सहकारी बैंकका शाखामध्ये बागलुङ उत्कृष्ट

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी अभियन्ता सम्मानबाट नेपालको सहकारी अभियानका अगुवा केशवप्रसाद बडाललाई सम्मान गरेको छ । बैंकको १९औं वार्षिकोत्सवका अवसरमा मंगलवार आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन कार्यक्रममा बैंकको १७ वार्षिक साधारणसभामा घोषणा गरिएका विभिन्न पुरस्कारहरु समेत वितरण गरिएको थियो । बैंकले प्रदान गर्दै आएको सहकारी अभियन्ता सम्मान पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव प्रसाद बडाल, सहकारी बैंक पूर्व सञ्चालक सम्मान डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता पुरस्कार डा.नवराज सिंखडा, सहकारी बैंक पत्रकारिता पुरस्कार शर्मिला ठकुरीलाई प्रदान गरिएको थियो । यस्तै सहकारी बैंकका ६८ शाखामध्ये आर्थिक वर्ष २०७६/०७७ मा बागलुङ शाखा उत्कृष्ट शाखा भई सम्मानित भएको छ । शाखा प्रमुख युवराज त्रिपाठीलाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारी (प्रवन्धक/अधिकृत स्तर) गोंगवु शाखाका प्रमुख बिनोद भट्टराई, सहायक स्तरमा सुन्दरहरैचा शाखाका प्रमुख अर्जुन कार्की र सहयोगी स्तरतर्फ नयाँ बानेश्वर शाखामा कार्यरत सोम बहादुर कार्कीलाई पुरस्कृत गरिएको थियो । सहकारी बैंकको चेक क्लियरिङ्ग नहुने नियम खारेज गर्छु: अर्थमन्त्री शर्मा वार्षिकोत्सवका अवसरमा आयोजित सहकारीमा लघुवित्त सम्मेलन उद्घाटन समारोहको सञ्चालन बैंकका सञ्चालक तथा व्यवसाय प्रवद्र्धन, एकीकरण तथा स्तरीकरण उपसमितिका संयोजक केदार मानन्धर र पुरस्कार वितरण कार्यक्रमको सञ्चालन सञ्चालक तथा शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले गरेका छन् । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार लिलानाथ शर्माले मुलुकको गरिवी निवारणमा सहकारी क्षेत्रको राम्रो संभावना रहेको र त्यसमा पनि सहकारी बैंकको भूमिका थप प्रभावकारी हुने भएकाले सोही अनुसारको योजनाका साथ अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको बिकासका लागि संजाल (नेडाक) का अध्यक्ष सन्दिप नायकले नेपालको सहकारी अभियानलाई वित्तीय तथा प्रविधिका क्षेत्रमा सक्षम बनाउनका लागि राष्ट्रिय सहकारी बैंकसंग समन्वय गरेर नेडाकले काम गरिरहेको बताए । बैंकले सदस्य वृद्धि लगायत वित्तीय तथा अन्य क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको भन्दै नायकले सहकारी बैंकको थप प्रभावकारी भूमिका लागि समन्वय गरिने बताए । स्वावलम्बन विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त विज्ञ शंकरमान श्रेष्ठले नेपालको अर्थतन्त्रलाई सबल सक्षम बनाउनका लागि लघुवित्तलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीले गरिबी न्यूनिकरणमा सहकारी लघुवित्तः नेपाल सरकारको नीति तथा कार्यक्रम विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा बैंकका सल्लाहकार केशव बडाल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले सुझाव प्रस्तुत गरेका थिए । बैंकका अध्यक्ष के.बी.उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी बैंकको भावी कार्यदिशा तथा गरिबी न्यूनिकरणमा सहकारी संस्था, संघ र बैंकको भूमिका विषयमा सहजीकरण गरेका थिए ।

मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार आज पनि नहुने

काठमाडौं । दोस्रो बजारमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार आज पनि नहुने भएको छ । सोमबार जस्तै मंगलबार पनि स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकाेले साउन १९ गतेको नियमित समयमा पनि संस्थाको सेयर कारोबार नहुने भएको हो । जुनसुकै कम्पनीको सेयर दोस्रो बजारमा स्पेसल प्री ओपन सेसनमा म्याचिङ भएपछिमात्र नियमित समयमा कारोबार हुने व्यवस्था रहेको छ । यदि म्याचिङ भएन भने सो दिन कारोबार हुँदैन र अर्को दिनको प्री ओपनिङमा म्याचिङ भएपछि मात्रै उक्त संस्थाको नियमित सेयर कारोबार हुने छ । यससँगै मंगलबार नियमित समयमा कारोबार नभएको यस संस्थाको बुधबार पनि स्पेसल प्री ओपन सेसनमा कारोबार म्याच भएपछि मात्रै नियमित समयमा कारोबार हुने छ । संस्थाको गत साउन १७ गते मात्र नेप्सेमा सूचीकरण भएको थियो । सूचीकरण भएको दोश्रो दिनदेखि दोश्रो बजारमा कारोबार गराउने व्यवस्था रहेको छ । पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्यूनतम ११०(८४ रुपैयाँदेखि अधिकतम ३३२.५२ रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकिदिएको छ । यससँगै, संस्थाको पहिलो कारोबार यो रकम भित्र हुनुपर्ने छ । यसको संकेत ‘एमकेएलबी’ रहेको छ ।

संचय कोषका प्रशासक हटाउने योजनामा अर्थमन्त्री, भने- सम्मानजनक वहिर्गमनको तयारी गर्नुस्

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी संचय कोषका प्रशासक तुलसी प्रसाद गौतमलाई पदबाट हट्न आग्रह गरेका छन् । कोष ऐन अनुसार पदमा बस्न नमिल्ने भएकोले गौतमलाई ‘सम्मानजनक वहिर्गमन’को तयारी गर्न मन्त्री शर्माले आग्रह गरेका हुन् । मन्त्री शर्माले केही दिन अघि मात्रै प्रशासक गौतमलाई मन्त्रालयमै बोलाएर सहज रुपमा हटिदिन आग्रह गरेका अर्थमन्त्रालय स्रोतले जानकारी दियो । कर्मचारी संचय कोष ऐनमा संचयकर्ता नभएको व्यक्ति कोषको प्रशासक हुन नपाउने व्यवस्था भएकोले गौतमलाई हट्नु भनिएको स्रोतको दाबी छ । ‘उहाँ (गौतम) लाई नेपाल सरकारको सहसचिवको हैसियतमा कोषको प्रशासक बनाइएको हो, उमेर हदका कारण उहाँले निकै पहिला नै सरकारी सेवाबाट अनिवार्य अवकाश पाइसक्नु भएको छ, त्यसैले उहाँले सहज रुपमा हटेर सहयोग गर्नुभयो भने सम्मानजनक विदाई गर्ने नभए सरकारले हटाउने जानकारी मन्त्रीज्यूले दिनु भएको छ, अब के गर्ने भन्ने विषय उहाँ (प्रशासक गौतम) कै निर्णयमा भर पर्छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो । तत्कालिन सहसचिव गौतमलाई सरकारले २०७५ असोज ७ गते कर्मचारी संचय कोषको प्रशासकमा नियुक्त गरेको थियो । गौतमले २०७६ जेठ १५ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । निजामति सेवामा ५८ वर्ष उमेर पुगेपछि अनिवार्य रुपमा अवकाश हुने कानुनी व्यवस्था छ । निजामति सेवाबाट अवकाश पाएका कारण गौतम कोषको संचयकर्ता नभएको र संचयकर्ता नरहेको व्यक्ति कोषको प्रशासक बन्न नपाउने कानुनी व्यवस्थामा टेकेर अर्थएमन्त्री शर्माले गौतमलाई हट्न आग्रह गरेका हुन् । ‘नेपाल सरकारले कोषको प्रशासकीय प्रमुखको रुपमा दैनिक कार्य संचालन गर्नको लागि कम्तिमा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी, कोष वा संस्थाको अधिकृत प्रथम श्रेणी वा दशौं तह वा सो सरहको पदमा कार्यरत कुनै एक जना संचयकर्ता कर्मचारीलाई प्रशासकको पदमा नियुक्त गर्नेछ,’ कर्मचारी संचय कोष ऐनको दफा ६ क (१) मा उल्लेख छ । सरकारले यसअघि पनि संचयकर्ता नभएको आधारमा प्रशासकलाई हटाउने गरेको नजिर छ । सरकारले २०६८ सालमा तत्कालिन प्रशासक डा. रमेश कुमार भट्टराईलाई कर्मचारी संचय कोष ऐनको सोही दफा अनुसार योग्यता नरहेको (सेवाबाट अवकाश पाएको कारण योगदानकर्ता नरहेको) भन्दै अवकाश दिएको थियो । गौतम सरकारी सेवाबाट अवकाश पाएपछि संचय कोषको प्रशासक हुने योग्यता गुमेको भन्दै उनी विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा पनि परेको छ । अधिवक्ता जयबहादुर भुजेलले गौतम विरुद्द सर्वाेच्चमा गत असोजमै रिट दायर भएपनि अहिलेसम्म कुनै निर्णय आएको छैन ।