छन् । ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुबै रेलहरू कम गतिमा चलिरहेको तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्शननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ । कतिपय ६.० म्याग्निच्युडको वा सोभन्दा बढीको भूकम्प घातक साबित हुन सक्छ, यद्यपि धेरै भूकम्प कहाँ र कति गहिराइमा आउँछ भन्ने कुरामा भर पर्छ । गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवनहरु ढलेका थिए । रासस