केयुको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन् ।        प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा  दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन् । उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन थिए । आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ ।    

विजय लघुवित्तका सीईओ लम्सालको राजीनामा, घिमिरेलाई जिम्मेवारी

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बसन्तराज लम्सालले पदबाट राजीनामा दिएका छन् । लम्सालले गत वैशाख २८ गते दिएको राजीनामालाई संस्थाको सञ्चालक समितिले स्वीकृत गरेको हो ।   संस्थाको वैशाख ३१ गते बसेको ४३औँ सञ्चालक समितिको बैठकले उक्त राजीनामा आगामी जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको हाे ।   सीईओ लम्सालको बहिर्गमनसँगै संस्थाको दैनिक कार्य सञ्चालनलाई निरन्तरता दिन सञ्चालक समितिले नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।   घिमिरेले अब संस्थाको प्रमुख कार्यकारी अधिकृतको सम्पूर्ण अधिकार र जिम्मेवारी सम्हाल्नेछन् । काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।  

प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।  नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी तथा प्रभावशाली स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । ढकाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएसँगै कम्पनीको रणनीतिक विकास, सेवा विस्तार तथा पूँजी बजारमा प्रभावकारी उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ ।