नेप्सेमा साढे १५ अर्बको कारोबार, ९ कम्पनीको मूल्य सर्किट लेबलमा बढ्यो
काठमाडौं । आज पुँजी बजारमा ९ कम्पनीको मुल्य सर्किट लेबलमा बढेको छ । आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युिनयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार एनआरएन इन्फ्रास्टक्चर, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्स र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७५४ रुपैयाँमा खरिद विक्री भए । सबैभन्दा बढी रकम बराबरको कारोबार हुने ५ कम्पनीमा अपर तामाकोशी, अरुणभ्याली, अरुण काबेली, अपि र आइसीएफसी फाइनान्स कम्पनी रहे । अपर तामाकोशीको ६८ करोड ३० लाख, अरुणभ्यालीको ५७ करोड ३७ लाख, अरुण काबेलीको ५६ करोड १२ लाख,अपिको ५३ करोड १७ लाख र आईसीएफसी फाइनान्स कम्पनीको ५१ करोड ५१ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएको नेप्सेले जानकारी दिएको छ । आज नेप्से ०.९४ अंकले बढेर ३१६२.४१ विन्दुमा पुगेको छ । आजको बजारमा पनि जलविद्युत समुहमा उछाल आएको छ भने होटल तथा टुरिजम समुहमा पनि राम्रै उत्साह देखिएको छ । नेप्सेका अनुसार होटल तथा टुरिजम १०२.९१, जलविद्युत १४४.७९ र निर्जीवन बीमा समुह ४३.८ ले बढे । यस्तै, माइक्रोफाइनान्स समुहको उपसुचक ७.९९ अंकले र जीवन बीमा समुहको उपसुचक १०.०५ अंकले बढेका छन् । अरु समुहका उपसुचक भने घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुह १४.१७, ट्रेडिङ समुह ४९.६५, विकास बैंक ४१.१२, फाइनान्स कम्पनी समुहको उपसुचक १९.६६ अंकले घटे । म्यानुफ्याक्चरिङ प्रोडक्सन समुह ३.८४, अन्य समुह १२.४३, म्युचुअल फण्ड ०.११ र इन्भेष्टमेन्ट समुहको उपसुचक १.०३ अंकले घटेका छन् । आजको बजारमा जेविल्स फाइनान्सका लगानीकर्ताले ४.१७ प्रतिशत, एचआईडीसीएलका लगानीकर्ताले ३.३९ प्रतिशत, गोर्खाज फाइनान्स र बेष्ट फाइनान्सका लगानीकर्ताले ३.१६ प्रतिशत तथा एक्सल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.१३ प्रतिशतले गुमाए । आजको कारोबार समयभित्र ७४ कम्पनीको सेयरमूल्य बढ्यो भने १०५ कम्पनीको सेयर मूल्य घट्यो । यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जानकारी दिएको छ ।
जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ । यससँगै आज मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ माथि पुगेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता १८५८ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । यससँगै नियमित बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २००४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात १८२.२० रुपैयाँ बढी हो । त्यस्तै, उक्त रकम कम्पनीको पहिलो कारोबारको तुलनामा ११९.३२ प्रतिशतले बढी हो । दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । कम्पनीले गत साउन १४ गतेदेखि दोश्रो बजारमा कारोबारमा शुरु गरेको हो । कारोबार शुरु गरेको दुई साता नबित्दै संस्थाको सेयरको भाउ दुई हजार माथि पुगिसकेको छ । सोमबारसम्मको संस्थाको चार्ट यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर किन्नेको उच्च चाप देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । दिउँसो साढे १२ बजेसम्मको अवधिमा कम्पनीको ४ लाख १३ हजार ३९२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । तर, बिक्रीकर्ता कोही पनि छैनन् । सोमबारको कम्पनीको बजार पुँजीकरण ११ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । जुन मंगलबारको बजारमा बढेर १२ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । नेप्सेमा संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत अर्थात ४१ लाख ६ हजार ७०० कित्ता सेयर संस्थापकको स्वामित्व हो भने बाँकी ३२.५० प्रतिशत अर्थात १९ लाख ७७ हजार ३०० कित्ता सेयर सर्वसाधारणको रहेको छ ।
मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँड भोलि
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले जारी गरेको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) भोलि साउन २६ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि बिहान ९ बजे काठमाडौको नक्सालस्थित आफ्नै कार्यालयमा सेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीले गत साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सो दिनदेखि अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणमा बिक्री गरिएको थियो । बिक्री प्रबन्धकका अनुसार उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेकोभन्दा बढी हो । मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर बाँडफाँड गर्ने छ । यससँगै आईपीओमा रितपूर्वक आवेदन दिनेमध्ये ६६ हजार ८७४ जनाले कम्पनीको सेयर हात पार्न सक्ने छन् भने बाँकी २० लाखभन्दा बढीको हात खाली हुने देखिएको छ ।