मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने म्याद थपियो, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं । हाल जारी भईरहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । सेयरमा माग बमोजिमको आवेदन नपरेकोले सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आवेदन दिने म्याद थपेको हो । उक्त सेयरको निष्काशन बिक्री छिटोमा आज(साउन १७ गते) भित्र बन्द गरिने व्यवस्था रहेको थियो । तर माग बमोजिम आवेदन नपरेकोले अब आगामी साउन ३१ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन पाइने छ । कम्पनीले स्थानीय समूहको लागि कूल ६० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिरहेकाे छ । जसमा स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिई उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने कम्पनीले जनाएको छ । साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सक्नेछन् । यसका अलावा ईसेवा, आईएमई पेको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट आवेदन दिने सकिने व्यवस्था समेत गरिएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स र साविक मानेश्वरा गा.वि.स) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि सेयर निष्काशन गरेकाे हाे ।

जीडीपीभन्दा तीन गुणाले बढ्यो नगद रहित भुक्तानी कारोबार, चेक कारोबार भने स्थिर

काठमाडौं । नेपालको नगद रहित भुक्तानी कारोबार कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा तीन गुणाले बढेको छ । एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत गत आर्थिक वर्ष २०७७/७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राहस्थ उत्पादन भन्दा तीन गुणाले बढेको हो । त्यस्तै, एनसीएचएलले गत आर्थिक वर्ष २०७७/७८ मा कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ११७ प्रतिशतले बढी हो । त्यसैगरी, एनसीएचएलले नेपाली रुपैयाँ १३ खर्ब, यूएसडी २० करोड ९ लाख, ईयूआर २४ करोड ९ लाख र जीबीपी २७ करोड २ लाख बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौट गरेको हो । उक्त आर्थिक वर्षमा चेकको कारोबार २१ प्रतिशतले, एनसीएचएल-आईपीएसमा ९४ प्रतिशतले र कनेक्ट आईपीएसमा ५६६ प्रतिशतले कारोबार बृद्धी भएको छ । यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा वृद्धि हुँदै गएको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी वृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड-१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच (एनपीएस) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्छ्यौटका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ । यसमा ५९ बैंक वित्तिय संस्था, २३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आवद्ध रहेका छन् । एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।

सेयर बजार र बाँदर साहुको कथा

एकादेशमा एउटा गाउँ थियो । त्यो गाउँका मानिसहरु सबै जना सोझा साझा थिए । सबै मिलेर बस्दथे । दैनिक मिहिनेतको र परिश्रमको कमाई घरमा ल्याएर परिवारको पालन पोषण गर्दथे । सानो सपना देख्दथे । त्यसैले सुखी र खुसी पनि थिए । अचानक एक दिन त्यस गाउँमा एउटा चलाख व्यापारी आयो । उसले त्यो गाउँका मानिसहरुलाई नजिकबाट नियालो । र, एक दिन सबैलाई गाउँको बीचमा रहेको पिपल चोकमा बोलाएर भेला गरायो । र, उनीहरुलाई व्यापारीले भन्यो– यो तिमीहरुको गाउँमा राम्रो र उन्नत जातको बाँदरहरु धेरै रहेछन् । यो त अमुल्य बाँदर हो । यसलाई शहरमा लगेर बेच्नु पर्दछ । राम्रो पैसा राम्रो दाम पाइन्छ । यस्तो राम्रो कमाउने मौका छोडेर तिमीहरु खेती किसानीमा दिनभरी किन लागेका ? दिनमा एक जनाले दश ओटा बाँदर समातेर मलाई दियौं भने म प्रतिबाँदर सय तिमीहरुलाई दिन्छु । दिनकै हजार कमाई हुन्छ तिमीहरुको भनेर त्यो बाठो व्यापारीले सोझा गाउँलेलाई सम्झायो । गाउँलेहरु पनि कमाउन पाइने भइयो भनेर मख्ख परे र खेती किसानी गर्न छोडेर बाँदर समाउन थाले । कसैले पाँच वटा समातेर ल्याए र पाँच सय पाए । कसैले सात वटा समाते र सात सय रुपैयाँ पाए । कसैकसैले पैसा चाढै कमाउने मनसायले एकै दिनमा पन्द्र वटासम्म समाए र पन्द्र सय रुपैयाँसम्म पाए । अब गाउँलेहरु खुसी हुँदै हौसिदै बिहानैदेखि परिवार सहित वरपर र जगंलसम्म गएर बाँदर समाउन थाले । र, बेलुका व्यापारीलाई जिम्मा दिए । पैसा लिदै मख्ख परे । अलि दिन पछि बाँदरको संख्या कम हुँदै गयो । सजिलै बाँदर पाइन छाडे । अनि फेरि व्यापारीले अब म प्रतिबाँदर दुई सय दिन्छु, समातेर ल्याओ भनेर बाँदरको मुल्य वढायो । गाउँलेहरु फेरि खुसी भए । र, जंगल जंगल चहारेर बाँदर समाउन थाले । गाउँलेहरुले त्यो क्षेत्रमा भएका सबै बाँदर समातेर व्यापारीलाई बेचिसके । अब जंगलमा बाँदर पाउनै छोड्यो । बाठो व्यापारीले बाँदरको मूल्य फेरि बढायो । र, प्रतिबाँदर पाँच सय रुपैयाँ दिने कुरा बतायो । तर, गाउँलेहरु बाँदर पाउन र समाउन गाह्रो हुने भएकोले निरास हुन थाले । यत्तिकैमा त्यो गाउँमा एक जना अर्को नयाँ व्यापारी अकस्मात आयो र सबै गाउँलेलाई आफूसँग प्रसस्त बाँदर रहेको र प्रतिबाँदर ४ सय रुपैयाँमै दिने कुरा सुनायो । र, उसैले ती बाँदर पहिलाको व्यापारीलाई बेच्दा प्रतिबाँदर सय रुपैयाँ फाइदा हुने भएकोले मौकाको फाइदा उठाउन आग्रह पनि गर्यो । गाउँलेहरु उसको कुरा सुनेर मख्ख परे । अनि प्रतिबाँदर ४ सय रुपैयाँको दरले हजारौं बाँदर किने । भोलिपल्ट पाँच सय पाउने आसमा पुरानो व्यापारी बसेको डेरामा जादा व्यापारी त रातिनै कुलेलम ठोकेर टाप भएछ । यो कुरा सुनाउन गाउँलेहरु आफूहरुलाई बाँदर बेच्न व्यापारीकोमा गए । ऊ पनि भागेछ । अनि मात्रै ती गाउँलेले आफ्नो गाउँका बाँदर आफैलाई बेचेर ती दुई व्यापारीले राम्रैसँग ठगेका थाहा पाएछन् । यो त एउटा कथा मात्र हो । तर, आज नेपालको सेयर बजार पनि नेप्से बढ्यो भन्दै खुसी हुँदै कतै तपाई हावाको भरमा र लहलहैमा लागेर त सेयर किनिरहनु भएको छैन ? आफूले किनेको र किन्न खोजेको कम्पनीको सेयर किन्नुभन्दा पहिले एकचोटि अवश्य सोच्नु होला । व्यापारीले बाँदरको मूल्य बढाए जसरी कसैले सेयरको मूल्य त बढाएको छैन ? सय रुपैयाँको बाँदर आफैले कृत्रिम अभाव सिर्जना गरेर प्रतिबाँदर ४ सय रुपैयाँ गरे जस्तै गरी तपाईंको पनि सय रुपैयाँको सेयर रिर्टनभन्दा धेरै मूल्य बढाएर तपाईंलाई नै भिडाउने प्रपन्च त कसैले रचिरहेको छैन ? प्रतिसेयर आम्दानी नहेरि हावाको भरमा कतै तपाई हजार, दुई हजारमा सेयर किनिरहनु भएको त छैन ? अहिले ध्यान पुर्याइएन भने बाँदर जंगलमा छोडे जसरी तपाईंले आफ्नो सेयर आफैले महंगोमा किनिरहनु भएको त छैन ? आखिर कम्पनीले त सयकै जवाफदेहिता वहन गर्ने हो नि । बुक भ्यालु नै तपाईंप्रतिको दायित्व हो । त्यसैले तपाईले किन्न खोजेको कम्पनी कस्तो छ ? विगतमा कस्तो प्रतिफल दिएको छ र हाल उसको प्रगति विवरण कस्तो छ ? जगेडा कोसको अवस्था के छ ? प्रतिसेयर आम्दानी, बुक भ्यालु लगायत नियमनकारी निकायको नीति कस्तो छ ? तपाई मार्केटमा कहिले इन गर्दै हुनुहुन्छ र कहिले आउट हुने ? अल्पकालिन वा दिर्घकालिन कस्तोमा लगानी गर्दै हुनुहुन्छ ? यस्ता पक्षबारे गहन अध्ययन र विश्लेषण आवश्यक हुन्छ । किनभने बजारमा कमाउन सहज छैन । तपाईंले कमाउनु भनेको कसैले गुमाउनु पनि हुन सक्छ । र, सबै जना कमाउनको लागि नै बजारमा आएका हुन्छन् ।