माछापुच्छ्रे बैंकको ८.२५ प्रतिशत अग्राधिकार सेयर नेप्सेमा सूचीकृत, आजबाट कारोबार सुरु
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको '८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकका अनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता सेयर जेठ २० गते नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयरको कुल निष्कासन मूल्य ३ अर्ब रुपैयाँ रहेको छ । सूचीकृत भएको यो अग्राधिकार सेयर जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ । यससँगै माछापुच्छ्रे बैंकको पूँजी बजारमा उपस्थिति थप सुदृढ हुने विश्वास गरिएको छ ।
विश्व वातावरण दिवसमा ‘सांग्रिला साइकल र्याली’ आयोजना हुने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आयोजनामा ‘चौथो सांग्रिला साइकल र्याली’ आगामी जेठ २३ गते शनिबार आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको साइकल र्याली यस वर्ष पनि सोही अवसरलाई लक्षित गर्दै सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ । र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु हुनेछ । र्याली दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन हुँदै सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बालुवाटार पुगेर पुनः एलिस रिसेप्सन गैरीधारामै समापन हुनेछ । सहभागिताका लागि इच्छुक व्यक्तिहरूले मोबाइल नम्बर ९८६३५८९००१ मा ‘रजिस्टेसन’ लेखी पठाएर वा अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । साथै, क्यूआर कोड स्क्यान गरेर पनि दर्ता गर्न सकिने जनाइएको छ । र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल प्रदान गरिनेछ भने अन्य सहभागीलाई पनि विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले बैंकले यसअघि पनि तीन संस्करणका साइकल र्याली सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यस वर्ष पनि वातावरणप्रति सचेत नागरिक तथा साइकलमैत्री शहरको पक्षमा रहेका सबैको सहभागिताको अपेक्षा गरिएको छ । हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एआईमार्फत बीमा पहुँच विस्तार गर्न सानिमा जिआईसी र वाइज याकबीच सम्झौता
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र वाइज याक सोलुसन्स प्रालिबीच एआई प्रविधिमार्फत कृषि तथा पशुपन्छी बीमा विस्तार गर्ने उद्देश्यसहित सम्झौता भएको छ । जेठ १७ सम्पन्न सम्झौताअनुसार सिराहा, सप्तरी, धनुषा र महोत्तरी जिल्लामा बीमा पहुँच नपुगेका क्षेत्र तथा वर्गका नागरिकलाई लक्षित गर्दै स्थानीय भाषामै बीमा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ शैलीमा नभई प्रत्यक्ष समुदायमा केन्द्रित हुनेछ, जसमा प्रविधिको प्रयोगमार्फत बीमाबारे जानकारी दिनुका साथै बीमा सेवा विस्तारमा सहकार्य गरिने बताइएको छ । सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) सुद्युम्नप्रसाद उपाध्याय र वाइज याक सोलुसन्स प्रालिका सीईओ प्रा.डा. सुरेश मानन्धरले हस्ताक्षर गरेका छन् । यो सहकार्यले विशेषगरी ग्रामीण क्षेत्रमा बीमा सेवाको पहुँच बढाउने, बीमा साक्षरता अभिवृद्धि गर्ने तथा डिजिटल प्रविधिमार्फत सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।