मर्यादाविपरित काम गरेका बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गरिन्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदीय मर्यादाविपरित काम गरेका नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भदौ ४ गते बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले सो बताएका हुन् । उनले बोर्ड र नेप्सेका पदाधिकारीहरुले अनुचित ढंगले परिवारका सदस्यको समेत सेयर खरिद गरेको समाचार आएको उल्लेख गर्दै त्यसको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले छानवीनको कामलाई अन्तिम चरणका पुर्याएको पनि समितिलाई जानकारी दिए । साथै, उनले सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको पनि बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले पदीय मर्यादाविपरित आफ्ना परिवारका सदस्यलाई सर्वोत्तम सिमेन्टको सेयर खरिद गराएको समाचार विभिन्न समाचार माध्याममा आएपछि अर्थ समितिले सो सम्बन्धमा सरोकारवाला निकायसँगको छलफललाई अघि बढाएको थियो । अर्थमन्त्री शर्माले नियामक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानवीनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिको बैठकमा जानकारी दिएका थिए । यो पनि पढ्नुहोस् अध्यक्ष ढुङ्गाना र सीईओ साउदलाई कारबाही गर्न अर्थ समितिको निर्देशन

सेयर बजारमा ३७ लाख आवद्ध, सय जनाले मात्रै लाभ लिए

यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । धितोपत्र बोर्ड र स्टक एक्स्चेन्ज लगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउनेछौँ । अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु । अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ । र हाम्रो ध्यान जनताको कारोबार र लगानी संरक्षण गर्नतिर छ । पूँजीबजार सम्बन्धी तपाईँहरूले अध्ययन गर्नुभएको रहेछ । त्यसको रिपोर्ट हामीले पनि अध्ययन गर्न पायौँ भने अझ हामीलाई सजिलो होला । जहाँसम्म धितोपत्र बोर्ड, नेप्सेलगायतका निकायहरू छन्, ती निकायहरूले गर्ने काम कारबाहीबारे आवश्यक नियमन गर्ने र त्यसलाई सही दिशातिर लैजाने एउटा जिम्मेवारी अर्थ मन्त्रालयमा रहेको कारणले विषय उठ्ने बित्तिकै हाम्रो ध्याकर्षण भयो । विषय उठ्ने बित्तिकै पत्राचार भयो । यहाँ स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर प्रश्न उठेको छ । संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ । छानबिन समितिको लागि पुनरावेदन वा उच्च अदालतको न्यायाधीशको नेतृत्वमा समिति बनाउने कानूनी व्यवस्था पनि एकातिर छ । फेरि अर्कातिर तपाईँहरू लगायत सबैलाई छिटो नतिजा आउनुपर्ने भन्ने भावना भएकाले हामीले छिटो गर्नका लागि समिति बनाइसकेका छौँ । तपाईँहरूलाई जति छिटो होस् भन्ने लागेको छ, त्यति नै हामीलाई पनि लागेको छ । यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको छ । अब नयाँ कानूनको पनि खाँचो देखिएको छ । यो सबैलाई लागेको कुरा हो । हामी सदनमा प्रस्तुत गर्छौँ । अब त्यसलाई पास गर्ने काम तपाईँ माननीय सदस्यहरूको हो । हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । अहिले पूँजीबजार किन बढ्यो भने कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू भएनन् । अनि इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भयो । यता आकर्षित हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्याधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ । अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ । अर्को कुरा अस्वभाविक मूल्य वृद्धिको कुरा पनि आइरहेको छ । ती कुराहरूमा पनि हाम्रो ध्यान पुगेको छ । माननीय सदस्यहरूले हेर्नु भएको होला, विद्युत नियमन आयोगले यस्तो विषयमा सूचना जारी गरेको छ । आम लगानीकर्ताहरूलाई पनि भन्न चाहन्छु कि त्यो सूचना हेर्नुहोस् । आयोगले कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको छ । लगानीलाई प्रेरित गर्ने हाम्रो काम हो । त्यसकारणले कहाँ लगानी गर्दा फाइदा हुन्छ, के अवस्था छ भनेर जानकारी दिने काम पनि विभिन्न नियमनकारी निकायहरूले गरिरहेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु । यहाँ इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला । हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता होला । अन्य कारणले आम लगानीकर्तालाई समस्या भएको होला । यी यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ । (आज प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा अर्थमन्त्री शर्माले व्यक्त गरेको धारणा)

मेरो सेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी गर्नुहोस् रिसेट

काठमाडौं । के तपाईं मेरो सेयरको पासवर्ड बिर्सिएर हैरान हुनुभएको छ ? चिन्ता नलिनुस्, किनभने अब तपाईं आफैले पासवर्ड रिसेट गर्न पाउनु हुनेछ । मेरो सेयर सञ्चालक सिडिएस एण्ड क्लियरिङ्गले हालै मेरो सेयरमा ‘फर्गट योर पासवर्ड’को सेवा थप गरेको छ । यससँगै मेरो सेयर प्रयोगकर्ताले आफ्नो खाताको पासवर्ड बिर्सिएमा स्वयम् आफैले पासवर्ड रिसेट गर्न सक्नेछन् । यसअघि उक्त पासवर्ड बिर्सिएमा सेवा नै अवरुद्ध हुने थियो । र, सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिएपछि मात्रै उक्त सेवा पुनः सुचारु हुने व्यवस्था थियो । तर अब भने मेरो सेयर प्रयोगकर्ताले उक्त झन्झट झेल्नु पर्दैन । सिडिएसले मेरो सेयरको लगइन पेजमा ‘फर्गट योर पासवर्ड’ लिंक थप गरेको छ । जसमा क्लिक गरेपछि प्रयोगकर्ताले आफ्नो पासवर्ड रिसेट गर्न सक्नेछन् । तर कसरी ? मेरो सेयरको सेवा लिन तपाईं शुरूमा मेरो सेयरको लगइन पेजमा जानुभयो । त्यसमा आफ्नो डिपोजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नुभयो । तर, पासवर्ड बिर्सनुभयो वा गलत पासवर्ड राखेर तल दिइएको लगइन अप्सनमा क्लिक गर्नुभयो भने ‘इन्भ्यालिड पासवर्ड’ भनेर आउँछ । जुन तलको तस्विरमा हरियो घेराभित्रको रातो बक्समा देखाइएको छ । उक्त ‘इन्भ्यालिड पासवर्ड’ भनेर आइसकेपछि ‘फर्गट योर पासवर्ड ?’ भन्नेमा क्लिक गर्नुहोस् । जुन लगइनको बटनभन्दा तल रहेको छ । उक्त लिंकमा क्लिक गरिसकेपछि तपाईंले तलको फोटामो देखाइएको जस्तो स्क्रीन देख्नसक्नु हुनेछ । जहाँ अघिकाे जस्तै, आफ्नाे डिपाेजिटरी पार्टीसिपेन्टस् सेलेक्ट गरी युजरनेम राख्नु हाेस् । त्यसपछि तल इमेल भन्नेमा आफ्नाे इमेल र डेट अफ बर्थमा आफ्नाे जन्म मिति राख्नुहाेस् । नागरिकतामा जे छ त्यही नै हुनुपर्छ । र, सेन्ड भन्ने बटनमा क्लिक गर्नुहाेस् । यदि तपाईंले राख्नुभएकाे डेटा (इमेल र डेट अफ बर्थ) हरू सही रहेका छन् भने तपाईंलाई [email protected] बाट इमेल आउँछ । उक्त इमेल कहिले इन्बक्समा की त प्राय इमेलकै स्पाम (spam) भन्नेमा आइरहेकाे हुन्छ । इमेलमा तपाईंकाे डीपी आईडी, लगइन आईडी र पासवर्ड पठाइएकाे हुन्छ । जुन तल स्क्रीनमा देखाइएकाे छ ।  यसपछि उता मेरो सेयरमा भने तलको जस्तो स्क्रीन देखिन्छ । जहाँ वल्ड पासवर्ड, न्यू पासवर्ड राखेर र पासवर्ड कन्फर्म गर्नुपर्ने हुन्छ । यससँगै वल्ड पासवर्डमा अघि इमेलमा आएको पासवर्ड राख्नुहोस् । त्यसपछि न्यू पासवर्डमा आफुले नयाँ पासवर्ड राख्नुहोस् (तर इमेलमा आएको होइन) । उक्त पासवर्ड तलको स्क्रीनमा दिइएको पासवर्ड पोलिसी अनुसारकै हुनुपर्ने हुन्छ । त्यसपछि कन्फर्म पासवर्डमा पनि न्यू पासवर्डमा जे राख्नुभएको छ त्यही नै राखेर चेञ्ज पासवर्ड भन्ने बटनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि तलको जस्तै स्क्रीन देखिन्छ । जहाँ तपाईंको पासवर्ड सफलतापूर्वक परिवर्तन/चेञ्ज भयो भनेर देखाइएको छ । यससँगै अब तपाईंले नयाँ पासवर्ड राखी लगइन गरेर मेरो सेयरको सम्पूर्ण सेवा सुविधा लिन सक्नु हुनेछ ।