‘बैंकहरुको व्याजदर १२.५ प्रतिशत पुगिसक्यो, सहकारीको पनि बढाउनु पर्छ’
काठमाडौं । काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले बैंकिङ बजारमा तरलताको अभाव भएकोले सहकारीको सन्दर्भ व्याजदर तत्काल बढाउनु पर्ने बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाजको ११औं वार्षिक साधारणसभामा आफ्नो धारणा राख्दै उनले व्याजदर जति सक्दो छिटो बढाएर अगाडि बढ्नु पर्ने बताएका हुन् । उनले केही समयदेखि सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिको व्याज निर्धारणका लागि छलफल भइरहेको भएपनि टुङ्ग्याउन नसकेको बताए । यस्तै, उनले अहिले बजारमा तरलताको अभावको कारण बैंकहरुको समेत १२.५ प्रतिशतसम्म व्याजदर पुगेको बताउँदै सहकारीको पनि नबढाउनुको विकल्प नरहेको बताए । अहिले सहकारीहरु गुणात्मकभन्दा पनि संख्यात्मक रुपमा अगाडि बढेको उनको भनाई छ । उनले एउटा नगरपालिकामा ६० वटा सम्म सहकारी दर्ता भएको बताए ।
सहकारीको व्याजदर नबढ्ने, तरलता सहज हुने निष्कर्ष
काठमाडौं । सहकारीको सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिले सन्दर्भ व्याजदर नबढाउने संकेत दिएकाे छ । समितिले यसअघि सहकारीहरुको सन्दर्भ व्याजदर बढाउने तयारी गरिरहेको भएपनि पछिल्लो केही दिन यता बैंकहरुमा तरलताकाे समस्या हल हुँदै गएकाे निष्कर्षसहित व्याजदर बढाउने जनाए दिएकाे हाे । यसअघि सन्दर्भ व्याजदर निर्धारण तथा सिफारिस समितिमा सदस्य समेत रहेका सहकारी अभियानकर्मीहरु व्याजदर बढाउनका लागि दवाव दिँदै आएका थिए । तर, अब व्याजदर उनीहरू नै व्याजदर बढाउन नपर्ने निष्कर्षमा पुगेका छन् । सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले तत्कालका लागि व्याजदर नबढ्ने बताए । उनका अनुसार पछिल्लो केही दिन तरलताको सहज अवस्था देखिने संकेत देखिएकोले व्याजदर बढाउने गरी बैठक पनि स्थगित गरिएकाे हाे । ‘हामीले पुस १५ गते समितिको बैठक बोलाएका थियौं, त्यो दिन धेरैको राय बाझिएकोले बैठक स्थगित भयो, बुधबारका लागि बोलाएका थियौं, हिजो आज तरलता सहज हुने समाचारहरु आएपछि हामीले पनि बैठक स्थगित गर्यौं,’ उनले विकासन्युजसँग भने । यसअघि व्याजदर पुनरावलोकन गर्ने भन्दै बुधबारका लागि समितिको बैठक बोलाइएको थियो । तर, सो बैठक स्थगित भइसकेकाे छ । यसअघि पनि ब्याजदर बढाउनकै लागि भनेर पुस १५ गते बैठक बोलाइएको थियो । सो बैठक पनि बिना निश्कर्ष सकिएको थियो । सो बैठकमा समितिका केही सदस्यहरुले तत्कालका लागि व्याजदर बढाउनु पर्ने आधार नभएको भन्दै पछिका लागि बस्ने भन्दै बैठक टुङ्गिएको थियो । अभियानकर्मीहरुले हालको १४.७५ प्रतिशत सन्दर्भ व्याजदरलाई बढाएर १६.७५ प्रतिशतसम्म पुर्याउनु पर्ने माग गर्दै आएका थिए । सहकारी ऐन–२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था छ । सहकारी विभागका रजिष्टार संयोजक रहेको समितिमा सहकारी मन्त्रालयका प्रतिनिधि, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रि सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रि सहकारी बैंक र सहकारी विभागकै उप–रजिस्टार सदस्य रहने व्यवस्था छ ।
वित्तीय परामर्श दिन नयाँ विकल्पसहित मुद्रा कन्सल्ट सञ्चालनमा
काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए । मुद्राले आफ्नो व्यवसाय विस्तारको लागि झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौंतारिइरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न सहजीकरण गर्नेछ । उनले भने, ‘वित्त क्षेत्रमा सेवाग्राहीले स–साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूर्ण सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको हो । विस्तृत बजार अनुसन्धान, अनुभवी सेवा सल्लाहकार र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्छ । प्रविधिमैत्री नयाँ पुस्ताले घरमा नै बसीबसी सेवा लिन सक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।’ सेवाग्राहीको आवश्यकताका आधारमा अडिटिङ गर्ने, काजगात तयार गर्ने, वित्तीय परामर्श उपलब्ध गराउने तथा बैंक एवं वित्तीय संस्थाहरुसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारको सेवा सुविधा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनिश्चित्तता प्रदान गरिने चम्लागाईले बताए । उनका अनुसार व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता विश्लेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्छ । चम्लागाई भन्छन्, ‘हामीसँग एक पटक जोडिएपछि सेवाग्राहीले लामो समयसम्म सेवा पाउनु हुनेछ । प्रविधिमैत्री ढंगले विज्ञहरुमार्फत सबै काम गर्ने भएकाले हामीसँग जोडिएका सेवाग्राहीले घरमै बसीबसी सेवा पाउने वातावरण बनाउन खोजिरहेका छौं ।’ उनले निजीदेखि सरकारी बैंकमासमेत सामान्य कागजात नपुग्दा तथा सामान्य त्रुटीका कारण पनि आफ्नो काम गर्नबाट बन्चित हुने समस्याबाट मुक्तिको लागि वित्तीय क्षेत्रका अनुभवी विज्ञ टिमबाट सेवा दिन ‘मुद्रा कन्सल्ट’ संचालनमा ल्याएको बताए । मुद्राले आगामी दिनमा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै वित्तीय साक्षरता बढाउने योजना बनाइरहेकोसमेत उनले बताए । उनले भने, ‘प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरुप निकट भविष्यमा नै मुद्राले नियमित सेवाग्राहीलाई महत्वपूर्ण कागजात राख्ने गरी आर्काइभ सुविधासमेत दिनेछ । केही सेवाहरु मुद्रा कन्सल्ट डट कममार्फत शुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ ।’