जापानी अर्थतन्त्र सङ्कुचनमा
एजेन्सी । जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचित भएको प्रारम्भिक आँकडाले देखाएको छ । यो माइनस शून्य दशमलव एक प्रतिशतको सहमति प्रक्षेपणभन्दा खराब हो । लगातार कम उपभोक्ता खर्च र वैश्विक अर्थतन्त्रको कमजोरीले जापानको निर्यातमा असर गरेका कारण लगातार दुई त्रैमासिकमा वृद्धिपछि यो गिरावट आएको हो । समीक्षा अवधिमा निर्यातमा शून्य दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । यो अघिल्लो चौमासिकको तीन दशमलव नौ प्रतिशतभन्दा कम हो । त्यस्तै आयातमा एक प्रतिशतले वृद्धि हुँदा समग्र विकासमा प्रभाव परेको छ । निजी आवासीय तथा कर्पोरेट लगानीसहित निजी मागमा शून्य दशमलव छ प्रतिशतले गिरावट आएको छ । ब्लुमबर्ग न्युजका अनुसार जापानको अर्थतन्त्र गत वर्षको तेस्रो चौमासिकको तुलनामा यस वर्षको सोही अवधिमा दुई दशमलव एक प्रतिशतले सङ्कुचन भएको छ । बजारको अपेक्षा भने माइनस शून्य दशमलव चार प्रतिशत थियो । बढ्दो महँगीले उपभोक्ताहरू त्रसित भएकाले दुई वर्षअघि पदभार सम्हालेपछि प्रधानमन्त्री किसिदाको पोल रेटिङ सबैभन्दा तल्लो तहमा पुगेको छ । उनले यसै महिना अर्थतन्त्रलाई बढावा दिन र मुद्रास्फीतिको पीडा कम गर्ने उद्देश्यले एक सय ७० खर्ब येन (एक खर्ब १३ अर्ब २० करोड अमेरिकी डलर) को प्रोत्साहन प्याकेज घोषणा गरे । कोभिड–१९ को महामारीसँग जुध्न सरकारले पछिल्लो तीन वर्षमा अर्थतन्त्रमा अर्बौं डलर लगानी गरिसकेको छ । पछिल्लो योजनामा प्रतिव्यक्ति ४० हजार येनको आम्दानी र आवासीय कर कटौती तथा कम आम्दानी भएका परिवारलाई ७० हजार नगद हस्तान्तर गरिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषको अनुमानअनुसार आंशिकरूपमा येनको गिरावटका कारण जर्मनी यो वर्ष जापानलाई उछिनेर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र बन्न तयार छ । यद्यपि जर्मनीको अर्थतन्त्र पनि यो वर्ष कमजोर भइरहेको छ ।
हजारौँ बिरामी र आश्रय लिएका नागरिक रहेको अस्पतालमा इजराइली सेनाद्वारा आक्रमण
एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ । इजराइली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–शिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन् । इजराइल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको ‘निर्दिष्ट क्षेत्रमा हमासविरुद्ध सटिक र लक्षित’ कारवाही गरिरहेको बताएको छ । अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसरभित्र ट्याङ्क तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौँ सैनिक र कमान्डोहरूलाई देख्न सकिने एएपफीलाई बताएका छन् । अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजराइलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यकता’ का आधारमा छापा मारिएको बताएको छ । स्थानीय अधिकारीहरूका अनुसार हजारौँ बिरामी, कर्मचारी तथा विस्थापित सर्वसाधारण उक्त अस्पताल परिसरभित्र रहेका छन् । प्रत्यक्षदर्शीहरूले अस्पताल परिसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन् । एनेस्थिटकबिना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव भएका परिवारहरू कोरिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन् । अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले भने, ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन ।’ कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालका रूपमा प्रयोग गर्दै आएको इजराइलले लगातार दाबी गर्दै आएको छ तर उक्त दाबीलाई हमासले अस्वीकार गरेको छ । सेनाले हमासको उक्त प्रयोगले अस्पतालको ‘अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित स्थिति’ लाई ‘जोखिम’ मा पारेको बताएको छ । प्यालेस्टिनी लडाकू समूहले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अल–शिफा अस्पतालमा इजराइली आक्रमणका लागि ‘पूर्णरूपमा जिम्मेबार’ भएको आरोप लगाएको छ । गाजामा कुनै अधिकार नभएको तर ऐतिहासिकरूपमा प्यालेस्टिनीहरूको प्रतिनिधि निकाय प्यालेस्टिनी प्राधिकरणले ‘अस्पतालभित्र गरिएको नरसंहारविरुद्ध’ चेतावनी दिएको छ ।
भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा घट्यो
एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ४ दशमलव ८७ प्रतिशत रहेको छ । सेप्टेम्बरमा, सीपीआई ५.०२ प्रतिशत थियो । खाद्य मुद्रास्फीति पनि सेप्टेम्बरको ६.६२ प्रतिशतबाट अक्टोबरमा ६.६१ प्रतिशतमा झरेको तथ्यांकले देखाएको छ । अधिकारीहरूकाअनुसार सबै राज्यहरू समेट्ने १ हजार ११४ शहरी बजारहरू र १ हजार १८१ गाउँहरूबाट मूल्य डेटा सङ्कलन गरिएको छ । अक्टोबर २०२३ को महिनामा, एनएसओ (राष्ट्रिय तथ्याङ्क कार्यालय) ले ९९.८ प्रतिशत गाउँ र ९८.६ प्रतिशत सहरी बजारबाट मूल्य सङ्कलन गरेको छ भने बजारअनुसार मूल्यहरू ग्रामिण क्षेत्रमा ८९.० प्रतिशत र शहरीका लागि ९२.० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । अक्टोबरमा खुद्रा मुद्रास्फीतिमा भएको सहजता मुख्यतया खाद्यान्नको मूल्यमा आएको तिब्र्र कमी, विशेषगरी तरकारीको मूल्य र एलपीजी मूल्य कटौतीको प्रभावलाई दिइएको छ ।