चीनद्वारा सन् २०२४ मा करिब पाँच प्रतिशत आर्थिक वृद्धिको लक्ष्य
चीन । चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ । प्रतिवेदनअनुसार यस वर्ष सहरी क्षेत्रमा एक करोड २० लाखभन्दा बढी रोजगारी सिर्जना हुने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर करिब पाँच दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको छ । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सँगको घाटाको अनुपात तीन प्रतिशत कायम गर्ने र सन् २०२३ को बजेटबाट सरकारी घाटा एक खर्ब ८० अर्ब युआनले बढ्ने गरी सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिलाई निरन्तरता दिइने पनि प्रतिवेदनमा उल्लेख छ । चीनमा यस वर्ष स्थानीय सरकारहरूका लागि ३९ खर्ब युआनको विशेष प्रयोजनका ऋणपत्र जारी गरिने छ । यो गत वर्षभन्दा एक सय अर्ब युआन बढी हो । रासस
भियतनामको राजधानी हनोइ प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा
भियतनाम । भियतनामको राजधानी हनोईलाई मङ्गलबार प्रदूषणको बाक्लो धुवाँले ढाक्दा अग्ला भवनहरू अस्पष्ट देखिएका थिए भने सहरका करिब ९० लाख मानिसले विषाक्त हावामा सास लिन बाध्य हुनुपरेको थियो । मङ्गलबार दिउँसो वायु निगरानी वेबसाइट आइक्युएयरको विश्वका सबैभन्दा प्रदूषित सहरहरूको तालिकामा हनोई शीर्ष स्थानमा छ । फोक्सोमार्फत रक्तप्रवाहमा प्रवेश गर्न पर्याप्त क्यान्सर बनाउने सूक्ष्म कणहरू पिएम २.५ प्रदूषकहरूको स्तर ‘धेरै अस्वास्थ्यकर’ का रूपमा वर्गीकृत गरिएको छ र विश्व स्वास्थ्य सङ्गठनको वार्षिक दिशानिर्देशअनुसार यो २४ गुणाभन्दा बढी छ । हालैका वर्षहरूमा हनोईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिकरूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठूलो सङ्ख्यामा मोटरसाइकल र कारहरूबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कषि जलनले समस्या थप बढेको छ । ‘पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ’, कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भने, ‘सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।’ उच्च आद्र्रताले बाक्लो कुहिरोले हनोईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताहरूले विशेषरूपमा भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रहमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् । वायु प्रदूषणमा विश्व बैंकको पछिल्लो प्रतिवेनमा हनोईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दिशानिर्देशहरूभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदय रोग र फोक्सोको क्यान्सरजस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ । रासस
कर्मचारी अवकाशको उमेर बढाउँदै सिङ्गापुर
सिङ्गापुर । सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका हुन् । उनले पुनः अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पुर्याउने पनि बताएका छन् । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए । कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो । रासस/सिन्ह्वा