हिमालयन बैंक र यूनियनपेको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सुरु

काठमाडौं । हिमालयन बैंक लिमिटेड र यूनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमै पहिलो पटक आरएमबी कार्ड सेवा सञ्चालनमा आएको छ । बैंकका अनुसार चीन भ्रमण गर्ने नेपाली ग्राहकहरुलाई लक्षित गर्दै यो सेवा सुरु गरिएको हो, जसले गर्दा चीनमा हुने कारोबारलाई अझ सहज र सुलभ बनाउने अपेक्षा गरिएको छ । उक्त कार्ड प्रयोग गरी ग्राहकहरुले चीनमा एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत हुने भुक्तानी सीधै चिनियाँ मुद्रा (सीएनवाई) मा गर्न सक्नेछन् । यसले अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी र सर्वस्वीकार्य हुने बैंकले जनाएको छ । विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले स्वीकृत गरेको सीमाभित्रको रकम कार्डमा लोड गरी युनियनपे नेटवर्कअन्तर्गत रहेका अलीपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर प्रणालीमार्फत सहज भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा यूनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ बेइ ले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गरेका थिए । बैंकले यस सेवाले चीन भ्रमण गर्ने नेपालीहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा सहजता ल्याउनुका साथै डिजिटल कारोबार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

फोनपे नेटवर्कमा अब युनियनपे इन्टरनेशनल लाइभ

काठमाडौं । फोनपेले क्यूआर स्किममा युनियनपे इन्टरनेशनललाई एकीकृत गरेको घोषणा गरेको छ । यससँगै अब विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालमा सिधै क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । फोनपेका अनुसार चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिंगापुर लगायतका बजारका प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टमा सहज रूपमा भुक्तानी गर्न सक्नेछन् । यससम्बन्धी घोषणा काठमाडौंमा आयोजित एक कार्यक्रममा गरिएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेशनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्था र व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यसलाई महत्वपूर्ण उपलब्धि भन्दै नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्य बनाउने दिशामा ठूलो कदम भएको बताए । ‘यो केवल सहकार्य मात्र होइन, नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भएको सन्देश पनि हो,’ उनले भने । यस्तै, युनियनपे इन्टरनेशनलका उपाध्यक्षले नेपाललाई आफ्नो नेटवर्कका लागि महत्वपूर्ण बजारको रूपमा व्याख्या गरेका छन् । ‘फोनपेसँगको सहकार्यले अब हाम्रा प्रयोगकर्ताले नेपालमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्,’ उनले भने । सन् २०२५ मा नेपालले ११.५ लाखभन्दा बढी पर्यटक भित्र्याएको थियो । तीमध्ये युनियनपे प्रयोग हुने बजारबाट आउने पर्यटकको हिस्सा उल्लेख्य छ । यसअघि डिजिटल भुक्तानीको सीमित पहुँचका कारण ती पर्यटकहरू नगदमा निर्भर रहनुपर्थ्यो । अब भने यो समस्या समाधान हुने अपेक्षा गरिएको छ । फोनपे क्यूआर प्रयोग गर्ने व्यवसायीहरूले अन्तर्राष्ट्रिय ग्राहकबाट सिधै भुक्तानी लिन सक्ने भएकाले आम्दानी बढ्ने र कारोबार सहज हुने विश्वास गरिएको छ । फोनपेले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय नेटवर्कसँग सहकार्य गर्दै १३ भन्दा बढी देशका पेमेन्ट प्रणालीसँग आफ्नो पहुँच विस्तार गरिसकेको जनाएको छ । 

बाल आश्रमका बालबालिकालाई सानिमा रिलायन्स लाइफको सहयोग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बानेश्वरस्थित नेपाल वाल सेवा फाउन्डेसनमा आश्रित बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आश्रममा बसोबास गर्ने बालबालिकामध्ये शाम्भवि स्कुलमा अध्ययनरत ८ जनाको वार्षिक शैक्षिक शुल्कबापत २ लाख ४० हजार रुपैयाँ सहयोग गरेको जनाएको छ । उक्त फाउन्डेसनले स्थापना कालदेखि विभिन्न जिल्लाका अनाथ तथा असहाय बालबालिकाको संरक्षण गर्दै आएको छ। हाल संस्थामा ४५ जना बालबालिका आश्रित रहेका छन् । सानिमा रिलायन्स लाइफले मानव कल्याण तथा सामाजिक हितका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्यसहित यस्ता कार्यक्रमहरू अघि बढाइँदै आएका छन् । कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउने रणनीति लिएको उल्लेख गरेको छ । आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउने योजना रहेको पनि जनाएको छ । सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता तथा ग्राहक सेवा सुदृढीकरणमार्फत आफूलाई भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ । हाल कम्पनीले देशभर १६८ शाखामार्फत सेवा दिँदै आएको छ ।