इसेवाको ३० करोड ६० लाख नगद लाभांश पारित, आईपीओ जारी गर्ने तयारी
काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्‌सिर २४ गते काठमाडौं स्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाले आ.व. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१/८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ । साथै, आ.व. २०८२/८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो ।
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी प्रसाद न्यौपाने नियुक्त
काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए । २०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् । करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् । न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलाममा सन नेपाल लाइफको दोस्रो चरण वृक्षारोपण, हजार फलफूलका बिरुवा रोपियो
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले देशव्यापी वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै इलाम नगरपालिका क्षेत्रमा दोस्रो चरणको वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न कार्यक्रम अन्तर्गत ५०० आरू र ५०० नासपातीसहित कुल १ हजार फलफूलका बिरुवा रोपेर इलाममा हरियाली अभियान औपचारिक रूपमा अघि बढाइएको कम्पनीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, नायब प्रमुख कार्यकारी अधिकृत कबी फुयाँल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कोशी प्रदेश प्रमुख तुलसीनाथ पौडेल तथा विभिन्न शाखाका प्रमुखहरू सहभागी थिए । यस्तै, लुम्बिनी वर्ल्ड पीस फोरमका वृक्षारोपण अभियन्ता बासु गौतम, इलाम नगरपालिकाका मेयर केदार थापा, साथै विभिन्न वडाका जनप्रतिनिधि नुतन देव दुलाल (वडा ४ अध्यक्ष), दुर्गामदन श्रेष्ठ (वडा ६ सदस्य), दलमान तामाङ (वडा ६ अध्यक्ष), ओमनाथ प्रधान (वडा १० अध्यक्ष), पारस मणि काफ्ले (वडा ४ सदस्य) र कृषि प्राविधिक उपेन्द्र नेपालको पनि उपस्थिति थियो । कम्पनीले सामुदायिक दिगोपन, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनलाई आफ्नो संस्थागत दर्शनको प्रमुख आधार मानेर देशभर वृक्षारोपण अभियान विस्तार गर्दै आएको छ । हाल, सन नेपाल लाइफ इन्स्योरेन्सले देशभरका १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सेवाहरू प्रदान गरिरहेको छ ।