१ लाखसम्मका सहकारी पीडित बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी

काठमाडौं । सरकारले सहकारीमा १ लाख तथा सोभन्दा कम रकम बचतकर्ताको निक्षेप फिर्ता गर्ने तयारी गरेको छ । भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्ने उद्देश्यले कार्यविधि तयार पारेको हो ।  सानो रकम फसेका पीडित नागरिकलाई चक्रीय कोष बनाएर रकम फिर्ता कार्यविधि निर्माण गरी अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधि स्वीकृति प्राप्त भएपछि कानुन मन्त्रालयको राय लिएर मन्त्रिपरिषद् लैजाने र त्यहाँबाट अनुमोदन भएपछि पीडितलाई बचत फिर्ता गरिने मन्त्रालयका सह प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।  उनका अनुसार पीडित परिवारलाई राज्यको प्रत्याभूति दिलाउन कम बचतकर्तालाई पहिलो चरणमा छिट्टै रकम फिर्ता गरिने छ । अर्थ मन्त्रालयले निश्चित रकम बिउ पुँजीका रूपमा चक्रीय कोषमा जम्मा गर्नेछ । त्यसबाट समस्याग्रस्त घोषणा गरिएका सहकारीका बचतकर्तालाई रकम उपलब्ध गराइने छ । ती सहकारी लिलाम गरी आएको रकम पुनः सोही कोषमा जम्मा गर्दै आर्थिक स्रोत व्यवस्थापन गरिने छ । पीडित बचतकर्ताले आफ्नो रकम फिर्ताका लागि विभिन्न समिति गठन गरी राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका छन् । देशभर करिब ३४ हजार सहकारी संस्था सञ्चालनमा रहेका छन् । ती सहकारी तीन तहका सरकार मातहत अलग अलग दर्ता रहेकाले नियमनमा समस्या छ । पीडितले आफ्नो रकम फिर्ता पाउन तथा ठगी गर्ने सञ्चालकलाई कारबाहीको माग गर्दै आएका थिए । समुदायमा सहकारीको आदर्श तथा सिद्धान्तमा आधारित भएर सहकारी सदस्यको हितमा क्रियाशील सहकारी संस्थाहरूले राम्रो प्रगति गरेका छन् भने सिद्धान्त विपरीत बचत सङ्कलन गरी कर्जा प्रवाह गर्ने अधिकांश सहकारी समस्यामा छन् ।

एनएमबि बैंकले सुरु गर्यो सफ्टपोस सेवा, मोबाइलबाटै कार्ड भुक्तानी लिन सकिने

काठमाडौं । एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस सेवा सुरु गरेको छ । सफ्टपोसले कुनै पनि एनएफसी समर्थित एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डबाट साना तथा मझौला उद्यम, पर्यटन उद्यम र अन्य व्यवसायीहरूले मोबाइलमै भुक्तानी स्वीकार गर्न सक्नेछन् । यसले व्यवसायीहरूलाई पोस मेसिनको झन्झटबिना डिजिटल भुक्तानी लिन सहजता प्रदान गर्नेछ । एनएमबि बैंकले सफ्टपोसको प्रयोग साना व्यापारी, डेलिभरी सेवा र टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने उद्देश्यले लिएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने, 'सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।' सफ्टपोसले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डअनुसार काम गर्ने भएकाले व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।

शिखर इन्स्योरेन्स २२औं वर्षमा प्रवेश, सात प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभर बढ्दो रगतको मागलाई ध्यानमा राख्दै कम्पनीले सातै प्रदेशमा एकसाथ साताव्यापी रक्तदान अभियान सञ्चालन गरेको हो । कम्पनीका अनुसार कोशी प्रदेशमा ५३ युनिट, मधेश प्रदेशमा १६७ युनिट, बागमती प्रदेशमा ६३९ युनिट, गण्डकी प्रदेशमा ७९ युनिट, लुम्बिनी प्रदेशमा ४३५ युनिट, कर्णाली प्रदेशमा ४४ युनिट तथा सुदूरपश्चिम प्रदेशमा २२ युनिट गरी जम्मा १४३९ युनिट रगत संकलन भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा सहकार्य र उत्साहजनक सहभागिताका लागि कम्पनीले सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरू, नेपाल रेडक्रस सोसाइटी, रक्तदाता तथा सबै सहयोगीप्रति आभार व्यक्त गरेको छ । २२औं वर्षमा प्रवेश गरेको शिखर इन्स्योरेन्सले आगामी दिनमा अझ सबल, सरल र सुदृढ बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।