भारतको हवाई आक्रमणमा परी मसूद अजहर परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु
काठमाडौं । चरमपन्थी संगठन जैश-ए-मोहम्मदले जनाएको छ कि पाकिस्तानमाथि भारतले गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र उनका चार नजिकका सहयोगीको ज्यान गएको छ । यस सम्बन्धमा जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । मृतकमध्ये मसूद अजहरकी ठूलो बहिनी, भान्जा, भान्जाकी श्रीमती, भान्जी र परिवारका पाँच बच्चा पनि छन् । संगठनले यो पनि जनाएको छ कि आक्रमणमा मसूद अजहरका तीन नजिकका सहयोगी र तीमध्ये एक सहयोगीकी आमा पनि मारिएका छन् । विज्ञप्तिअनुसार पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमाथि भएको हमलामा मसूद अजहरका नातेदारहरूको मृत्यु भएको हो । फेब्रुअरी २०१९ मा जैश-ए-मोहम्मदले जम्मू-कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० जना सैनिकको मृत्यु भएको थियो । २२ अप्रिलमा पहलगाममा भएका वीभत्स आतङ्कवादी हमलाका निर्दोष पीडितहरू र तिनका परिवारलाई न्याय दिनका लागि भारतले ‘अपरेशन सिन्दुर’ सुरु गरेको जनाएको छ । यस कारबाहीमा ९ आतङ्कवादी शिविरहरूलाई लक्षित गरिएको थियो र ती पूर्ण रूपमा नष्ट भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु र ४६ जना घाइते भएको जानकारी दिएको छ भने भारतले १० जना भारतीय नागरिकको मृत्यु भएको र ३२ जना घाइते भएको जनाएको छ । एक शीर्ष भारतीय सैन्य अधिकारीले बीबीसीसँग पुष्टि गरेका छन् कि सीमापारबाट भएको गोलीबारीमा मारिएका भारतीय नागरिकको संख्या १० पुगेको छ । साथै ३२ जना घाइते भएका छ न्। यी सबै घटनाहरू भारत र पाकिस्तानको पुन्छ जिल्लामा नियन्त्रण रेखाको नजिक भएका हुन् । यता चीनको विदेश मन्त्रालयले कश्मीरमा भारतले गरेको हवाई आक्रमणलाई 'दुर्भाग्यपूर्ण' भनेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावबारे एक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् कि उनीहरू वर्तमान परिस्थितिबारे 'चिन्तित' छन् । चीनको विदेश मन्त्रालयले भनेको छ, 'भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहन्छन्। ती दुबै चीनका पनि छिमेकी हुन् । चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्दछ ।’ मन्त्रालयका प्रवक्ताले दुबै देशलाई शान्त रहन, संयम अपनाउन र त्यस्ता कार्यहरूबाट टाढा रहन आग्रह गरेका छन्, जसले परिस्थितिलाई अझ जटिल बनाउन सक्छ।
भारतको हमलापछि पाकिस्तानको सेयर बजार धराशायी
काठमाडौं । भारतले बुधबार कश्मीरमा गरेको सैन्य कारबाहीपछि पाकिस्तानको सेयर बजारमा ठूलो गिरावट आएको छ । कराची स्टक एक्सचेञ्ज (केएसई- १००) सूचकांक एकै दिनमा ६००० अंकभन्दा धेरैले घटेर बजार धराशायी बनेको हो । भारतीय सेनाले बुधबार 'अपरेशन सिन्दुर' अन्तर्गत पाकिस्तानमा लुकेका आतंककारीहरू विरुद्ध लक्षित कारबाही गरेको थियो । यस अपरेशनमा आतंककारीहरूको थुप्रै अड्डा ध्वस्त पारिएको भारतीय रक्षा स्रोतहरूले जनाएका छन् । भारतको यो जवाफी कारबाही गत महिनाको पहलगाम आतंकी हमलापछि गरिएको हो । बुधबार केएसई– १०० सूचकांक मंगलबारको ११३५६८.५१ अंकबाट घटेर १०७२९६.६४ अंकमा खुलेको थियो, जुन ५.५२ प्रतिशतको गिरावट हो । पहलगाम हमलापछि निरन्तर गिरावट २२ अप्रिलको पहलगाम आतंकी हमलापछि पाकिस्तानको सेयर बजारमा लगातार गिरावट देखिएको छ । उक्त दिन सूचकांक ११८४३०.३५ अंकमा बन्द भएको थियो । त्यसयता सूचकांकमा झन्डै ९.४० प्रतिशतको गिरावट आइसकेको छ, जसले पाकिस्तानको अर्थतन्त्रमा गम्भीर धक्का पुर्याएको छ । बुधबारको गिरावटअघि ३० अप्रिलमा पनि पाकिस्तानको सेयर बजारमा ३.०९ प्रतिशतको गिरावट आएको थियो, जुन पछिल्ला केही हप्ताको सबैभन्दा ठूलो गिरावट थियो । विशेषज्ञहरूको चेतावनी २ मेमा बजारले २.५ प्रतिशतले सुधार देखाएको भए पनि विज्ञहरूका अनुसार त्यो केवल 'डेड क्याट बाउन्स’ (मृत बिरालो उफ्रनुजस्तै क्षणिक सुधार) मात्र हो । उनीहरूको भनाइमा जबसम्म भारत–पाकिस्तानबीचको तनाव घट्दैन, तबसम्म बजारमा स्थायी सुधारको सम्भावना निकै कम छ । भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा भारत-पाकिस्तानबीचको युद्ध उत्कर्षमा पुग्ने संकेत, यस्तो छ दुई देशको शैन्यशक्ति
भारतको 'अप्रेशन सिन्दूर': पाकिस्तानमाथि सैन्य कारबाही, तनाव उच्च बिन्दुमा
काठमाडौं । भारतले बुधबार बिहान जम्मु–कश्मीरमा आतंकवादी पूर्वाधारहरू लक्षित गरी सैन्य कारबाही गरेको जनाएको छ । भारतको रक्षा मन्त्रालयले यो कारबाहीलाई 'अप्रेशन सिन्दुर' नाम दिएको छ र त्यस अन्तर्गत नौवटा स्थानमा आक्रमण गरेको बताएको छ । मन्त्रालयका अनुसार यी स्थानहरूबाट भारतमाथि आतंकवादी हमला योजना बनाइएका थिए । 'हाम्रो कारबाही लक्षित, सीमित र तनाव नबढाउने प्रकृतिको छ । कुनै पनि पाकिस्तानी सैन्य संरचना लक्षित गरिएको छैन,' विज्ञप्तिमा उल्लेख छ । यो कारबाही जम्मु-कश्मीरको पहलगाममा गत महिना भएको एक उग्रवादी हमलाको जवाफस्वरूप गरिएको हो, जसमा २६ जनाको ज्यान गएको थियो । पाकिस्तानले भने भारतले आफ्ना नागरिकहरूमाथि हमला गर्दै आफ्नो भू–सम्प्रभुतामा उल्लंघन गरेको आरोप लगाएको छ । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तारारले पाँच भारतीय लडाकु विमान खसालिएको दाबी गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भने, 'यो भारतले जन्माएको युद्ध हो र हामी कडा जवाफ दिइरहेका छौं ।' पाकिस्तानी गोलाबारीका कारण तीनजना नागरिकको मृत्यु भएको बताइएको छ । यता भारतले भने कुनै पनि नागरिकलाई लक्षित नगरिएको स्पष्ट पारेको छ । उता अन्तर्राष्ट्रिय समुदायबाट संयमता अपनाउन आह्वान गरिएको छ। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेस, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, र यूएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जायेदले दुबै पक्षलाई तनाव घटाउन आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग कुराकानी गरेको जानकारी भारतको वाशिङ्टनस्थित दूतावासले दिएको छ । सैनिक कारबाहीपछि क्षेत्रीय उडानहरू प्रभावित भएका छन् । कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ भने भारतीय एयरलाइन्सहरू पनि उत्तरी भारतका विमानस्थलहरूबाट प्रभावित भएका छन् । रक्षा मन्त्रालयले दिनको उत्तरार्धमा थप विस्तृत जानकारी दिने बताएको छ ।