हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत, संयुक्त राष्ट्रसंघलाई १० लाख डलर प्रदान

एजेन्सी । भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ । भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसंघलाई १० लाख अमेरिकी डलर प्रदान गरेको छ । संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवर्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नुका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरे । भारत सरकारले हिन्दी भाषाको प्रवर्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । संयुक्त राष्ट्रसंघका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापी स्तरमा पुर्‍याउन सहायता रकम उपयोग हुने बताइएको छ । रासस

बैंकहरुको तरलता अनुगमनमा कडाइ गर्ने

काठमाडौं । युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले वित्तीय सङ्कटको भविष्यको जोखिम कम गर्न युरो क्षेत्रमा बैंकहरूको तरलताको अधिक निगरानी गर्न चाहेको शनिबार घोषणा गरेको छ । ‘हामीले बैंकहरूलाई सेप्टेम्बरमा साप्ताहिक आधारमा जानकारीको लागि अनुरोध पठाउने निर्णय गरेका छौँ । हामीलाई तरलता वृद्धिको पछिल्ला धेरै तथ्याङ्क पाउन र राम्रो निगरानी गर्न अनुमति दिनको अनुरोध भएअनुसार यूरो क्षेत्रमा तरलताबारे अनुगमन अनुगमन लागि अभियान शुरू गरिएको हो,’ यूरोपमा बैंकहरूको पर्यवेक्षणका लागि प्रभावकारी निकायका अध्यक्षले भने । एन्ड्रिया एनरियाले इसीबीको वेवसाइटमार्फत् जारी जानकारीमा भने, ‘बैंकहरूले हामीलाई मासिक रुपमा पठाउने तरलतासम्बन्धी सूचना नियमितरूपमा पठाउनु पर्नेछ ।’ यस तथ्याङ्कमा बैंकको खातामा तरलताको परिपक्वता र ईसीबीसँग पुनरकर्जा लेनदेन जस्ता विवरणहरू समावेश हुनुपर्नेछ । मार्चमा संयुक्त राज्य अमेरिकामा क्रेडिट सुइसको पतन पछि क्षेत्रीय बैंकहरूको आर्थिक सङ्कट आएको र यसले विश्वव्यापी वित्तीय सङ्कटको डरलाई उजागर गरेको थियो । यस क्षेत्रको नियामक युरोपियन बैंकिङ अथोरिटी (एबीई)ले जुनमा गरेको सिफारिसअनुसार यो कदम चालिएको हो । सन् २००८ को वित्तीय सङ्कटको पुनरावृत्ति हुन नदिन यूरोपेली सङ्घले यसै बर्षको जुनको अन्त्यमा बैंकहरूमा नयाँ कडा नियमहरू अपनाएको थियो ।

इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा कुकर, बिरालोको मासु बिक्रीमा प्रतिबन्ध

एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर– बिरालोको मासु बेच्न नपाइने भएको छ । मासुका निम्ति पाशविकरुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर–बिरालो बचाऊ अभियान थालेका थिए । चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर हिजो शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको छ । विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा जनाइएको छ । कुकुर–बिरालाको मासु बेच्न नपाइने सरकारी आदेशपछि मानव उपभोगका खातिर हजारौँ पशुले चरम यातना खपेर अब मर्नुनपर्ने भएको उल्लेख गर्दै सोसाइटीले सरकारी निर्णयलाई ऐतिहासिक कदम भनेको छ । साथै उसले उक्त निर्णयको स्वागत गरेको छ । स्थानीय संस्कृतिका कारण कुकुर–बिरालाको मासु बेच्ने विश्वका अति थोरै मुलुकको सूचीमा इण्डोनेशिया रहेको छ । शुक्रबार पशुबजारका छ जना व्यापारी र तोमोहन नगरका प्रमुखबीच कुकुर–बिरालाको मासु नबेच्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । व्यापारीले अब उप्रान्त कुकुर–बिरालाको मासु नबेच्न प्रतिबद्धतासमेत जनाएका सोसाइटीले विज्ञप्तिमा उल्लेख गरेको छ । कुकुर–बिरालाको मासु बिक्रीमा रोक लगाउनुपर्ने अभियानको अगुवाइ गरेका सोसाइटीका निर्देशक लोला वेब्बर व्यापारी र नगरप्रमुखबीच भएको सम्झौताले हजारौँ छाउराको ज्यान जोगिने तथा कुकुर–बिरालाको चोरी तस्करी पनि नियन्त्रण हुने बताए । उक्त टापुमा बर्सेनि एक लाख ३० हजार कुकर मासुका लागि मारिने गरेका थिए । पशुलाई नमरुञ्जेल कुट्ने, झन्ड्याउने, जिउँदै आगोलगाउनेजस्ता क्रुर एवम् अमानवीय व्यवहारका कारण सुलावेसीको पशुबजार अति आलोचित छ । सन् २०२० मा चिनियाँ शहर वुहानबाट कोरोना भाइरस यस्तै मासुबजारबाट मानवमा सरेको भन्ने जानकारी बारम्बार गराएपछि मासु व्यापारी सहमत भएका बताइएको छ । यसबाट रेबिजको सङ्क्रमण रोक्न पनि मद्दत पुग्ने वास्तविकताबारे उनीहरूलाई अवगत गराइएको थियो । तोमोहनमा २५ वर्षदेखि कुकुर–बिरालाको मासु बेच्दै आएका एल्भिनस पोनोग उचित समयमा व्यापार बन्दको निर्णय भएको बताउँछन् । हजारौँ कुकुर मारेका उनी तिनलाई मार्न जाँदा तिनका आखाँमा आफूले त्रास देखेको र त्यसबाट आफूलाई पनि नमज्जा लाग्ने गरेको बताएका छन् । बिक्रीमाथिको प्रतिबन्ध पशु र जनसाधारणको रक्षाका निम्ति अति उत्तम भएको बताएका छन् ।