म्युचुअल फण्डको बढ्दो बजार मूल्यः लाभांशको लोभअघि बुझ्नु पर्छ यी तथ्य

काठमाडौं । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । दोश्रो बजार बढेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको संख्या पनि दिनानुदिन बढ्दै गएको हो । दोश्रो बजार मात्रै नभएर प्राथमिक बजारमा पनि लगानीकर्ताहरु म्युचुअल फण्डमा आकर्षित भएको देखिन्छ । जुन, विभिन्न कम्पनीले जारी गरेका विभिन्न प्रकारका म्युचुअल फण्डको आवेदन संख्याबाटै प्रष्ट हुन्छ । केही समय अघि मात्रै बिक्री खुला भएका म्युचुअल फण्डहरु बिक्नलाई धौधौ पर्थ्यो । तोकिएको ढिलो मितिसम्म निष्काशन गर्दा पनि संस्थाले माग गरेको जति आवेदन नपरेको कयौं तथ्यांकहरु छन् । तर पछिल्लो समय भने जारी भएका म्युचुअल फण्ड सजिलै बिक्री हुँदै आएका छन् । बिक्री खुला भएको एक दुई दिन बित्न नपाउँदै संस्थाले माग गरेको भन्दा बढी आवेदन परिसकेको हुन्छ । र, तोकिएको छोटो मिति (अर्थात बिक्री खुला गरेको ४ कार्य दिन) मै उक्त फण्डको निष्काशन बन्द हुन्छ । सेयर बजार बढ्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (नेट एसेस्ट भ्यालू ‘एनएभी’) पनि बढ्छ । एनएभी बढेसँगै लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा बढेको हो । यसका साथै, विभिन्न म्युचुअल फण्ड अन्तर्गत सञ्चालित विभिन्न प्रकारका योजना तथा कोषले प्रतिफल घोषणा गरेसँगै त्यसको सकारात्मक प्रभाव सम्बन्धित फण्डको मूल्यमा पर्नेछ । उक्त घोषित नगद लाभांश तथा प्रतिफलमा लगानीकर्ताको आर्कषण बढेसँगै बजारमा तिनीहरुको भाउ पनि बढ्ने गरेको पाइन्छ । पछिल्लो समयको बजारमा त्यस्तै भएको छ । उदाहरणको लागि लक्ष्मी उन्नति कोषलाई हेरौं । जसले आज(साउन ५ गते) मंगलबार बिहान मात्रै गत आर्थिक वर्षको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गर्यो । यससँगै त्यसको सकारात्मक प्रभाव कोषको इकाई मूल्यमा परेको छ । अघिल्लो दिनको तुलनामा इकाई मूल्य १० प्रतिशतले बढेर प्रतिईकाई १४.२५ रुपैयाँ पुगेको छ । जुन १.३० रुपैयाँले बढी हो । कोषले आफ्ना इकाईधनीलाई अंकित मूल्यका आधारमा लाभांश वितरण गर्नेछ । जस्तै, कोषले २५ प्रतिशत लाभांश वितरण गर्दै छ भने उसले अंकित मूल्य १० रुपैयाँको २५ प्रतिशत अर्थात २.५ रुपैयाँ लाभांश वितरण गर्नेछ । यससँगै कोषको एक सय इकाई हुनेले कूल २५० रुपैयाँ पाउने छन् । तर लाभांशको लागि म्युचुअल फण्डमा लगानी गर्ने अधिकांशले आफुले लगानी गरेको पैसाबाट आफैले लाभांश खाएको पाइन्छ । कसरी ? कुनै योजनाले १० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेको छ । हालै लाभांश घोषणा गरेको लक्ष्मी उन्नति कोषकै उदाहरण हेरौं । कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ र आगामी साउन १३ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोज अघि अर्थात साउन १२ गते कोषको कारोबार मूल्य १४.२५ रुपैयाँ कायम भयो । हाल कोषको न्याभ १४.७९ रुपैयाँ छ । २५ प्रतिशत लाभांश वितरणपछि कोषको न्याभ २.५ रुपैयाँले घटेर १२.२९ रुपैयाँ कायम हुन्छ । त्यसैले, २५ प्रतिशत लाभांशको लोभमा प्रतिइकाई १४.२५ रुपैयाँमा कोषको इकाई उठाउने लगानीकर्ताले आफुले तिरेको रकमबाट आफैले लाभांश खाएर १.९६ रुपैयाँ घाटा व्यहोर्नुपर्छ । जुन २.५ रुपैयाँ लाभांशको तुलनामा ५४ पैसाँ बढी हो । यो त रह्यो बजार मूल्यभन्दा बढी न्याभ रहेको योजनाको उदाहरण । अब बजार मूल्यभन्दा कम न्याभ भएको योजनाको उदाहरण हेरौं । जस्तै, लक्ष्मी इक्विटी फण्डको बजार मूल्य १६.०५ र न्याभ १५.६६ रुपैयाँ रहेको छ । फण्डले इकाईधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांशपछि फण्डको खुद सम्पत्ति घटेर १३.१६ रुपैयाँ कायम हुन्छ । यससँगै लाभांशको लोभमा परेर प्रतिइकाई १६.०५ रुपैयाँ हालेर फण्ड किन्नेलाई न्याभ १३.१६ मा झर्र्दा २.८९ रुपैयाँ घाटा हुन्छ । जुन फण्डले दिने २.५ रुपैयाँ लाभांशभन्दा पनि ०.३९ रुपैयाँ बढी घाटा हो । यससँगै उसले आफ्नो मूल्यबाट आफैले लाभांश खाएर पनि थप ०.३९ पैसा गुमाएको हुन्छ । तर, सबै योजनाको लाभांश घोषणापछि मूल्य समायोजन हुन्छ नै भन्ने हुँदैन । धितोपत्र नियमावली अनुसार घोषित लाभांश बुक क्लोजको मितिमा कायम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भएमा मात्रै उक्त योजनाको मूल्य समायोजन हुनेछ । अन्यथा उक्त योजनाको मूल्य समायोजन हुँदैन । सेयर र म्युचुअल फण्डमा फरक सेयर र म्युचुअल फण्डमा लाभांशपछिको सम्पत्तिमा फरक हुन्छ । सेयरमा कम्पनीले छुट्याएको नाफाबाट लाभांश वितरण गर्छ र लाभांश वितरणपछि कम्पनीको पुँजी घट्दैन । तर, म्युचुअल फण्डमा भने लाभांश वितरणपछि न्याभ नै घट्छ । किनभने म्युचुअल फण्डले न्याभमा प्राप्त भएको र नभएको नाफा समेत गरी प्राप्त नाफाको वितरणयोग्य रकमबाट लाभांश वितरण गर्दा न्याभ घट्न पुग्छ । मंगलबारको बजारमा पनि अधिकांश म्युचुअल फण्डको मूल्य बढेको थियो । सो दिन बढी कमाउनेको सूचीमा प्राय सबै म्युचुअल फण्ड नै रहेका थिए । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्ड लगायत ग्लोबल आईएमई समुन्नत स्किम १, एनआईसी एशिया ब्यालेन्सड फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, सिटिजन्स म्युचुअल फण्ड १ र सिद्धार्थ इक्विटी फण्ड गरी कूल ८ वटा म्युचुअलु फण्ड मंगलबार बढी कमाउनेको शीर्ष १०औं स्थानको सूचीमा रहेका छन् । योजनाहरुले धमाधम लाभांश घोषणा गर्ने सिजन लागेसँगै म्युचुअल फण्डको इकाईको मूल्य बढेको हो ।

मैलुङ खोला जलविद्युतले साउन १४ गतेदेखि आईपीओ जारी गर्ने

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आगामी साउन १४ गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सो दिनदेखि ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३६ हजार २८६ कित्ता साधारण सेयर निष्काशन गर्नेछ । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । र, बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने छ । यससँगै, सर्वसाधारणले साउन १४ गतेदेखि साउन १८ गतेसम्म आईपीओ भर्न सक्नेछन् । उनीहरुले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरको लागि आवेदन दिन पाउने छन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

भोलि बुधबार सेयर बजार बन्द

काठमाडौं । भोलि (साउन ६ गते) बुधबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक बिदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । गृह मन्त्रालयले एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद-उल-अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । उक्त निर्णय साउन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको थियो । बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले यसअघि पनि सरकारले सार्वजनिक बिदा दिएको दिन सेयर कारोबार पनि बन्द गराउँदै आएको छ । यससँगै, अबको सेयर कारोबार साउन ७ गते बिहीबार मात्रै नियमित खुल्ने छ । मंगलबारको बजारमा उतारचढाव देखिएको छ । सो दिन नेप्से परिसूचक ९ अंकले घटेर २९८५ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब बढीको सेयर किनबेच भएको बजारमा मंगलबार जम्मा ७ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।