व्यवसायी शिव नाडर भारतका सबैभन्दा ठूला दानवीर

एजेन्सी । वार्षिक एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी लिस्ट २०२३ अनुसार भारतको अग्रणी सूचना प्रविधि कम्पनी एचसिएल टेक्नोलोजिजका सहसंस्थापक शिव नाडर सबैभन्दा ठूलो परोपकारी बनेका छन् । उनले सन् २०२३ मा हरेक दिन ५ करोड ६० लाख भारुका दरले हालसम्म २० अर्ब ४२ करोड दान गरेका छन् । यस वर्षको हुरून इन्डिया फिलान्थ्रोपी सूचीमा शिव नाडर, अजिम प्रेमजी, नन्दन निलेकणी, रोहिणी नीलेकणी, नितिन र निखिल कामथ, सुब्रतो बागची, सुस्मिता र एएम नाइकसहित शीर्ष १० मा २४ व्यक्ति छन् । विप्रोका संस्थापक अजिम प्रेमजीले १७ अर्ब ७४ करोड भारु दान गरेका छन् । शिव नाडरपछि यो सूचीमा अजिम प्रेमजी दोस्रो स्थानमा छन् । विप्रोका संस्थापक–अध्यक्ष प्रेमजीले २०२३ को हालसम्म उक्त रकम दान दान गरेका थिए । शीर्ष १० भारतीय परोपकारीहरूमा सात महिला छन्, जसमध्ये फिलान्थ्रोपिज संस्थापक रोहिणी नीलेकणी सबैभन्दा अगाडि छिन् । उनले २०२३ मा १ अर्ब ७० करोड भारु दान गरिन् । यससँगै उनले आफ्नो व्यक्तिगत सम्पत्तिबाट विशेषरूपमा दान गर्ने शीर्ष १० दाताहरूमा स्थान बनाएकी छिन् । रोहिणी नीलेकणी महिला परोपकारीका लागि एक रोल मोडेल हुन्, किनकि एक समय थियो जब उनी सूचीमा एकमात्र महिला थिइन् । अहिले सात महिला छन् । थर्म्याक्सको अनु आगा र उनको परिवारले २३ करोड दान दिए र यूएसबीकी लीना गान्धी तिवारीले पनि त्यति नै रकम दान गरिन् । जेरोधाका सहसंस्थापक नितिन र निखिल कामथले जलवायु परिवर्तन र वातावरणीय स्थायित्वमा समर्पित संस्थालाई १ अर्ब १० करोड दान दिए । यस वर्ष आफ्नो आधा सम्पत्ति दान गर्ने वाचा गरेका निखिल कामथ सूचीमा सबैभन्दा कान्छो दाता हुन् । एडलगिभ हुरून इन्डिया फिलान्थ्रोपी २०२३ को वार्षिक प्रतिवेदन नोभेम्बर २ मा जारी गरिएको हो । यो सूचीले भारतमा परोपकार, सामाजिक कारण र सामुदायिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति र परिवारलाई स्थान दिन्छ । यस वर्षको सूचीमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) योगदानका अतिरिक्त व्यक्तिगत कोषबाट चन्दा दिनेहरू पनि समावेश छन्। शिव नाडरले दानका लागि मुख्यतया शिक्षा, कला र संस्कृति क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् ।

भारतमा एप्पलको व्यापारमा नयाँ रेकर्ड, सीईओ कुकले साटे खुसी

एजेन्सी । भारतीय बजारमा आईफोन निर्माता कम्पनी एप्पलको व्यापार फस्टाएको छ । सेप्टेम्बरमा कम्पनीले आम्दानीमा नयाँ रेकर्ड कायम गरेको छ । भारत एक ‘अविश्वसनीय रूपमा रोमाञ्चक’ बजार बनेको कम्पनीकाे भनाइ छ । एप्पलले आर्थिक वर्ष २०२३ को तेस्रो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीले याे अवधिमा ८९.५ अर्ब डलरकाे काराेबार गरेकाे छ । कम्पनीका सीईओ टीम कुकले भारतको आम्दानी ‘अल टाइम रेकर्ड’ भएको बताएका छन् । कुक आफैंले पनि भारतमा कम्पनीको व्यापार फस्टाउँछ भन्ने कल्पना नै गरेकाे प्रतिक्रिया दिएका छन् । ‘हामी भारतमा दोहोरो अंकको बलियो वृद्धिसँगै अगाडि बढेका छौं, यो हाम्रा लागि धेरै राम्राे बजार भएको छ र एक ठूलो फोकस पनि हो,’ कुकले भारतीय बजारबारे भने, ‘यो ठूलो बजारमा हाम्रो हिस्सा एकदमै कम छ, त्यसैले यहाँ धेरै काम गर्ने अवसर छ ।’ कुकले भारत एक ‘असाधारण बजार’ भएको पनि बताएका छन् । भारतका धेरै मानिस मध्यम वर्गतर्फ लागेको पनि उनको भनाइ छ । ‘हामीले यहाँ दुईवटा स्टाेर खोलेका छौं। यिनीहरूले हामीले सुरुवाती दिनमा नै राम्रो गरिरहेका छन् । र, म अहिले जसरी चलिरहेको छ त्यसमा खुसी हुन सक्दिनँ,’ उनले भनेका छन् । एकातिर एप्पलले चीनबाट हुने आम्दानीमा एकपछि अर्को झट्का सामना गरिरहेको छ । काउन्टरप्वाइन्टको मासिक भारत स्मार्टफोन ट्र्याकरले २०२३ को जुलाई–सेप्टेम्बर त्रैमासमा एप्पलको ढुवानी वार्षिकरू पमा ३४ प्रतिशत बढेर २५ लाख नाघेको जनाएको छ । बीक्यू प्राइमका अनुसार एप्पलले भारतमा लगभग ५० प्रतिशत आम्दानी वृद्धि गरेको छ । यसको आम्दानी लगभग ५ खर्ब भारु पुर्‍याएको छ । योसँगै नाफामा पनि राम्रो वृद्धि भएको उल्लेख गरेकाे छ ।

भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा

काठमाडौं । भारतको बेरोजगारी दर २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इण्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकअनुसार भारतको बेरोजगारी दर दुई वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो । भारतमा समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुगेको छ । जुन सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा उल्लेख्य वृद्धि हो । जुन सन् २०२१ को मे यताकै उच्चस्तर हो । ग्रामिण क्षेत्रहरु यसबाट बढी प्रभावित भएका छन् । अक्टोबरमा ग्रामिण बेरोजगारी दर १०.८२ प्रतिशतमा पुगेको छ । ५ वर्षमा कमजोर मनसुन वर्षा हुनु बेरोजगारीको एउटा प्रमुख कारण रहेको बताइएको छ । जसले कृषि उत्पादनमा कमी ल्याएको छ ।