काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागका इन्जिनियर मुकेश गौतममाथि कडा प्रशासनिक कारबाही अघि बढाइने भएको छ ।
विभागको नेपाल इन्जिनियरिङ सेवा, इलेक्ट्रिकल समूहका राजपत्राङ्कित तृतीय श्रेणीका इन्जिनियर गौतम बिना स्वीकृत ९० दिनभन्दा बढी समयदेखि बिदा बसेको र कार्यालयमा अनुपस्थित रहेका छन् ।
वैदेशिक अध्ययन पूरा गरेपछि ३० दिनभित्र कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था उल्लंघन गर्दै उनी लामो समयदेखि सम्पर्कविहीन जस्तै रहेको उल्लेख गर्दै निजामती सेवा ऐन, २०४९ बमोजिम स्पष्टिकरण माग गरेको हो ।
अध्ययन बिदा समाप्त भएपछि अनिवार्य सेवा अवधि पूरा नगरेको तथा स्वीकृत बिदा नलिई अनुपस्थित रहेको गम्भीर विषय उठाइएको छ । मन्त्रालयले किन सेवाबाट हटाउनु नपर्ने भन्ने प्रश्नसमेत गर्दै ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेश गर्न अन्तिम मौका दिएको छ।
तोकिएको समयभित्र स्पष्टिकरण नआए वा असन्तोषजनक भएमा निजामती सेवा ऐन अनुसार बर्खास्ती लगायत कडा कानूनी कारबाही अघि बढाइने जनाएको छ ।